पोखरा रंगशालामा २० हजार क्षमताको प्यारापिट बनाइने «

पोखरा रंगशालामा २० हजार क्षमताको प्यारापिट बनाइने

पोखरा- राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आउँदो मंसिर १५ गतेपछि कोरोनाको प्रभाव हेरी नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको बारेमा टुंगो लाग्ने बताएका छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र जिल्ला खेलकूद विकास समिति कास्कीले सोमबार पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा वोल्दै सदस्य सचिव सिलवालले कोरोनाले गर्दा हाल राष्ट्रिय खेल गर्ने नगर्ने भन्न नसकिने अबस्था रहेकोले मंसिर १५ पछि कोरोनाको प्रभाव घटेमा निर्धारित मितिमा हुने अन्यथा यस बर्ष नहुने बताएका हुन्।
उनले भने, “विज्ञहरुले भने अनुसारको कोरोनाको संक्रमण दर नेपालमा नघटेकोले अहिलेको अवस्थामा राष्ट्रिय खेल आयोजना गर्न नसकिने अपस्था छ तर हामीले अब विस्तारै खेल गतिविधिलाई अगाडि बढाउँदै छौं, खेलकूद प्रशिक्षण सुरु हुन थालेका छन् ।” अनुकूल वातावरण भएको खण्डमा आगामी फागुन २० देखि २७ गते गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्न गर्न आफूहरुलाई ३ महिनाको समय पनि पर्याप्त हुने उनले दाबी गरे ।
प्रतियोगिताका लागि पोखरामा स्विमिङ पुल र सुटिङको थोरै समस्या भए पनि त्यसको विकल्प समेत भएको दाबी गर्दै सदस्य सचिव सिलवालले स्विमिङ पुलको पर्याप्त बजेट निकासा नहुँदा काम अघि बढ्न नसकेको जनाए । गण्डकी प्रदेशका ११ वटै जिल्लामा न्यूनतम एक खेल सञ्चालन गर्ने गरी केही काम समेत अघि बढाएको उनले बताए । गाउँगाउँमा खेलकुद लैजाने आफ्नो उद्देश्य रहेको बताएका सदस्य सचिव सिलवालले खेलकुदलाई अब पर्यटन र अर्थसँग समेत जोड्नुपर्ने बताए । कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा अनिवार्य रुपमा खेल्न लायक खेल मैदान र खेल सामग्री विना खेल गतिविधि नहुने सदस्य सचिव सिलवालले दाबी गरे । खेलकुदमा माहोल सृजना गर्न दर्शक विनाको खेलकुदले गति लिन नसक्ने हुँदा खेलकुदमा माहोल ल्याउनु पर्ने उनको भनाइ थियो । पोखरा रंगशाला यसै बर्षभित्र २० हजार दर्शक क्षमताको हुने सदस्य सचिव सिलवालले बताए । यसै वर्ष ३ हजार ५ सय सिट क्षमताको प्यारापिट सहितको भवन निर्माण गरेसंगै रंगशालामा हाल भएको १६ हजार ५ सय बाट बढाएर २० हजार पुग्ने भएको उनले जनाए । पोखरा फुटवल मैदानलाई एएफसीले उत्कृष्ट फुटवल मैदानको रुपमा सूचीकृत गरेकोले पोखरामा महिला सम्बन्धि कुनै एक अन्तर्राष्ट्रिय खेलकुद गर्न तयारी गरेको सदस्य सचिव सिलवालले दाबी गरे ।
एक अर्ब दुई करोडको खेलकूदको बजेट रहेकोले आफू सदस्य सचिवमा पुनः नियुक्त भएसंगै बजेट नबढाएमा राजिनामा दिन्छु भनी चेतावनी दिएसंगै खेलकुदमा थप ८२ करोड बजेट बढेको सिलवालले जनाए । एक अर्ब बजेट कर्मचारी र प्रशासनिकमै खर्च हुने भएको उनले जनाए । उपयुक्त वातावरण भए बजेटको कारणले राष्ट्रिय खेलकुद नरोकिने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्