सम्झौता कार्यान्वयनबारे डा. केसीको प्रश्न «

सम्झौता कार्यान्वयनबारे डा. केसीको प्रश्न

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले १९ औं सत्याग्रह र त्यसअघिका सत्याग्रहका सम्झौता कार्यान्वयन नभएको भन्दै सम्बन्धित सबै पक्षलाई खबरदारी गर्न आग्रह गरेका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै डा. केसीले १९ औं सत्याग्रहमा भएको सम्झौताको पनि कार्यान्वयन प्रकृया कहाँ पुगेको छ भनेर प्रश्न गरेका छन् । १९ औं सत्याग्रहमा भएको सम्झौतामा केही तत्काल गरिहाल्नुपर्ने र अरु लामो समय लाग्ने तर काम सुरु गरिहाल्नु पर्ने बुँदाहरु भएकाले कार्यान्वयन प्रक्रियाबारे डा. केसीले चासो दिएका हुन् ।
डा. केसीले सरकारले यस अगाडि बारम्बार सम्झौता विपरीत काम गरेकाले सरकारलाई खबरदारी गर्नुको विकल्प नभएको बताएका छन् । साथै सम्झौता कार्यान्वयन भएमा मेडिकल शिक्षाको गुणस्तर कायम राख्ने दिशामा नेपालले ठूलो फड्को मार्ने डा. केसीको भनाइ छ । सरकारले स्वास्थ्य र शिक्षामा पनि व्यापार गरेर जनतालाई सेवा दिन कुनै चासो नदेखाएको आरोप लगाएका छन् ।
सम्झौता कार्यान्वयन नभए २० औं सत्याग्रह सुरु गर्ने चेतावनी डा. केसीले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्