कोभिड–१९ ले निम्त्याएका अवसर «

कोभिड–१९ ले निम्त्याएका अवसर

सन् २०१९ को डिसेम्बरको अन्तिममा चीनको दक्षिण पूर्वी प्रान्त हुपेईको राजधानी बुहानमा देखा परेको कोरोना भाइरस–२०१९ (कोभिड–१९) को महामारीका कारण विश्वका अर्बौं मानिस प्रभावित भएका छन् । यसको असर कहिले कम हुने वा पूर्ण रूपमा हट्ने भन्ने कुरा कसैले पनि किटानीका साथ भन्न सक्ने अवस्था छैन । त्यसैले विश्वको अर्थतन्त्रमा ठूलो गिरावट आउने कुरा निश्चित छ ।
विश्वको अर्थतन्त्रमा ठूलो गिरावट आएसँगै नेपालको अर्थतन्त्रमा पनि संकुचन आएको छ । सरकारले बजेटको ठूलो हिस्सा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि खर्च गर्ने घोषणा गरेको छ । तर, धराशायी भएका र सुस्ताएका उद्योगधन्दाहरूलाई पहिलेको अवस्थामा फर्काउन भने सजिलो छैन ।
कोरोनाका कारण मध्यपूर्व र खाडी मुलुकबाट रोजगारी गुमाएर फर्केका युवाहरूलाई रोजगारी सिर्जना गर्ने कार्यमा चुनौती थपेको छ । रोजगारीका अवसर कम भएको हाम्रो देशमा कोरोनाले नयाँ रोजगारी सिर्जना गर्दा अहिलेको बेरोजगारी समस्या हल गर्न सजिलो छैन । औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरूले एकैपटक रोजगारी गुमाउँदा आर्थिक संकट बढिरहेको छ ।
तीन वर्षमा यहाँ औसत ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा आर्थिक वर्ष २०७६÷७७ मा २.८ प्रतिशतको आर्थिक वृद्धि हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान छ । कोभिड–१९ को प्रभाव सुरु हुनुअघि ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुन सक्ने प्रक्षेपण गरिएकोमा हाल यहाँको अर्थतन्त्रमा विद्यमान असहज अवस्थाका कारण आर्थिक वृद्धि न्यून हुने देखिन्छ ।
कोभिड–१९ पूर्वको यस प्रक्षेपणलाई केन्द्रीय तथ्याङ्क विभागको पछिल्लो सर्वजनिक अनुमानसँग तुलना गर्दा अर्थतन्त्रमा प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा करिब १ खर्ब ६८ अर्बबराबरको क्षति भएको प्रारम्भिक अनुमान नेपाल राष्ट्र बैंकको छ । कुल निर्यात, आयात र विप्रेषण आप्रवाहमा संकुचन आएसँगै सरकारको राजस्व सङ्कलन र खर्च पनि प्रभावित भएको छ ।
जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ भनेझैं हरेक चुनौतीसँग अवसर पनि गाँसिएका हुन्छन् । यसैले उक्त महामारीले पनि केही अवसरहरू प्रदान गरेको छ, जसलाई सदुपयोग गर्न सके आत्तिनु पर्दैन ।
वस्तुतः संघीयताको पालना र कार्यान्वयन गर्नका लागि स्थानीय सरकारलाई कोभिड–१९ एउटा सुनौलो अवसर छ । यो महामारीले हरेक स्थानीय सरकारलाई जिम्मेवार बनाएको छ । केही राहत लिएर भए पनि जनप्रतिनिधिहरू स्थानीय जनताको घरदैलोमा पुगेका छन् । यसैले सरकार घरघरमा पुगेको आभास भएको छ भने र स्थानीय जनता केही मात्रामा भए पनि खुसी छन् ।
विश्वमा सूचना र ज्ञान अति दु्रत गतिले संसारकै सबैभन्दा बहुमूल्य साधन बन्दै छ । ज्ञानले सम्पत्तिको सिर्जना गर्दै छ । केही दशकअघि भूमि, खानी, श्रम र पुँजी सम्पन्नताको आधार थियो भने अब ज्ञानले नै त्यो ठाउँ लिँदै छ ।
मानव स्रोत परिचालनबिना अर्थतन्त्र चल्ने यो एउटा सुनौलो अवसर हो । यसैले ई–मोबाइल बैंकिङ, ई–बैंकिङ, ई–सेवा, ई–लर्निङ, अनलाइन स्टडीजस्ता सूचना प्रविधिहरूको अभ्यास गर्ने सु–अवसर प्राप्त भएको छ ।
नेपाल एक कृषिप्रधान देश भए पनि यहाँ कृषिको ठोेस विकास गर्न सकिएको छैन । वर्तमान समयमा प्रत्येक व्यक्तिको आर्जित ज्ञान, सीप र प्रविधिको प्रयोग गरी कृषि उत्पादन वृद्धि गर्ने, कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गरेर देशको कुल गार्हस्थ्य उत्पादन बढाउने यो अर्को अवसर हो ।
हाल नेपालको गाउँघरमा लामो समयदेखि बाँझो रहेका खेतबारीमा खोरिया फाँड्ने, तरकारी रोप्ने, खाद्यान्न, नगदे बाली र फलफूल खेती गर्ने काम बढ्दो छ । यसलाई कृषि उत्पादन वृद्धि गर्ने अवसरका रूपमा लिन सकिन्छ ।
यहाँका माध्यमिक स्तरका बालबालिकालाई परम्परागत शिक्षा प्रदान गरी आफ्ना पुर्खाको पेसासँग आबद्ध गराई आयआर्जन हुने खालका विभिन्न सीपमूलक आर्थिक गतिविधिमा संलग्न गराई आ–आफ्ना घरमा डोका, डाला, नाम्ला आदि बुन्न सिकाउने, तरकारी खेतीमा काम गर्न सिकाउने, श्रमको सम्मान गर्न सक्ने सकारात्मक सोच भएका नागरिक उत्पादन गर्ने अवसरलाई उक्त महामारीको अवसरका रूपमा लिन सकिन्छ ।
यो महामारीले आवश्यक र अनुत्पादक खर्च तथा विलासी वस्तुको उपभोगमा कटौती गरी अतिआवश्यक वस्तुको उत्पादनमा खर्च गर्ने अवसर प्रदान गरेको छ । यो अवसरको सदुपयोग गर्न सके प्रत्येक व्यक्ति, परिवार र संस्थालाई फाइदा हुनेछ ।
उक्त महामारीका कारण कामको खोजीमा स्वदेशका सहरी क्षेत्र र विदेशमा गएका धेरै नेपाली घर फर्केका छन् । यसले परिवारिक सम्बन्ध सुमधुर बनाएको छ ।
महामारीले अवसरका केही ढोका खुला गरे पनि सरकारले स्पष्ट रूपमा नीतिगत उद्देश्यहरू तय गर्न नसकी राजनीतिक खिचातानी र भ्रष्टाचारीमा फसेर मनखुसी गर्न खोज्नु विडम्बना हो । वास्तवमा वर्तमान समयमा उक्त महामारीबाट बच्न सरकारले प्रभावकारी रणनीतिमूलक कार्यक्रमहरू योजनाबद्ध तरिकाबाट तय गरी व्यवहारमा लागू गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्