बाँध बाँधे पनि पोखरीमा पानी अडिएन «

बाँध बाँधे पनि पोखरीमा पानी अडिएन

गुल्मी-लुम्बिनी प्रदेश सरकारले बनाएको बाँधमा एक थोपा पनि पानी नअड्ने पाइएको छ । लुम्बिनीको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको बजेटबाट गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुंगामा पोखरीनजिक निर्माण गरिएको बाँधमा पानी नै रोकिँदैन ।
बाँध निर्माणमा मन्त्रालयले डिभिजन वन कार्यालय गुल्मीलाई २० लाख रुपैयाँ प्रदान गरेको हो । बाँध निर्माण गुणस्तरहीन छ । १६ लाख रुपैयाँ भुक्तानी भइसकेको डिभिजन वन कार्यालयले जनाएको छ । जनश्रमदानसहित १६ लाख रुपैयाँ लागतमा बाँध निर्माण गरिएको हो ।
निर्माण सम्पन्न भएर रकम भुक्तानी भइ्रसकेको उक्त ड्याममा पानी नै रोकिँदैन । “सुरुमा बाँधको पर्खाल लगाउँदा जग नै बलियो बनाइएन, धेरै पटक ध्यानाकर्षण गराए पनि पर्खाल झारमाथि नै निर्माण गरियो ।” रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले भने, “ड्याम निर्माण गरी पानी संकलन गरेर तलाउको रूपमा प्रयोग गर्ने हाम्रो योजना थियो ।” उद्देश्य अनुरुप काम नहुनाले मन्त्रालयबाट विनियोजित रकम पूर्णरूपले दुरुपयोग भएको रेसुंगा संरक्षण समितिले जनाएको छ । खोलो रोकेर रेसुंगा क्षेत्रलाई सुन्दर बनाउने सपना खोलाले नै बगाएको छ । ड्याम निर्माणको जग नै बलियो नभएपछि ड्यामको तल्लो सतह पानीले बगाएर पानी नै नरोकिने भएको छ ।
डिभिजन वन कार्यालयले कार्यक्षेत्रभन्दा बाहिरको सामुदायिक वनलाई काम गर्न दिएर तालको बेहाल बनाएको उनको भनाइ छ । रेसुंगा पोखरीनजिक खोलामा पानी रोक्न दुईवटा पर्खाल लगाइएको छ । डिभिजन वन कार्यालय गुल्मीले करिब १६ लाख रुपैयाँको काम सम्पन्न भएर भुक्तानी पनि दिइसकेको छ । ड्याम बनाउनुको कारण पानी रोकेर ताल बनाएर तलाउको रूपमा प्रयोग गर्ने हो । तर, निर्माण सम्पन्न भएको ड्याममा एक थोपा पनि पानी रोकिँदैन । खोलालाई छेकेर ताल निर्माण गरी पर्यटकीय हिसाबले रेसुंगा क्षेत्रलाई अझै सुन्दर बनाउने र वन सिञ्चित गर्ने उद्देश्यले ड्याम निर्माण गरिए पनि यसले सार्थकता पाउन नसकेको रेसुंगा संरक्षण समितिले जनाएको छ । गत वर्षको फागुनमा ड्याम निर्माणको सम्झौता भएको थियो ।

चरणबद्ध ठेकेदार
बाँध निर्माणमा एकपछि अर्को व्यक्तिले लगातार रूपमा निर्माणको जिम्मा पाएको खुलेको छ । सुरुमा डिभिजन वनले रेसुंगा सामुदायिक वन उपभोक्ता समितिलाई निर्माणको जिम्मा दियो । त्यसपछि उपभोक्ता समितिले स्थानीय राजन काउछालाई जिम्मा दियो । काउछाले पनि फेरि दिपेश अर्याललाई ठेक्का दिए । अझ अन्तिममा जितबहादुर गुरुङमार्फत काम सम्पन्न भएको रेसुंगा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जंगबहादुर कुँवरले जानकारी दिए । २० लाख लगानीमा ड्याम निर्माण गर्न एकपछि अर्को गर्दै ४ पटकसम्म ठेक्का लगाइएको छ ।
बाँध निर्माणवापत करिब १६ लाख रुपैयाँ भुक्तानी भएको डिभिजन वन कार्यालय प्रमुख प्रभात सापकोटाले बताए । उनले बाँधमा पानी नअडिएको स्वीकारे । निर्माणको जिम्मा पाएको रेसुंगा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जंगबहादुर कुँवरले आफूहरूले १२ लाखमात्रै भुक्तानी गरेको बताए । ड्याम निर्माणमा एकपछि अर्को चरणबद्ध रूपमा ठेकेदार हुनुले भुक्तानी रकममा समेत ठेक्का दिने संस्था र ठेक्का लिने संस्थाबीच बेमेल देखिएको छ । “डिभिजन वन कार्यालय गुल्मीले नगद १२ लाख भुक्तानी गरेकोे हो,” सापकोटाले भने, “जनश्रमदानसहित १६ लाख लागत लागेको हो ।” रेसुंगा संरक्षण समितिले रेसुंगाको विकासमा टेवा पुग्ने र पर्यटकको आकर्षकको रूपमा पानी रोकेर ताल बनाई तलाउको रूपमा प्रयोग गर्ने योजना अनुरुप उक्त ड्यामको माग गरेको थियो । तर, डिभिजन वन कार्यालय गुल्मीले ड्यामको निर्माणबाट विस्तारै पानी रोकिने जनाएको छ । रेसुंगाको पोखरीनजिकै ३ वटा पर्खाल लगाएर ड्याम निर्माण गरिने सम्झौता भए पनि २ वटामात्रै पर्खाल लगाइएको छ ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले ड्याम निर्माणको सबै जिम्मा डिभिजन वन कार्यालय गुल्मीलाई दिएको प्रतिक्रिया दिएको छ ।

सन्तोष महतारा

प्रतिक्रिया दिनुहोस्