अब माध्यमिक तहसम्म प्रहरी शिक्षा «

अब माध्यमिक तहसम्म प्रहरी शिक्षा

देशभरका विद्यालयमा शान्तिसुरक्षा र नागरिक–प्रहरी सहकार्यसम्बन्धी विषय पढाइने भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी प्रधान कार्यालयले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका गरी देशभरका ७ सय ५३ स्थानीय सरकार प्रमुखहरुसँग सहकार्य गरेर माध्यमिक तहसम्म अपराध नियन्त्रण र अपराधविरुद्ध किशोरकिशोरी-विद्यार्थीको भूमिका विषयमा पाठ्यक्रम तयार पार्न लागेको हो ।
प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले स्थानीय सरकार प्रमुखसँग सम्झौता नै गरेर १० कक्षासम्म अपराधविरुद्ध स्टेकहोल्डरबीच हुनुपर्ने सहकार्यसम्बन्धी कोर्स नै तयार पारेर विद्यार्थीलाई पाठ्यक्रमकै रुपमा समावेश गर्न लागिएको बताए ।
“कुल अपराधमध्ये २५ वर्षमुनीका व्यक्तिको संलग्नता सबैभन्दा बढी देखिन्छ,” प्रवक्ता सुवेदीले भने, “यो उमेर समूहले विद्यालय तथा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई समेट्ने हुँदा अब अपराध रोकथाम तथा नियन्त्रण र सुरक्षित समाज निर्माणमा विद्यालय तहबाटै यससम्बन्धी जनचेतना, विद्यार्थीको दायित्व, अपराध विरुद्धका सावधानीका उपायबारे पाठ्यक्रम अनिवार्य गर्न आवश्यक भइसकेको छ ।”
प्रहरी–समुदाय अभियान सफल बनाउन प्रहरी मुख्यालयले अहिलेसम्म ३ हजार ५ सय ६१ विद्यालयसँग पाठ्यक्रम नै तयार पारेर विद्यार्थीलाई पढाउने समझदारी भइसकेको छ । समुदायसँग यो कार्यक्रम पु¥याउन २६ हजार ९ सय ७२ टोल सुधार समितिमार्फत् कार्यक्रम अघि बढाइने पनि प्रहरी प्रवक्ता सुवेदी बताउँछन् ।
“अपराध समाजबाटै जन्मने हो, जहाँबाट जन्मन्छ, त्यहीबाट नियन्त्रण हुनुपर्छ भन्ने सोचअनुसार अपराध विरुद्धको अभियानमा समुदायलाई सहभागी गराउन लागिएको हो,” बुधबार प्रहरी मुख्यालयमा पत्रकार सम्मेलन गरेर सुवेदीले भने, “यसबाट सरकार, प्रहरी, नागरिक, विद्यार्थी विभिन्न पेशाकर्मी÷वुद्धिजीवी, सर्वसाधारण लगायतलाई जिम्मेवारी र जवाफदेही बढाउँछ भन्ने हाम्रो अपेक्षा हो ।”
समुदाय–प्रहरी साझेदारी कार्यक्रम सफल बनाउनकै लागि १० हजारभन्दा बढी प्रहरी खटिएका छन् । २ हजार ७ सयभन्दा बढी प्रहरी प्रशिक्षक पनि तैनाथ भइसकेको प्रहरी मुख्यालयले जनाएको छ । यो अभियानमा कूल जनसंख्याको ४० प्रतिशतभन्दा बढी हिस्सालाई सहभागिता गराइने पनि प्रहरी मुख्यालयले जनाएको छ । यसका लागि हरेक वर्ष १९ करोड ५६ लाखभन्दा बढी बजेट आवश्यक पर्ने र त्यसैअनुसारको खाका अर्थ मन्त्रालयमा पेश गरिएको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्