मन्थलीमा जगदीशको सम्झना «

मन्थलीमा जगदीशको सम्झना

मन्थली- साहित्यकार तथा समाजसेवी जगदीश घिमिरेको पाँचौं वार्षिक स्मृति दिवस बुधबार मन्थलीमा मनाइएको छ । तामाकोशी सेवा समिति रामेछापको आयोजनामा दिवस मनाइएको हो ।
सो अवसरमा जिल्लाका सरोकारवालाहरुले जगदीशको फोटोमा माल्यार्पण गर्नुका साथै साहित्य र जिल्लाको विकासमा उनले पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरू, जिल्ला समन्वय समितिका प्रमुख, मन्थली नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतले जगदीशको योगदानलाई जिल्लाव्यापी बनाउनुपर्ने कुरामा जोड दिएका थिए । विपन्न र दुर्गम परिवारलाई लक्षित गरी उनीहरुको समृद्धिका लागि अभियान चलाएका जगदीशले गाउँगाउँमा खानेपानी, सिँचाइका कामसमेत गरेर सर्वसाधारणको मन जितेका थिए । उनले स्वास्थ्य, खानेपानीसँगै घर–घरमा शौचालय निर्माणको कामलाई पनि अभियानको रुपमा अघि बढाएका थिए ।
समाजसेवा र साहित्य विधालाई एकैसाथ अगाडि बढाएका घिमिरेको ०७० कात्तिक १४ गते माइलोमा क्यान्सरका कारण मृत्यु भएको थियो ।
उनले मन्थलीमा सञ्चालन गरेको मन्थली बचत तथा ऋण सहकारी संस्था र सहकारी अस्पतालले जिल्ला स्तरमा राम्रो काम गर्दै आएका छन् । घिमिरेले प्रकाशन गरेको ‘अन्तर्मनको यात्रा’ले मदन पुरस्कारसमेत प्राप्त गरेको थियो । त्यसबाहेक उनले सकस, लिलाम लगायतका दर्जनजति विभिन्न विधाका पुस्तकसमेत प्रकाशन गरिसकेका थिए ।
घिमिरेले २०४५ सालबाट तामाकोशी सेवा समिति नामको गैरसरकारी संस्था खोली शुरु गरेको कामले जिल्लाव्यापी रुपमा उदाहरणीय काम गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले जगदीशको शारेमा सरकारीस्तरवाट पनि काम गर्नुपर्ने बताए ।
मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले कृष्णलाल, गंगालाल र पुष्पलाल तीन लाल जन्मिएको रामेछापलाई जगदीश घिमिरेको नामसमेत समावेश गरी चार लालको जिल्ला नामाकरण गर्न सम्बन्धित पक्षसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्