पर्यटन सुस्ताउँदा होमस्टे प्रवद्र्धन «

पर्यटन सुस्ताउँदा होमस्टे प्रवद्र्धन

दोलखा-कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई पुरानो लयमा कसरी फर्काउन सकिन्छ भन्ने बहस भइरहेको बेला गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले दोलखाको उत्तरी क्षेत्रमा पर्यटकहरु लक्षित गरी होम स्टेको प्रवद्र्धनमा लागेको छ ।
संरक्षण क्षेत्र आयोजनाले विश्व पर्यटन दिवसकै अवसरमा विगू गाउँपालिका–१ को लामाबगर र गोगरका १० घरमा होमस्टे राख्नका लागि सामग्री हस्तान्तरण गरेको छ ।
महामारीपछि पर्यटन प्रवद्र्धनमा राज्यलाई सहयोग पुग्ने गरी संरक्षण क्षेत्रले होमस्टेलाई प्राथमिकतामा राखेको हो । महामारीका कारण भएका होटलहरु पनि बन्द भएका र भएका समेत राम्रोसँग चल्न नसकेर व्यवसायीहरु वैकल्पिक पेशामा लाग्न थालेपछि त्यसको विकल्पका रुपमा होमस्टेलाई प्रवद्र्धन गरेको संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले जानकारी दिए ।
लामाबगर नेपालकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको मुख्य बाँध स्थल हो । गोंगर आयोजनाकै मुख्य संरचना भएको विद्युत् गृह क्षेत्र हो । लामाबगरभन्दा माथिका क्षेत्रमा पनि जलविद्युत् आयोजनाहरुको काम सुरु हुन थालेका छन् । जलविद्युत् क्षेत्रका अध्ययनका लागि धेरै पर्यटकहरु आउने भएकाले राम्रो खाना र बासको व्यवस्था नहुँदा दुःख नपाउने भन्ने उद्देश्यले होमस्टेमा सहयोग गरेको उनले बताए ।
“महामारी केही समयका लागि हो, यो सँधै रहँदैन” उनले भने, “सहज परिस्थिति हुनसाथ पर्यटकहरु बाहिर निस्किन्छन्, लामाबगर पर्यटकहरुको अबको मुख्य गन्तव्य हो ।” लामाबगरमा माथिल्लो तामाकोसीको अब ठूलो ताल निर्माण हुँदा त्यसले पनि धेरै पर्यटक आकर्षित गर्छ । होटल व्यवसायीहरु पलायन भएपनि पर्यटकहरुका लागि लक्षित गरेर घरघरबाट सेवा पु¥याउन होमस्टे उपयुक्त भएको उनले बताए । होमस्टेबाट स्थानीयको पनि आयआर्जन हुने हुँदा जीविकोपार्जनको राम्रो व्यवसाय पनि हुन सक्ने संरक्षण क्षेत्रले लक्ष्य लिएको छ ।
संरक्षण क्षेत्र आयोजनाले होमस्टेका लागि प्रतिघर २० हजार रुपैयाँ बराबरको सिरक, डस्ना, तकिया, सिरानी, चप्पल, डोरम्याट, डस्टविन, तौलिया, ह्याङ्गर, ऐना, रजिष्टर, एसट्रे, कार्पेटलगायतका सामग्री वितरण गरेको छ । उक्त सामग्री कालिञ्चोक गाउँपालिकाका उपप्रमुख कालिका पाठक र संरक्षण वन उपभोक्ता सञ्जाल दोलखाका अध्यक्ष रामचन्द्र खड्काले वितरण गरेका छन् ।
विगु गाँउपालिका–१ लामाबगर र गोंगर आयोजनाको ड्यामसाइट, पर्यटकीय केन्द्र लप्ची, रोल्वालिङको प्रस्थान विन्दु भएकोले पनि यो स्थानमा होमस्टेको व्यवस्थापन र प्रवद्धन आवश्यक रहेको आयोजनाको पर्यटन सहायक याङ्टी शेर्पाले बताइन् ।
संरक्षण क्षेत्रले अघिल्लो वर्ष पनि कालिञ्चोकका थामी समुदाय, मार्बू र चंखुका शेर्पा समुदाय, श्यामा र चुचुरेमा पनि होमस्टे निर्माण गरेको छ । त्यसभन्दा अघि विगू र सिमिगाउँमा समेत होमस्टे तयार गरी पर्यटकहरुलाई सेवा दिइरहेको छ । लामाबगरमा पनि शेर्पा समुदायको बाहुल्यता छ ।

प्रतिक्रिया दिनुहोस्