क्षेत्रीय कारागार निर्माण सुस्त «

क्षेत्रीय कारागार निर्माण सुस्त

नेपालगन्ज-बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा बन्न लागेको क्षेत्रीय कारागार निर्माण कार्य सुस्त देखिएको छ । १० बिगाह क्षेत्रफलमा बन्न लागेको ३ हजार कैदीबन्दी क्षमताको कारागार निर्माण सम्झौताको दुईबर्ष विति सक्दा पाँच प्रतिशत मात्रै सकिएको हो ।
क्षेत्रीय कारागार निर्माणका लागि रसुवा/पप्पु कन्ट्रक्सन जेभीले २०७३ कार्तिक ८ गते ३८ करोड ६८ लाख ७९ हजार २ सय ८१ रूपैयाँमा ठेक्का लिएको थियो । तीन वर्षभित्र सम्पन्न हुनेगरी ठेक्का लिएपनी हालसम्म पाँचप्रतिशत मात्र प्रगति भएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना इकाई बाँकेले जनाएको छ ।
कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तिन सय जना बस्ने ब्यारेक, मुख्य कारागार भवन, प्रशासनीक भवन, भान्सा, आठ वटा जेल युनिट लगायत विभिन्न २५ वटा संरचना निर्माण हुनुपर्नेमा २ बर्षको अवधिमा ५ वटा भवन मात्र निर्माणाधिन अवस्थामा छन् ।
सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर होमनाथ भुसालले २५ मध्य २० पुर्वाधार निर्माणका काम शुरु नै नभएको बताए । “हालसम्म पाँच प्रतिशत मात्र भौतिक प्रगती भएको छ, अब एक वर्ष अवधिमा सबै संरचना निर्माण गर्न समस्या हुने देखिन्छ,” उनले भने । निर्माण कम्पनीले हाल दुई करोड बराबरको भौतिक प्रगति गरेको छ । कामको गति ज्यादै सुस्त भएकाले अहिलेसम्म निर्माण भएका संरचना पुर्णहुन पनी अझै केही समय लाग्ने हुँदा वाँकी संरचना समयमै सम्पन्न हुन नसक्ने बताईएको छ ।
यसबीचमा निर्माण कम्पनी रसुवा/पप्पु जेभीले २० प्रतिशत मोबिलाइजेसनवापत ७ करोड ६ लाख ३१ हजार रुपैयाँ लिइसकेको आयोजनाले जनाएको छ । त्यसैगरी जिल्लाको गनापुरमा निर्माणाधिन खुला कारागार पनी सञ्चालनमा आउन सकेको छैन । कारागार व्यवस्थापन विभागले १ करोड ४६ लाखको लागतमा सुरक्षा भवन निर्माण गरेपनी कारागार कहिले सञ्चालन हुने भन्नेबारे टुंगो लाग्न सकेको छैन । यी दुई कारागार निकै सुस्त गतिमा निर्माणाधिन अवस्थामा भईरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी भए पछि समस्या हुनेगरेको कारागार कार्यालय बाँकेले जनाएको छ ।
२५० पुरुष र ५० महिला गरी कुल तिनसय जना कैदीबन्दीे क्षमताको कारागारमा हाल ६ सय २० पुरुष र ६० महिला गरी कुल ६ सय ८० जना कैदीबन्दी रहेको कारागार कार्यालय बाँकेका जेलर श्यामलाल लामिछानेले बताए । ५३ जना भारतीय र दुई बंगलादेशीसहित ५५ जना गैरनेपाली समेत रहेको सो कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा खासगरी सुरक्षा चुनौती थपीनुका साथै शौचालय, बस्ने कोठा लगायतमा समस्या हुने गरेको उनको भनाई छ । क्षमताभन्दा बढी कैदीबन्दीलाई राख्नुपर्दा व्यवस्थापनमा निकै समस्या हुने गरेको उल्लेख गर्दै उनले भने, “ठाँउ अभावमा कैदीबन्दीका लागि स्वरोजगारमूलक कार्यक्रम गर्न सकिएको छैन ।”
क्षमताभन्दा धेरै जना एकै ठाँउमा बस्नुपर्दा निकै समस्या हुने गरेको कर्तब्य ज्यान मुद्धामा कारागारमा जेल सजाय भोगीरहेका भरत फडेराले बताए । साँघुरो भएका कारण विभिन्न समस्या हुने गरेको उनको भनाइ छ । वर्षांै पुरानो कारागारका भवन जीर्ण हुँुदै गएपछि सुरक्षा चुनौती थपीएको हो । नौबस्तामा निर्माणाधीन क्षेत्रिय कारागार र गनापुरमा निर्माणाधीन खुला कारागार निर्माण भएर सञ्चालनमा आएपछि यहाँका कैदीबन्दीलाई उनीहरूको अपराध प्रकृति हेरेर त्यहाँ स्थानान्तरण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्