पूर्वाधार विकास र व्यापार सहजिकरण गर्न सुझाव

तिब्बतका लागि नवनियुक्त महावाणिज्यदूत नवराज ढकालसँग नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले छलफल गरेका छन् । अध्यक्ष राजेश काजी श्रेष्ठ र महावाणिज्यदूत ढकालबी भएको छलफलमा तिब्बतसँग विगतदेखि कायम रहेको व्यापारीक सम्बन्धलाई थप मजबुद बनाउँदै लैजाने विषयमा छलफल भएको हो ।
भेटमा तिब्बतसँग नेपालको व्यापारीक सम्बन्ध र नेपालको पर्यटन, लगानी तथा व्यापारको क्षेत्रमा यस क्षेत्रको योगदानका बारेमा पनि कुराकानी भएको बताइएको छ भेटमा राजदुत ढकालले आफ्नो कार्यकालमा पारवहन पूर्वाधारको विकास, द्विपक्षीय व्यापार सहजीकरण, नेपालको निकासी अभिवृद्धि तथा पर्यटन प्रवद्र्धन गर्नेतर्फ पहल गर्ने प्रतिवद्धता जनाए । उनले नेपाल तथा तिब्बतका निजी क्षेत्रबीच समन्वय कायम गरी आर्थिक सम्बन्धलाई सबल एवम सुदृढ बनाउने तर्फ प्रयास गर्ने बताए ।
नेपाल चेम्बरका अध्यक्ष श्रेष्ठले चेम्बरले निजी क्षेत्रको सवलीकरणको पैरवी गरीरहेको बताए । उनले नेपाल र चीनको तिब्बतबीचको सडकको स्तरोन्नति तथा व्यापार सहजीकरण भएमा व्यापार अभिवृद्धिको लागि ठूलो सम्भावना रहेकाले नेपालमा चिनियाँ बैंकको स्थापना गर्नेतर्फ पहल गर्न सुझाव दिए । यस्तै नेपाल तिब्बत सीमा नाका तातोपानी क्षेत्रको सडक तथा अन्य पूर्वाधार विकासका लागि प्राथमिकता दिनुपर्ने, केरुङ नाकामा अनावश्यक पारवहन खर्चले गर्दा नेपाली आयातकर्तालाई थप व्ययभार परेकाले सोको अन्त्य गर्न पनि सुझाव दिए ।