लोकसेवा आयोगले मंसिरपछि भर्ना खोल्छ : अध्यक्ष मैनाली «

लोकसेवा आयोगले मंसिरपछि भर्ना खोल्छ : अध्यक्ष मैनाली

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगले विज्ञापन तालिका फेरबदल नगर्ने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले लाखौं युवाहरुलाई निरुत्साहित हुन नदिने बताए । “आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन । मंसिरपछि भर्ना विज्ञापन खोल्छौं,” उनले भने ।
अध्यक्ष मैनालीले आयोगसँग लिनुपर्ने परामर्शलाई सरकारले गम्भिर रुपमा लिनुपर्ने धारणा राखे । उनले भने, “हामीले एक÷दुई वटा विषयमा सरकारलाई सुझाव दिएका छौं, सरकारले त्यसलाई परामर्शको रुपमा लिनुपर्छ । हामीले नचाहँदा नचाहँदै पनि सरकारको असहजतालाई ध्यानमा राखेर दुई महिनाको लागि विज्ञानपन रोकेका हौं, यो हाम्रो बाध्यता हो । सरकारप्रति सदासयता देखाएका हौं, भूकम्पको बेलामा पनि नरोकिएको विज्ञापन यतिखेर रोकिएको अवस्था छ ।”
उनले अघि थपे, “सरकारले आवश्यक कर्मचारीको संख्या र आवश्यक ऐन ल्याई लोकसेवाको तयारीमा बसेका १० लाख बढी युवाहरुको भविष्यलाई ध्यानमा राखेर काम गर्नुपर्छ । उमेरको कुरा हुन्छ, समयको कुरा हुन्छ, पारिवारिक अवस्थाको कुरा हुन्छ । यस्ता संवेदनशिलतामा सरकार गम्भिर बन्नुपर्छ ।”
मैनालीले सरकार युवाहरुको भविष्यप्रति गम्भिर बन्नुपर्ने धारणासमेत राखे । “हामीकहाँ स्वास्थ्य, संसद, महालेखा, परराष्ट्रलगायतले रिक्त दरबन्दी पठाइसकेको छ,” उनले भने, “केहीले नपठाएका कारण भोलिका दिनमा समान पदमा सिनियर र जुनियरको झमेला हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर आयोगले आफ्नो इतिहास भत्काएको हो ।”
संघीय सरकार र प्रदेश सरकारबीच समन्वय गरी संविधानको व्यवस्थाअनुसार कर्मचारी भर्नाको लागि सहमति जुटाउनुपर्ने बताउँदै अध्यक्ष मैनालीले भने, “ऐन नबनेको खण्डमा प्रदेश सरकारलाई चाहिने कर्मचारीहरु संघीय सरकारले उपलब्ध गराउने व्यवस्था छ । त्यही बाटो भएर युवाहरुको चिन्ता गर्नुपर्छ । राजनीतिक परिवर्तन भएपनि कर्मचारीतन्त्र परिवर्तन हुन नसकेको स्थिति छ । राजनीतिक लिडरमात्रै राम्रो भएर हुँदैन, कर्मचारी पनि राम्रो हुनुपर्छ ।” अध्यक्ष मैनालीले लोकसेवा आयोगलाई निष्पक्ष र विश्वसनीय बनाइराख्न प्रदेश लोकसेवा आयोगलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिए ।
‘पेपर र पेन्सिल’को आधारमा मात्रै लिइने योग्यताको परीक्षणलाई नयाँ विधिअनुसार लिने तयारी थालेको जानकारी दिँदै अध्यक्ष मैनालीले भने, “व्यक्तिको योग्यता नाप्ने यन्त्र पेपर र पेन्सिलमात्रै होइन, अरु ज्ञानको पनि खाँचो हुन्छ । त्यसैले आयोग यसतर्फ सचेत छ । योग्यता परीक्षणका नयाँ विधिहरु अघि सार्ने योजना बनाउँदैछ ।”
फरक प्रसंगमा उनले प्रदेश सरकारले यति कर्मचारी चाहियो भनेर लिखित रुपमा दिए आयोगले ६ महिनाभित्रै कर्मचारी पदपूर्ति गरिदिने विश्वास दिलाए । उनले भने, “कर्मचारी समायोजन ऐन–२०७४ अनुसार नै हामी आवश्यक कर्मचारी पदपूर्ति गरिदिन्छौं ।”

प्रतिक्रिया दिनुहोस्