ट्राफिक सचेतना बढाउन ‘चालकसँग १ मिनेट कार्यक्रम’ «

ट्राफिक सचेतना बढाउन ‘चालकसँग १ मिनेट कार्यक्रम’

पोखरा-ट्राफिक सचेतना जगाउन कास्कीसहित गण्डकी प्रदेशमा आइतबार देखि चालकसँग १ मिनेट कार्यक्रमः सुरु भएको छ । कास्कीको गगनगौडामा रहेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्युनिकरणको लागी राजमार्ग तथा शहरी क्षेत्रहरुमा संचालन हुने गरी आइतबारदेखि चालकसँग १ मिनेट कार्यक्रम सुरु गरिएको कार्यालयका ट्राफिक प्रहरी निरिक्षक मनोज कुमार शाहीले बताए ।
लकडाउन पश्चात पछिल्लो समयमा सवारी साधनहरु संचालनमा आएसँगै सवारी दुर्घटना समेत बढ्न सक्ने सम्भावनालाई मध्यनजरमा राखी सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्दै कोभिड—१९ सम्बन्धि समेत जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम एक महिना प्रदेशका ११ जिल्लामै संचालन हुने भएको उनले जनाए ।
उनले भने, “यस कार्यक्रम अन्तर्गत सडकमा खटिएको ट्राफिक प्रहरीले सर्वप्रथम सवारी साधनलाई रोक्ने काम गर्छन्, अनि सवारी चालकलाई सम्मानपूर्वक नमस्कार गर्छन् । त्यसपछि कोरोना भाइरस (कोभिड—१९) बाट बच्नको लागि स्वास्थ्य मापदण्डको कुरा पालना गर्न हामीले स्मरण गराउने गर्दछौं ।” सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्क प्रयोग गरौँ, सवारी साधन चलाउँदा अनिवार्य रुपमा सिट बेल्ट लगाऔँ, मो.सा. र स्कुटर चलाउँदा हेल्मेट र हेल्मेटको फित्ता अनिवार्य रुपमा लगाऔँ, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरु सेवन गरी सवारी साधन नचलाऔँ र तिब्र गतिमा सवारी साधन नचलाऔँ भन्दै सवारी चालकलाई सचेतनामूलक सन्देश दिन ट्राफिक प्रहरी सडकमा उत्रिन थालेको प्रहरी निरिक्षक शाहीले जनाए । तपार्इंको यात्रा सुरक्षित रहोस् ! नमस्कार भनेर १ मिनेटभित्र उक्त बिषयमा चालकलाई जानकारी गराउन सुरु गरिएको उनले जनाए ।
गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थायी ट्राफिक पोष्टहरुले एकै पटक यो कार्यक्रम शुरु भएको यसलाई पहिलो चरणमा १ महिनासम्म संचालन गरिने भएको ट्राफिक प्रहरी निरिक्षक शाहीले जनाए । गति मापन गर्नको लागि राजमार्ग तथा खुल्ला सडकमा लेजर गनको प्रयोग गर्न थालिएको उनले बताए । उक्त गनले सवारी साधनको नम्बर प्लेट सहितको गतिमापन सहितको प्रिन्ट गर्न मिल्ने मेसिन भएको उनले बताए । ओभर स्पिडलाई नियन्त्रण गर्न पहिलो पटक उक्त मेसिन प्रयोग गर्न थालेकोले पहिलो पटक केही दिन सम्झाई बुझाई गर्ने र त्यसपछि पनि तिव्र गतिमा सवारी हाँक्नेलाई कारवाही गरिने भएको कार्यालयले जनाएको छ ।
आइतबार गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक (एसपी) प्रभु प्रसाद ढकालले पोखराको औद्योगिक क्षेत्रको सडकमा र कार्यालयका प्रहरी निरिक्षक शाहीले गगनगौडाको सडक खण्डमा उक्त अभियानको सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्