तिहार नजिकिएसँगै फूलको कारोबारमा वृद्धि «

तिहार नजिकिएसँगै फूलको कारोबारमा वृद्धि

संखुवासभा-नजिकिँदो तिहारसँगै संखुवासभामा फूल खरिदबिक्रीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । केही वर्ष अघिसम्म फूलको अभाव हुँदा बजारमा बिक्रीका लागि राखिने गरिएका इन्डियन फूल र तराईका केही जिल्लाबाट आएका फूलमा परनिर्भर रहेका संखुवासभाका खाँदबारी चैनपुर, खराङ बजार, तुम्लिङ्टार, मानेभञ्ज्याङ लगायतका बासिन्दा यसपालि भने आफ्नै जिल्लामा उत्पादन गरिएका फूलले तिहार मनाउने सोचाईमा छन् । जिल्लामा अघिल्ला वर्षहरूमा फूलको अभाव झेलेका स्थानीयले स्थानीय रूपमै उत्पादन गरिएका फूलहरूमा बढी चासो राख्न थालेको खाँदबारी–८ कि फूल व्यवसायी शान्ति बिक बताउँछिन् । अघिल्ला वर्ष बाहिरबाट आएका फूल बिभिन्न बिषादी राखिएका कारण भाईटिकाको केही दिनअघि नै कुहिएको, सुकेर गएको भन्दै स्थानीयबाट गुनासो आएकाले आफूले यसपालि आफ्नै जिल्लामा उत्पादन गरिएको फूलमात्र बिकृका लागि राख्ने गरेको फूल व्यवसायी बिकको भनाइ छ ।
अहिले आफूले फूलखेतीमा लागेका कृषकहरूबाट फूल खरिद गरि बिक्री गर्दैआएको उनको भनाइ छ । धेरै फूल कृषकले आफ्नो उत्पादन खरिद गरी दिन आग्रह गरेका छन् । अब फूलको व्यावसायिक कारोबार सुरु भएको छ । अहिले आफूले दैनिक ५ हजारको फूल बिक्री गर्दै आएको उनले बताइन् । श्रीमानलाई समेत तिहारका लागि धेरैले फूल राखी दिन आग्रह गरेको उनको भनाइ छ । बिर्सने डरले सबै अर्डरहरू कपिमा लेखेर राखेका छौं ।
अहिले खाँदबारी नगरपालिका–११ हेलुवाका सबिता राईले खाँदबारी १ को बजार नजिकै जग्गा भाडामा लिएर समेत फूल उत्पादन गरेका छन् । उनले फूलको व्यावसायिक खेती सुरु गरेको २ वर्ष भयो तर यसपालि जस्तो बजार मूल्य कहिल्यै पाएकि थिइनन् । गत वर्ष २ रोपानी जग्गा भाँडामा लिएर मखमली र सयपत्री फूलको खेती लगाएकि उनले यसबर्ष ४ रोपनी क्षेत्रफलमा फूलखेती लगाएकी छिन् । आम्दानी राम्रै छ । दैनीक १० हजार बढिको फूल बिक्री हुँदै आएको छ । अब त तिहार पनि नजिकै आयो । बिक्री बढ्ने उनले आसा राखेकी छिन् । धेरै ग्राहकबाट तैयारी मालाको अर्डर आउँछ तर आफुसंग आवश्यक शिप र तालिम नहुँदा तयारी माला भने आफूले दिन नसकेको उनको भनाइ छ । अर्काे वर्ष केही शिप सिकेर तयारी सामग्रीसमेत उपलब्ध गराउने सोच रहेको उनले बताइन् ।
फूलखेतीसँगै तरकारी खेतीमा समेत हात हालेकी उनले फूल खेति गर्दा नबिक्ने र चाहिएको समयमा ठ्याक्कै उत्पादन लिन नसकिनेहो कि भन्ने जोखिम रहेको उनले बताइन् । सिजन र पात्रो हेरेर फूल उत्पादन गर्दै आएको छु । तिहारको समयमा फूल नफूलने होभने सारा लगानी डुब्ने जोखिम भएकाले आफूले फूलखेतीमा थप लगानी गर्न नसकेको उनले बताइन् । सिजनमा उत्पादन गरेकाले यसपालि राम्म्रो आम्दानी हात लागेको छ ।
गत वर्ष फूल बेचेर ८० हजार आम्दानी भएको थियो । यस वर्ष करिब ८० हजार आम्दानी भइसकेको छ । अब बेच्न बाँकी झण्डै १ लाख ५० हजार बढीको फूल बोटमा झुण्डिरहेको छ । केही ग्राहकले बगैंचामै आएर पनि लगिरहेका छन् । केहीले केही दिन पनि आउने भनेका छन् । केहीले तिहारमा घरैमा ल्याईदिनु भनेका छन् । करिब यसपालिको फूल बिक्री सकिएको उनले बताइन् ।
गत वर्षको तुलनामा यो वर्ष फूलको खेती बढाए पनि ग्राहकलाई पु¥याउन नसकिएकी भन्ने चिन्ता रहेको फूल कृषक सविता राईको भनाइ छ । तिहार आउन अझै एक हप्ताभन्दा बढी समय बाँकी हुँदा नै २१ जनाले फूलको अर्डर गरिसकेको उनले बताइन् । यस बर्ष कोरोना भाइरस संत्रासका कारण ठूलो बजार नलाग्ने भएकोले टाढाकाले बगैंचामा नै आएर फूल लग्न सुरु गरेका छन् भने नजिकैका अधिकांश ग्राहकको घरघरमै पुर्याउनुपर्ने बाध्यता रहेको उनले जनाइन् ।
राईले गत वर्ष फूलको डाँठ सहितको मुठा बनाएर सय रुपैयाँको दरले खाँदबारी बजारमा बिक्री गरेका थिए । लगभग एक बोटले २ मुठा बनाएको मखमली फूलबाट गत बर्ष ८० हजार रुपैयाँ भन्दा बढी आम्दानी लिएको सविता राईका श्रीमान भोला राईले जानकारी दिए । फूलखेती गर्न सके र समय र सिजनले साथ दिए राम्रो आम्दानी लिन सकिने उनको भनाई छ । ‘पोहोर साल पहिलो पटक बिरुवा लगाउँदा बिक्री हुँदैन कि भन्ने डर थियो तर राम्रो दाम लिन सफल भएकाले यो वर्ष बढाएका हौं’, राईले भने । यस वर्ष पनि फूलको माग राम्रो भएकोले अर्को बर्ष अझ व्यवस्थित तरिकाले खेती लगाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्