विद्यार्थी कुटिएछि विद्यालय विवादमा «

विद्यार्थी कुटिएछि विद्यालय विवादमा

वीरगन्ज-पर्साको एक निजी विद्यालय फेरि विवादमा तानिएको छ । सिख समुदायका गुरु हरिप्रित सिंहको नाममा स्थापना गरिएको जीएचपी माध्यमिक विद्यालय विवादमा तानिएको हो ।
यसअघि तत्कालिन जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकलाई विज्ञान प्रदर्शनीमा बोलाएर विद्यालय परिसरमै तोप पड्काई उद्घाटन गराएर उक्त विवादमा तानिएको थियो । यसपटक एक विद्यार्थी कुटपिट गरेर विवादमा आएको छ जीएचपी विद्यालय । विद्यालयका प्रिन्सिपल ज्याग सिंह र शिक्षक आर्यन सहनीले विद्यालयका एक विद्यार्थीलाई चिर्पटले हिर्काएर घाइते बनाएको अभिभावकले बताएका छन् ।
प्रिन्सिपल सिंह र शिक्षक सहनीको कुटाईबाट घाइते भएका विद्यार्थीको उपचार नगरेर उल्टै प्रहरी प्रशासनलाई ‘मेरो आफ्नै मदिरा कारखाना छ, मासिक रुपमा मदिरा पठाउने गरेको छु, यसले मलाई केही फरक पर्दैन’ भन्दै धम्की दिएको पीडितले आरोप लगाएका छन् ।
विद्यालयको विवाद प्रहरी कार्यालयमा पुगेपछि दुवैजनालाई राखेर विद्यार्थीको उपचार गराउने र पीडितले चाहेमा थप कानुनी कारवाहीमा पनि जाने सहमति गरेर छोडिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । प्रहरी उपरीक्षक ढकालले भने, “दुवै पक्षलाई कार्यालयमा बोलाएर घाइते विद्यार्थीको उपचार गर्ने सहमति भयो, पीडित पक्ष पनि सहमतिमा आएपछि छोडियो । यद्यपि पीडितले चाहेमा कानुनी उपचारको बाटो खुला रहेको छ ।”
भारतीय मूलको सिख समुदायका उनको मकवानपुरको हेटौंडामा फिनिक्स डिष्टिलरी मदिरा उद्योग पनि रहेको छ । जे८९ ब्राण्डको मदिरा उत्पादन गर्ने डिष्टिलरीको कार्यालय पनि विद्यालयमा नै राखेका छन् । मदिराको सबै कारोबार र हिसाबाकिताब विद्यालयबाट नै गर्ने गरेका छन् ।
सरकारले मदिरा निषेधित गर्न खोजिरहेको बेला निजी विद्यालयले भने मदिराको पनि कार्यालय विद्यालयमा नै राखेर प्रशासनलाई चुनौती दिएको छ । मदिारजन्य उद्योग सञ्चालन तथा बिक्री वितरणको निश्चित मापदण्ड रहेपनि सञ्चालक सिंहले भने विद्यालयको कार्यालयलाई नै मदिराको कार्यालयको रुपमा प्रयोग गरेका छन् ।
यस सम्बन्धमा आन्तरिक राजस्व कार्यालयका एक कर्मचारीले मदिरा तथा मदिराजन्य वस्तुको कारोबारको कार्यालय छुट्टै हुनुपर्छ भन्ने नियममा नरहेको तर, विद्यालय जस्तो संवेदनशील क्षेत्रमा मदिराको पनि कारोबार गर्दा बालबालिकामा मनोवैज्ञानिक असर पर्न सक्ने सम्भावना रहेको बताए । यस विषयमा उद्योग सञ्चालक नै गम्भीर हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्