तिहारका लागि पाला बनाउन व्यस्त कुमाल समुदाय «

तिहारका लागि पाला बनाउन व्यस्त कुमाल समुदाय

झापा-झापाको बाह्रदशी गाउँपालिका–६ कुमाल बस्तीका बालबालिकादेखि लिएर वृद्धवृद्धासम्म यतिबेला पाला बनाउन व्यस्त छन् । तिहारमा दियो बाल्न पालाको अत्यधिक माग हुने भएकाले बिक्रीका लागि कुमालहरुलाई पाला बनाउन भ्याइनभ्याइ भएको हो । माटोको पाला बनाउने, सुकाउने, रंग्याउने र पोल्ने काममा कुमालहरु सपरिवार खटिएका छन् ।
स्थानीय प्रदीप पण्डित विगत १५–२० दिनदेखि लगातार चक्रमा पाला बनाउन लागिरहेका छन् । मोटर जडान गरिएको चक्रमा उनी निरन्तर पाला बनाउँदैछन् । दिनभरि उनी २ हजारजति पाला बनाउँछन् । ती काँचो पालालाई उनकी आमा उर्मिलादेवी पण्डितलाई घाममा सुकाउने, सुकिसकेपछि रंग्याउन भ्याइ–नभ्याइ छ । रंग लगाइसकेपछि आगोको भट्टीमा पोल्ने काम भने उर्मिलाका श्रीमान् धनिश्वर पण्डितले गरिरहेका छन् । ५ जनाको उनीहरुको परिवार सबैजना माटोको भाँडा बनाउन जुटिरहेका छन् ।
छिमेककै १२ वर्षिया दुर्गा पण्डित पनि पाला सुकाउन व्यस्त छिन् । उनलाई १२ वर्षकै सुरज पण्डितले सघाइरहेका छन् । त्यस्तै, स्थानीय १४ वर्षिया विमला पण्डितलाई पनि माटोको भाँडा रंग्याउन फुर्सद छैन । उनी साथीभाइलाई साथ लिएर घडामा रंग लगाउँदै आइरहेकी छिन् । तिहारमा बिक्री गर्नका पालालगायतका माटाको भाँडा तयार गर्न बाह्रदशी कुमाल बस्तीका कुमालहरु यतिबेला रातदिन नभनी लागिरहेका छन् । उनीहरुले बनाएको भाँडा बाटोभरी बिस्कुन सुकाएजसरी सुकाइएको छ ।
अरुबेला गमला, धुपौरो, खुत्रुके, नानीपैनी, घैला जस्ता माटोका भाँडा बनाउँदै आएका कुमालहरु यतिबेला पाला र घडा बनाउन बढी लागेका छन् । तिहारमा दियो बाल्न पाला र पूजा गर्न घडा आवश्यक हुन्छ । ‘यतिबेला सिजन हो’ धनिश्वर पण्डितले भने, “माग अनुसार पु¥याउन सकिएको छैन ।” उनीहरुले बनाएको माटोको भाँडा बिर्तामोड, दमक, केर्खा, धुलाबारी, बुधबारेलगायतका बजारमा बिक्री हुने गरेको छ । कुमालहरुले एकमुखे, चारमुखे र पाँचमुखे गरी तीन किसिमका पाला बनाउने गरेका छन् । एकमुखे पालालाई व्यापारीहरुले घरैबाट एक रुपैयाँ प्रतिगोटा किनेर लैजाने गरेको धनिश्वरले बताए । “बजारमा गएर बेच्यो भने दुई अढाई रुपैयाँ प्रतिगोटा बिक्री हुन्छ” उनले भने ।
बाह्रदशी ६ मा करीव ४५ घरधुरी कुमालहरु रहेका छन् । त्यसमध्ये ८० प्रतिशतको मुख्य पेशा माटाको भाँडा बनाउने हो । तर, यो सिजनमा बस्तीका सबै कुमाल परिवारले बिक्री गर्नका लागि माटाको भाँडा बनाइरहेका छन् । घाग्रा खोलाको छेउमा रहेको कुमाल बस्तीका कुमालहरुले पुस्तौदेखि माटाको भाँडा बनाउने पुख्र्यौली पेशा गर्दै आएका छन् । “माटाको भाँडा बिक्री गर्दा राम्रै आम्दानी भइरहेको छ” धनिश्वरले भने, “परिवारको गुजारा चलाउनलाई समस्या छैन ।” उनले माटोको काम गरेर माटाको भन्दा राम्रो घर जोड्न नसकेको वास्तविकता सुनाए । तिहारका लागि भनेर भारतबाट नेपाली बजार भित्रिने विद्युतीय सागम्रीले भने पालाप्रतिको मोह कम हुँदै गएको उनीहरु बताउँछन् ।
विगतमा जस्तो माटाको भाँडा बनाउने पेशा सहज नभएको उनीहरुको भनाइ छ । उनीहरुलाई अनुसार भाँडा बनाउन माटो र बनाएको भाँडा पोल्न दाउराको समस्या रहेको छ । यतिबेला माटो १० हजार रुपैयाँ टिपर माटो किन्नु परेको प्रदीपले सुनाए । त्यस्तै पैसा हुँदा पनि दाउरा किन्न नपाएको भनाइ छ । विगतको तुलनामा कुमालहरुले पुख्र्यौली पेशा छोड्दै गएको बाह्रदशी–६ का वडाध्यक्ष रत्नप्रकाश योङहाङ बताउँछन् । वैदेशिक रोजगारलगायतका अन्य पेशामा केही कुमालहरु लागेको योङहाङले बताए ।

प्रतिक्रिया दिनुहोस्