पुँजीगत खर्च न्यून «

पुँजीगत खर्च न्यून


चालू आर्थिक वर्षको चार महिनामा पुँजीगत खर्च न्यून देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले जनाएअनुसार चार महिनामा २६ अर्ब ३२ करोड १५ लाख रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षका लागि पुँजीगततर्फ कूल ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा कात्तिक २४ गतेसम्म विनियोजित पुँजीगत बजेटको ७.४६ प्रतिशत बजेटमात्र खर्च भएको छ ।
कोभिड–१९ का कारण पूर्वाधार निर्माणसम्बन्धी काम अपेक्षित रुपमा हुन नसक्दा पुँजीगत खर्चमा सरकार कमजोर देखिएको हो । गत वर्षको तुलनामा भने यो वर्ष पुँजीगत खर्च बढेको देखिएको छ । २०७६ कात्तिक २४ गतेसम्म पुँजीगत खर्च ५.६७ प्रतिशत भएको थियो । गत आवका लागि ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा सो अवधिसम्म २३ अर्ब ११ करोड ४१ लाख खर्च भएको थियो । कोभिड–१९ कारण विकासका काम प्रभावित भएकाले पुँजीगत खर्च न्यून देखिएको सडक विभागले जनाएको छ । विगतमा पनि आर्थिक वर्षको पहिलो तीन, चार महिनामा पुँजीगत खर्च न्यून हुने गरेको थियो । यस वर्ष पुँजीगत खर्च कमी आउनुमा कोभिड–१९ नै प्रमुख कारण हो ।
कोभिड–१९ कै कारण विकाससम्बन्धी कार्य रोकिन नहुने र यसका लागि ठेकेदार कम्पनीहरुले अग्रसरता देखाउनु पर्ने मन्त्रालयले जनाएको छ । कोरोनाको महामहारीबीच पुँजीगत खर्च बढाउन सरकार र निर्माण व्यवसायी एकजुट भएर अघि बढ्नुपर्नेमा मन्त्रालयको जोड छ । पुँजीगत खर्च बढाउनेतर्फ सरकारको ध्यान केन्द्रित हुन नसकेको नेपाल निर्माण व्यवसायी महासंघले आरोप लगाएको छ । लकडाउन अवधिमा विकास निर्माणसम्बन्धी काम प्रभावित भएका छन् । तर, लकडाउन अवधिमा म्याद गुजे्रका र भर्खर सम्झौता भएका आयोजनाका हकमा मात्र ६ महिना म्याद थप गर्ने सरकारले निर्णय गरिसकेको छ । सरकारले विकास निर्माणसम्बन्धी काम गर्ने मौसम सुरु हुन लाग्दा पनि निर्माण व्यवसायीले पालना गर्नुपर्ने प्रोटोकल जारी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्