चिसोका कारण रौतहटमा तीनको मृत्यु

केही दिनदेखि शितलहरसँगै बढेको चिसोका कारण रौतहटमा ३ जनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका वडा नं. ४ का ५५ वर्षिय महर्जन ठाकुर हजाम, राजदेवी नगरपालिका वडा नं. ७ मुडवलवाका ७५ वर्षिय अयोधी राय यादव र गढीमाई नगरपालिका १ स्थित चिमनी भट्टामा काम गर्न आएका सर्लाहीका ५६ वर्षिय नेक महम्मद अलीको मृत्यु भएको हो ।
गढीमाई नगरपालिका १ स्थित चिमनी भट्टामा काम गर्न आएका सर्लाहीका अलीको मात्र चिसोका कारण मृत्यु भएको जिल्ला अस्पतालले दिएको रिपोर्टमा उल्लेख भए पनि अन्यको भने पोष्टमार्टमको रिपोर्ट नआएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी रामकुमार दानीले जानकारी दिए । तर मृतकका परिवारजनले भने चिसोकै कारण उनीहरुको मृत्यु भएको बताएका छन् । मृत्यु हुने सबै विपन्न परिवारका हुन् ।
एक हप्तादेखि बाक्लो कुहिरोसँगै शितलहर बढेपछि मध्य तथा पूर्वी तराई मधेशको जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । चिसो हावासँगै शितको वर्षा हुने गरेका कारणले चिसो अत्यधिक मात्रामा बढेको स्थानीयको भनाइ छ । चिसोका कारण बिहान–बेलुका बजारको चहलपहलमा कमी आएको स्थानीय व्यापारी देवेन्द्र अर्यालले बताए । चिसो हावासँगै जाडो बढेपछि वृद्ध, असक्त, अपांग, बालबालिकाहरु, दमका रोगीहरु पीडित छन् । अस्पतालमा दमका रोगी, बालबालिका बढी मात्रमा आएको चन्द्रपुर अस्पतालका डा. सुवास चौधरीले जानकारी दिए ।
जिल्लामा शितलहर बढेपछि जिल्ला वन कार्यालय रौतहटले अहिलेसम्म ९ स्थानीय तहमा दाउरा वितरण गरेको जानकारी दिएको छ । शितलहरले जनजीवन प्रभावित भएपछि आपूर्ति समितिबाट सर्वसुलभ दररेटमा दाउरा उपलब्ध गराएको जिल्ला वन कार्यालय रौतहटका जिल्ला वन अधिकृत दिर्घनारायण कोइरालाले जानकारी दिए । प्रहरी प्रशासनको सिफारिसमा जंगलबाट पनि झिना मसिना दाउराहरु वितरण गर्दै आएको उनले जनाए ।
यसैबीच जिल्ला शिक्षा कार्यालय रौतहटले गत पुस १७ गतेदेखि २१ गतेसम्म सामुदायिक विद्यालयलाई बिदा दिने निर्णय गरेकोमा चिसो बढ्न थालेपछि पुनः पुस २६ गतेसम्मका लागि सामुदायिक विद्यालयहरुलाई विदा दिने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले जानकारी दिएका छन् ।