रानीपानी–कुर्घा खण्ड कालोपत्रे गर्न १ अर्ब २४ करोड विनियोजन «

रानीपानी–कुर्घा खण्ड कालोपत्रे गर्न १ अर्ब २४ करोड विनियोजन

पर्वत-दुई छिमेकी मुलुक भारत र चीन जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीदेखि कुर्घा खण्डको २२ किलोमिटर सडक कालोपत्रे गर्न यस वर्ष १ अर्ब २४ करोड रुपैयाँ विनियोजन भएको छ ।
पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीदेखि फलेवास नगरपालिकाको कुर्घास्थित लमायखोलासम्मको खण्डका लागि आवश्यक १ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन भएको हो । बजेट विनियोजनसँगै बहुवर्षीय ठेक्काका लागि समेत अर्थ मन्त्रालयले स्वीकृत दिएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको यस खण्डका लागि बजेट विनियोजन भएसँगै छिट्टै कालोपत्रेका लागि टेन्डर आह्वान गरिने कालिगण्डकी करिडोर सडक आयोजना पाल्पाले जानकारी दिएको छ ।
कालीगण्डकी करिडोरको पर्वत खण्डको महत्वपूर्ण मानिएको रानीपानी–कुर्घा खण्डको ठेक्का निश्चित भएपछि बिहादी र फलेवासका स्थानीयले खुसी व्यक्त गरेका छन् । करिडोरको ट्रयाक खोल्ने काम भए पनि उत्तर–दक्षिण सीमा सडकको मापदण्ड अनुरूपको सडक निर्माणका लागि लामो समयदेखि ठेक्का हुन सकेको थिएन । सडक कालोपत्रे हुने भएपछि लामो समयदेखि कालापानी भनेर चिनिने दक्षिण पर्वतको मुहार फेरिने विहादी गाउँपालिका–२ बर्राचौरका वडाध्यक्ष ओमबहादुर कुँवरले बताए । उनले राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको निरन्तरको पहलबाट बजेट विनियोजन गर्न सफल भएको बताउँदै यसलाई समयमै सम्पन्न गराउन पालिकाले समेत सहजीकरण गर्ने बताए ।
यो सडकका लागि सुरूवातदेखि टेण्डर प्रक्रियासम्म पु¥याउनका लागि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पहल गर्दै आएका थिए । उनीहरूले आयोजनको कार्यालयदेखि, सडक विभाग, भौतिक मन्त्रालय, योजना आयोग, हुँदै अर्थ मन्त्रालयसम्म पहल गरेको मन्त्री लम्सालले बताए ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले आगामी निर्वाचन अघिसम्म करिडोरअन्तर्गत पर्वत खण्डको निर्माण अगाडि बढ्ने बताउँदै आएका छन् । उनले निर्धारित समयमै गुणस्तरीय सडक निर्माण गर्न आग्रह गरे । यसैबीच करिडोरअन्तर्गत मालढुंगादेखि बेनीसम्मको सडकको स्तरोन्नतिका लागि हालै टेन्डर आह्वान भएको छ । सो सडकको कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला आयोजनाले टेन्डर आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्