आन्तरिक पर्यटकको रोजाइमा खप्तड र शुक्लाफाँटा «

आन्तरिक पर्यटकको रोजाइमा खप्तड र शुक्लाफाँटा

कोरोना कहरमै पर्यटन गतिविधि


धनगढी-नोबेल कोरोना भाइरसको महामारीकै बीच सुदूरपश्चिममा पर्यटन गतिविधिहरु सञ्चालन हुन थालेका छन् । खप्तड, शुक्लाफाँटा, चिसापानी, घोडाघोडीलगायतका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । कोरोनाको त्रासमै पर्यटकहरु सावधानी अपनाउँदै आउन थालेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।
नेपाल पर्यटन बोर्डले हालै गठन गरेको आन्तरिक पर्यटन पुनरुत्थान समितिको सुदूरपश्चिम प्रदेश संयोजक मायाप्रकाश भट्टले लकडाउनमा घरभित्रै बसेर उकुसमुकुस भएका थुप्रै मानिसहरुले घुमफिर गर्ने सोचमा रहेको बताए । तीमध्ये केही मानिसहरु घुरफिर गर्न थालेको उनले बताए ।
सुदूरपश्चिम घुमफिर गर्न रुचाउने मानिसहरु मध्ये अधिकांशको रोजाइमा खप्तड राष्ट्रिय निकुञ्ज परेको छ । संयोजक भट्टले धनगढीबाट दैनिक दुई÷तीन टोली खप्तड घुम्नका गइरहेको बताए । उनले बझाङ, बैतडी, डोटी र अछामबाट समेत टोलीहरु खप्तड घुम्न गइरहेको जनाकारीमा आएको बताए ।
सामान्य अवस्था जत्तिकै पर्यटकहरुको मुभमेन्ट नभएपनि फाटफुट रुपमा सुदूरपश्चिमका पर्यकीय क्षेत्रमा आन्तरिक पर्यटकहरु आइरहेका छन् । सबै भन्दा धेरै खप्तड र त्यसपछि शुक्लाफाँटामा पर्यटकहरुको मुभमेन्ट रहेको संयोजक भट्टले बताए ।
खप्तड र शुक्लाफाँटा नै नपुग्न सक्ने पर्यटकहरुका लागि चिसापानीमा सञ्चालन गरिएको जीपलाइन, घोडाघोडी तालमा बोठिङ, खानीडाँडामा सञ्चालन गरिएको एड्भेन्चर पार्कलगायतका गन्तव्य आकर्षक भएका छन् । स्थलमार्गबाट खप्तड जाने पर्यटकहरुका लागि बाटोमा पर्ने डडेल्धुराको उग्रतारा र डोटीको शैलेश्वरी पनि सहायक गन्तव्य भएका छन् ।
अन्य वर्षहरु जस्तै यसपाली पर्यटकहरु खप्तडमा नभएपनि पर्यटक आगमन शुन्य नभएको पर्यटन व्यवसायी किशोर खड्काले बताए । उनले प्रदेशभित्रैबाट र काठमाडौंबाट आएर मानिसहरु खप्तड भ्रमणमा गइरहेको बताए । पर्यटकहरु आउन थालेपछि स्थानीयमा कोरोना संक्रमणको त्रास बढेपनि स्वास्थ्य सावधान अपनाउँदै पर्यटकहरुको स्वागत भइरहेको व्यवसायी खड्काले बताए ।
कोरोना कहरकै कारण आफूले पर्यटकहरु सुदूरपश्चिम भ्रमणमा नबोलाएको संयोजक भट्टले बताए । नबोलउँदा पनि रहरले घुम्न आउने पर्यटकहरुलाई सावधानी अपनाउँदै भ्रमणका लागि पथ प्रदर्शन गरिरहेको उनले बताए । “हामीले भ्रमणका लागि आव्हान गरेका छैनौं,’ उनले भने, ‘तर भ्रमणमा आउने पर्यटकहरुलाई सावधानी अपनाउन आग्रह गरेर भ्रमण गर्ने सहज बाटो देखाइरहेका छौं, कतिपय भारतीय पर्यटकहरुले पनि पीसीआर गरेर आफ्नै सवारीसाधनमा भ्रमणमा जान्छौं भनिरहेका छन् तर तत्कालै उनीहरुलाई भ्रमण गराउन सक्ने सम्भावना छैन ।”

हवाई जहाज सुविधाले पर्यटक आकर्षित
धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका पाँच वटा विमानस्थलमा हवाई जहाज चल्न थालेपछि पनि खप्तड जाने पर्यटकहरुलाई सहज भएको छ । यसै महिनाबाट धनगढी विमानस्थलबाट बझाङ (चैनपुर–देवल), अछाम (साँफेबगर), डोटी (दिपायल), बाजुरा (कोल्टी) र बैतडी (पाटन) विमानस्थलसम्म हवाई सेवा सञ्चालनमा आएको छ । बझाङको चैनपुर–देवल र अछमको साँफेबर विमानस्थलका लागि धनगढीबाट दैनिक उडान भइरहेको छ । धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बझाङमा कुनै दिन दुई वटासम्म उडान भइरहेको बताए । उनले बझाङ र अछामका लागि यात्रु चाप बढिरहेको बताए ।
दिपायल र पाटनमा मंगलबार र शुक्रबार उडान भइरहेको छ भने कोल्टीमा हप्ताको तीन उडान भइरहेको प्रमुख थापाले बताए । उनले शुक्रबार (आज) धनगढीबाट रारा जाने पर्यटकका लागि हुल्लाको सिमिकोट विमानस्थलका लागि उडान सुरु गरिने जनाए । धनगढी विमानस्थलबाट समिट एयरले १८ सिटे एउटा जहाजबाट ती विमानस्थलहरुका लागि उडान भर्ने गरेको छ ।
पर्यटन व्यवसायी खड्काले धनगढी हुँदै खप्तड जाने पर्यटकका लागि धनगढी–बझाङ हवाई सेवाले सहज बनाएको बताए । उनले बझाङबाट खप्तड जाने बाटो सहज भएकाले पर्यटकहरुले धनगढी–बझाङ हवाई सेवा प्रयोग गरिरहेको बताए ।

पर्यटन प्याकेज बनाउँदै समिति
नेपाल पर्यटन बोर्डले हालै गठन गरेको आन्तरिक पर्यटन पुनरुत्थान समितिको सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिम भ्रमणको लागि प्याकेज बनाउन थालेको छ । यस वर्ष कोरोनाका कारण पर्यटन गतविधि गर्न नसकिने भएकाले डकुमेन्टेशनमा लागेको समितिका संयोजक भट्टले बताए ।
उनले सुदूरपश्चिम भ्रमणका लागि तीनदेखि नौं दिनको प्याकेज बनाउने काम भइरहेको बताए । “नयाँ प्याकेजअनुसार आउँदो तीन वर्ष (२०२१, २०२२ र २०२३) सम्पूर्ण नेपालीहरुले सुदूरपश्चिम भ्रमण गर्न सक्ने गरी तयारी गरिरहेका छौ,” संयोजक भट्टले भने, “यसका लागि हामीले पर्चा, पम्पलेट, ब्रोसरहरु पनि बनाइरहेका छौं, यस वर्ष हामीले पूर्णरुपमा तयारी गर्छौ । कोरोना सकिएपछि हामीले देशबासीहरुलाई सुदूरपश्चिम भ्रमणका लागि आह्वान गर्छौं ।”

प्रतिक्रिया दिनुहोस्