सबै दोलखाली माथिल्लो तामाकोसीको सेयरधनी «

सबै दोलखाली माथिल्लो तामाकोसीको सेयरधनी

सेयर बाँडफाँड बमोजिम दोलखावासीले न्यूनतम् ३० कित्तादेखि अधिकतम् १०३ कित्तासम्म सेयर पाएका छन् ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना
दोलखा-माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रभावित दोलखाबासी सबै शेयरधनी भएका छन् । बुधबार भएको सेयर बाँडफाँडमा सबै दोलखालीले अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर पाएका छन् । कम्पनीको २०७५ साउन १६ गतेदेखि भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखावासीका लागि सेयर आवेदन संकलन भएको थियो ।
सेयर बाँडफाँड बमोजिम दोलखावासीले न्यूनतम् ३० कित्तादेखि अधिकतम् १०३ कित्तासम्म सेयर पाएका छन् । प्रतिकित्ता एक सय दरको तामाकोशीको सेयर सबैभन्दा कम पाउनेले ३ हजारको र अधिकतम पाउनेले १० हजार २ सय बराबरको सेयर पाएका छन् । माथिल्लो तामाकोसीको सेयर निस्कासन तथा बिक्री प्रबन्धक कम्पनी नागरिक लगानी कोष र सहायक प्रबन्धक सनराईज क्यापिटल लिमिटेडले धितोपत्र बोर्डको सहमति लिएर बुधबार सेयर बाँडफाँड गरेका हुन् । जसअनुसार आयोजना प्रभावित क्षेत्रको दृष्टिले ‘ग’ वर्गमा परेका आवेदनकर्ता मध्ये ३० कित्ता सेयर माग गर्नेले सतप्रतिशत, ४० कित्ता शेयर माग गर्नेले ३२ कित्ता र सो भन्दा माथि ५० कित्तादेखि ३०० कित्ता सेयर माग गर्नेले जम्मा ३४ कित्ता मात्रै पाएका छन् । ‘ग’ वर्गमा कूल ६२ लाख ९९ हजार ८ सय ६६ कित्ता सेयर बाँडफाँड भएको छ । ‘ग’ वर्गमा दोलखाका १ लाख ८९ हजार ९ सय २३ जना आवेदकले २ करोड ३५ लाख ४२ हजार ३ सय ७० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।
यस्तै, आयोजना प्रभावित ‘ख’ वर्गमा ३० देखि ४० कित्ता सेयर माग गर्ने आवेदकले माग गरे बमोजिम तथा ५० कित्तादेखि ३०० कित्ता शेयर माग गर्नेले ४८ कित्ताका दरले ३७ लाख ७७ हजार ५ सय ८६ कित्ता सेयर बाँडफाँड गरिएको थियो । ‘ख’ वर्गमा कूल ८१ हजार २ सय ४२ जना आवेदकले १ करोड २७ लाख ८१ हजार २ स्य ९० कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए
आयोजनाको अति प्रभावित ‘क’ वर्गमा १० हजारसम्म आवेदन गर्नेले पूरै सेयर पाएका छन् । सोभन्दा बढी आवेदन गर्नेले १०२ कित्ताका दरले जम्मा ५ लाख १० हजार ९ सय ५० कित्ता सेयर पाएका छन् । ‘क’ वर्गमा कूल ५ हजार ५० जना आवेदकले १३ लाख ८८ हजार ३ सय कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए ।
तामाकोसीको सेयरमा दोलखाबासीको अत्यधिक सहभागिता भएको थियो । २ लाख ७६ हजार २१५ आवेदकले सेयरमा आवेदन दिएका थिए । तत्कालिन जिविसको कार्यालय, दोलखाले २०७१ सालमा लिएका घरपरिवार तथ्यांक सर्भेक्षणबाट प्राप्त दोलखाको जनसंख्या विवरणलाई सेयर निस्काशन, बाँडफाँड तथा बिक्री प्रयोजनका लागि आधार मानेको छ । जस अनुसार दोलखाको जनसंख्या २ लाख ८२ हजार १२५ रहेको छ ।
यसलाई आधार मान्ने हो भने कुल आवेदकमध्ये ९८ प्रतिशतको सेयरमा आवेदन परेको थियो । अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले सेयर बाँडफाँडपछि आफू अत्यन्तै उत्साहित भएको प्रतिक्रिया दिए । “तामाकोसीको सेयरमा दोलखालीको उत्साहपूर्ण सहभागीता भयो,” उनले भने “तामाकोसीको सेयरबाट कोही वञ्चित छैनन्, यसलाई सतप्रतिशत आवेदन मान्नुपर्छ ।” तामाकोसीमा भएको दोलखालीको सेयर आवेदनले जलविद्युत निर्माताहरूलार्ई पनि उत्साहित बनाएको उनले बताए ।
उनले सेयरमा नपरेको पैसा आवेदन फाराममा उल्लेखित बैंक खातामा एक साताभित्र फिर्ता हुने जानकारी दिए । सबैभन्दा ठूला सेयरमा भएको सहभागिता अहिलेसम्मकै सबैभन्दा बढी हो । सेयर आवेदनका लागि सहयोग गर्नुहुने सबै पक्षलाई प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले धन्यवाद समेत थिए ।
अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । विगू गाउँपालिका वडा नं. १ लामाबगरमा निर्माणाधीन आयोजनाको अहिलेसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजना आउँदो पुससम्म पूरा गर्ने लक्ष्य राखे पनि हाइड्रोमेकानिकलको काममा भएको सुस्तताले समय अझै लम्बिने सम्भावना बढेको छ ।

दिलबहादुर केसी

प्रतिक्रिया दिनुहोस्