चीनतर्फको नाका पूर्णरुपमा सञ्चालन गर्न माग «

चीनतर्फको नाका पूर्णरुपमा सञ्चालन गर्न माग


नेपाल चीन उद्योग वाणिज्य संघले चीनसँग जोडिएका दुईवटै व्यापारीक नाका तत्काल सहज रुपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरेको छ । तातोपानी र केरुङ नाका लामो समयदेखि आंशिक रुपमा सुरु हुने र रोकिने क्रम जारी रहेकाले तत्काल सुचारु हुने सहज वातावरण बनाउन संघले सरकारको ध्यानाकर्षण गराएको हो । संघका महासचिव विवेक पौडेलले बिहीबार एक विज्ञप्ती जारी गरेर लामो समयसम्म नाका पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायीहरुले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए ।
नाका निरन्तर सञ्चालन नहुँदा जाडो, गर्मीयाम तथा चाडबाड लक्षित गरी आयात गरिएका सामान ८–१० महिनादेखि नाकामा अलपत्र रहेको व्यवसायीले बताएका छन् । कतिपय खाद्य सामग्री तथा फलफुल विग्रिएको र म्याद सकिने अवस्थामा पुगिसकेको उनीहरुले बताएका छन् ।
नाका सुरु नभएका कारण व्यवसायीहरु टाट पल्टने अवस्थामा रहेको र विविध मानसिक चिन्ता एवं विचलन भइ आन्दोलित हुने अवस्थामा रहेको विज्ञप्तीमा उल्लेख छ । नाकामा रहेको अवरोधका कारण माल सामानहरु समयमा नेपाल ल्याइ बिक्री वितरण गर्न नसकेमा व्यवसाय नै धराशाय भइ पलायन हुनुपर्ने अवस्था रहेको संघले जनाएको छ ।
लामो समयदेखि हजारौं ट्रक मालसामानहरु नाकामा अलपत्र अवस्थामा रहेको र नाका सुचारु हुने अवस्था नदेखिएको हुँदा व्यापारीहरुले दुई देश वीच सडक मार्गबाट हुने व्यापारप्रति नकारात्मक टिप्पणी गर्न थालेको संघको ठहर छ । दुई देशबीच कायम रहेको पुरानो सुमधुर व्यापारिक सम्बन्धप्रति नकारात्मक टिप्पणी तथा आन्दोलित हुने वातावरण आउन नदिन संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
दसैं अगाडि नै नाका पूर्णरुपमा सुरु हुने भनिए पनि चिनियाँ पक्षले तातोपानी नाकाबाट दैनिक २–४ वटा ट्रकलाई मात्र नेपाल प्रवेशमा अनुमति दिने गरको छ । भन्सारलगायत सम्बन्धित निकायबाट नाका सञ्चालनका लागि प्रयास गरिए पनि चिनियाँ पक्षबाट कुनै ठोस जानकारी, कारण तथा सूचना नआउने गुनासो व्यवसायीले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्