पानी र मदिरा उद्योगको अनुगमन «

पानी र मदिरा उद्योगको अनुगमन

दमौली-जिल्ला प्रशासन कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिकाका विभिन्न ठाउँमा सञ्चालित दुई पानी र एक मदिरा उद्योगमा अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको नेतृत्वमा आँबुखैरेनी गाउँपालिका–३ छबिसेस्थित कीर्ति वेभरेज इन्डस्ट्रिज, आँबुखैरेनी गाउँपालिका–२ नारीघाटस्थित रेम्बो वेभरेज प्रालि र आँबुखैरेनी–२ कै अभनिष डिस्टिलरी प्रालिको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कीर्ति वेभरेज इन्डस्ट्रिजबाट उत्पादित सन्जिवनी र रेम्बो वेभरेज प्रालिबाट उत्पादित बरुण पानीको परीक्षणका लागि नमूना लिइएको छ भने अभनिष डिस्टिलरीबाट उत्पादित भर्जिन मदिराको नमूना लिइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार उक्त नमुना परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रणको प्रयोगशालामा पठाइनेछ ।
अनुगमनका क्रममा कीर्ति वेभरेजमा बोतल र बिर्कोको सरसफाइमा ध्यान दिन सुझाव दिँदै स्पष्ट देखिने गरी लेवल सुधार गर्नुपर्ने निर्देशन दिइएको थियो । त्यस्तै रेम्बो वेभरेज प्रालिलाई ७ दिनभित्र कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको सहायक प्रजिअ पौडेलले जानकारी दिए ।
अनुगमन टोलीले आँबुखैरेनी गाउँपालिका–३ स्थित सुयोग किराना पसल, पूजा मिष्ठान्न भण्डार र छिम्केश्वरी अस्पतालको समेत अनुगमन गरेको थियो । पूजा मिष्ठान्न भण्डारलाई सरसफाइमा ध्यान दिन सुझाव दिइएको थियो ।
अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बराल, जिल्ला प्रशासन कार्यालयका गोविन्द लम्साल, नेपाल पत्रकार महासंघ तनहँुका अध्यक्ष ओमकार आचार्य, तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनीका अध्यक्ष कृष्णबहादुर तामाङ लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्