अनुत्पादक बोटबिरुवाले सजिएको उपत्यकाका सडकहरू «

अनुत्पादक बोटबिरुवाले सजिएको उपत्यकाका सडकहरू

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बखत काठमाडौँ उपत्यकाले नयाँ मोड लियो । उहाँ प्रधानमन्त्री भइसकेपछि काठमाडौं उपत्यकाको सडक निर्माण र चौडा पार्ने कार्यले गतिसमेत लियो । सडक चौडा बनाउने कार्यले गति लिँदै गर्दा उपत्यकावासीले कतै सरकारविरुद्व नाराबाजी गर्न लागे त कतै हर्षोल्लास मनाउनसम्म भ्याए । तर, ‘विनाशपछिको विकास’ भन्ने उखानले सार्थकता पाउँदै गयो र राजधानी काठमाडौंमा सडक चौडा पार्ने कामले सार्थकता पाएरै छोड्यो । आज राजधानीका अधिकांश सडक फराकिलो बनेका छन्, कैयांै बाधा र अड्चनका बीच । सडकका बीचमा रोपिएका बोटबिरुवाले प्रकृतिलाई सुन्दरतामाथि सुन्दरताका खित्का छोडेर हराभरा र हरियाली बनाउन सघाउ पु¥याएको छ ।
अहिले काठमाडौं उपत्यकाको वातावरण फेरिएको छ । बढ्दो सहरीकरणको चरम चपेटामा परेको उपत्यका आजभोलि भने मानिसमा बढेको चेतना र सजगताका कारण हरियाली देख्न सकिन्छ । अहिले उपत्यकाको तीनकुने, नयाँ बानेश्वर, बबरमहल हुँदै माइतीघरसम्मका सडककोे दायाँबायाँ र बीचमा देखिने हरियाली बोटबिरुवाको दृश्यले हामी कुनै विदेशको सडकमा हिँडिरहेका त छैनौं ? भन्ने भान हुन्छ । तर, हाल विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को प्रकोपले देशले लकडाउनसम्मको दुर्दशा भोग्नुप¥यो । सायद त्यही भएर होला, सम्पूर्ण क्षेत्र लकडाउनको दुष्चक्रमा पर्दा प्रकृति भने रमाउँदै थिइन् । प्रकृतिले खुला र स्वच्छ हावा फेरेर होला, मलिलो माटोमा लहलह पाउलो फेर्दै मुस्कुराइरहेकी छिन् ।
बढ्दो सहरीकरणले गर्दा आज उपत्यकाका तीनै जिल्लाहरूमा खेतीयोग्य जमिन भेट्टाउन मुस्किल पर्दै गइरहेको छ । सहरी क्षेत्रमा बढ्दै गइरहेको सहरीकरणको प्रत्यक्ष प्रभाव कृषि क्षेत्रमा परिरहेको छ । कृषिप्रधान देश नेपालमा एक अध्ययनअनुसार काठमाडौं उपत्यकाका जमिनमा गरिएको खेतीले सिङ्गो देशलाई नै खाद्यान्नमा आत्मनिर्भर गराउन सकिने र सोभन्दा बाहिरी जिल्लामा गरिएको खेतीले खाद्यान्न निर्यात गर्न सकिने भनिएको छ । यदि खाद्यान्नमा आत्मनिर्भर गराउन सकेमा बिदेसिने अर्बांै रकमलाई बिदेसिनबाट जोगाउन सकिन्छ ।
अहिले काठमाडौं उपत्यकाका विभिन्न सडकहरूमा अनुत्पादक बोटबिरुवाले सजिसजाउ गर्नुभन्दा पनि ती बोटविरुवाको सट्टा फलफूल, जडीबुटीजस्ता सौन्दर्यप्रदान गर्ने विभिन्न प्रजातिका बोटबिरुवाहरू रोप्न पाएमा एकातर्फ फलफूल उत्पादन भई देश फलफूलमा आत्मनिर्भर बन्दै जाने थियो, जसको प्रत्यक्ष प्रभाव फलफूल आयातमा कमी हुन सक्छ । अहिलेको अवस्थामा ती बोटबिरुवाले वातावरणमा सुन्दरता त दिएका छन्, तर ती बोटबिरुवाले कुनै किसिमको प्रत्यक्ष राज्यलाई आम्दानी भने दिएकोे छैन ।
यदि त्यही ठाउँमा विभिन्न उत्पादनमूलक बोटबिरुवाको रोपण गरिएको हुँदो हो त हरियालीका साथसाथै आम्दानीको गतिलो स्रोत पनि ती बोटबिरुवाहरू बन्न सक्थे । नासपाती, स्याउ, सुन्तला, केरालगायतका वातावरणअनुकूलका फलफूलका बोटबिरुवा रोप्ने हो भने रोजगारीका प्रशस्त अवसर सिर्जना गरी बेरोजगार युवालाई रोजगारीको दायरामा ल्याउनसमेत सकिन्थ्यो । सरकार तथा सम्बन्धित निकायलाई अनुत्पादक बोटबिरुवाले काठमाडौंका सहर सजाउनुभन्दा विभिन्न उत्पादनमूलक बोटबिरुवाले काठमाडौंका सडक हरियाली बनाऔं, ताकि एक बिरुवाबाट सौन्दर्यका साथसाथै राज्यको आर्थिक भार कम गर्न आम्दानी पनि लिन सकियोस् ।

प्रतिक्रिया दिनुहोस्