चरित्र हत्या गर्ने पत्रकारिता नगर्न सहकारी सञ्चालकको आग्रह «

चरित्र हत्या गर्ने पत्रकारिता नगर्न सहकारी सञ्चालकको आग्रह

दोलखाका सहकारी संचालकहरूले व्यक्तिका चरित्र हत्या गर्ने पत्रकारिता नगर्न आग्रह गरेका छन् । भीमेश्वर नगरपालिका–६ चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक वचत तथा ऋण सहकारी संस्थाले पत्रकार सम्मेलन गरी बिना कारण व्यक्ति र संस्थाको चरित्र हत्या गर्ने पत्रकारिता नगर्न पत्रकार र सञ्चार माध्यमहरूलाई आग्रह गरेको छ ।
केही अनलाइनमा सहकारीका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपाने र संस्थाका पदाधिकारीको चरित्र हत्या गर्ने गरी एक पक्षीय समाचार सम्प्रेसनले पत्रकारिताको विश्वसनीयतामा पनि संका उत्पन्न हुने अध्यक्ष नारायणबहादुर श्रेष्ठले बताए । सहकारी संस्था प्रचलित कानुनको अधिनमा संचालन भएको र ऋण लगानीमा ऋण उपसमिति र सञ्चालक समितिको निर्णय अनुसार समय सापेक्ष लगानी गर्ने हुँदा ऋण लगानीको निर्णयमा कुनै पनि भूमिका कर्मचारीको नहुने प्रष्ट पारे ।
एसियाली ऋण महासंघ(अक्कु)ले संचालन गरेको एक्सेस ब्राण्डिङ कार्यक्रममा भाग लिएर २०७४ सालमा एक्सेस ब्राण्ड, २०७५ र २०७६ सालमा एक्सेस सिल्भर ब्राण्ड प्राप्त संस्था एकीकरणमा उत्कृष्ट, उत्कृष्ट करदाताको रुपमा लगायत नेफ्कुन, राष्ट्रिय सहकारी बैंकबाट समेत पटक पटक उत्कृष्ट सहकारीको रुपमा सम्मानित संस्था भएको उनले जानकारी दिए । विभिन्न सूचांकहरू पूरा गरेर लिएका ब्राण्ड र सदस्यलाई पु¥याएको सेवाबाट पाएको पुरस्कार र सम्मान लाखौं खर्च गरी लिएको भन्ने आरोप सरासर झुट भएको सहकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सरकारले सहकारी एकीकरणका लागि प्रोत्साहन गरिरहेको अवस्थामा हालसम्म ९ वटा सहकारी मर्ज गरिसकेको र केही संस्थासँग मर्जको प्रक्रिया चलिरहेको अध्यक्ष श्रेष्ठले बताए । तर एकीकरणमा आउने सहकारीका संचालकहरूलाई आर्थिक लाभ दिएर एकीकरण गरेको भन्ने समाचारमा कुनै पनि सत्यता नरहेको बताए । ‘समाचारमा सोधनी हुन्छ होला, तर यसमा सहकारीका पदाधिकारी र कर्मचारी कसैलाई पनि कसैले नसोधेको बताए । व्यक्ति र संस्थाको चरित्र हत्या गर्ने गरी आएका समाचार प्रकाशक सम्पादक विरुद्ध कानुनी उपचारमा जाने उनले बताए ।
सहकारी मापदण्डभन्दा बाहिर कुनै पनि कोष सहकारीमा नहुने र भएका कोषहरूको कार्यविधिका आधारमा सञ्चालन हुने उनले बताए । सहकारीका सबै कोषहरूको नियमित रुपमा आन्तरिक र बाह्य लेखापरीक्षण हुने गरेको उनले बताए ।
तत्कालीन कालिञ्चोक सहकारीका अध्यक्ष राजेश उप्रेतीले आफ्नो नामसमेत जोडेर आर्थिक लेनदेनका आधारमा सहकारी मर्ज गरेको भन्ने समाचारको आफ्नो ध्यानाकार्षण भएको बताए । तत्कालीन सिंगटी साकोसका अध्यक्ष बोधराज श्रेष्ठ र चेतनशिल साकोसका अध्यक्ष पुण्यप्रसाद घिमिरेले पनि भ्रामक समाचार लेखेर चरित्र हत्या गर्नेविरुद्ध कानुनी उपचार खोज्ने बताए ।
नेफ्स्कुनका पूर्वप्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले आफू नेफ्स्कुनमा कार्यरत रहँदा कुनै पनि आर्थिक प्रलोभनमा परेर काम नगरेको र हाल आफू पदमा पनि नरहेको प्रष्ट पारेका छन् । संघीय सहकारी विभागले सञ्चार माध्यममा आएको समाचारपछि नेफ्स्कुन र मिलीजुली कालिञ्चोक सहकारीसँग १५ दिने स्पष्टिकरण माग गरेको छ ।
मिलीजुली कालिञ्चोक साकोसको गत असोज मसान्तसम्मको वासलत १ अर्ब १९ करोड ३२ लाख ८७ हजार ३ सय ५२ रुपैयाँ छ । सहकारीमा सेयर सदस्य २२ हजार ४२५ र बालबचतकर्ता ८ हजार ७ सय ९१ छन् ।

प्रतिक्रिया दिनुहोस्