चामल हिनामिना प्रकरणमा छानबिन शुरु «

चामल हिनामिना प्रकरणमा छानबिन शुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतबाट मुगु पठाएको चामल भक्तपुरमा पठाएको विषयमा छानबिन गर्नका लागि टोली गठन गरेको छ । कम्पनीले खरिद विभाग प्रमुख डिल्ली लम्सालको नेतृत्वमा छानबिन टोली गठन गरिएको हो । टोलीले एक हप्ताभित्र अध्ययन गरेर प्रतिवेदन पेश गर्ने छ । ठेकेदारले सुर्खेतबाट मुगु पठाउने पर्ने चामल भक्तपुरमा पठाएको फेला परेपछि त्यसको विषयमा थप छानबिन गर्नका लागि टोली गठन गरिएको कम्पनीले जानकारी दिएको छ । यस विषयमा छानविन गर्नका लागि कर्णाली प्रदेश सरकारले समेत समिति गठन गरेर छानबिन सुरु गरिसकेको छ । गत बिहीबार ना ६ ख ५७२१ नम्बरको ट्रकमा रहेको २ सय ५० क्विन्टल चामल आपूर्तिकर्ता वासुदेव शर्माले भक्तपुर पठाउन लागेको फेला परेको थियो । ठेकेदारलाई प्रहरीले प्रक्राउ गरिसकेको छ । उनी दुर्गा भगवती इन्टरप्राइजेज र शर्मा निर्माण सेवाका प्रोप्राइटर हुन । शर्मा निर्माण सेवा खाद्य कम्पनीको खाद्यान्न आपूर्तिकर्ता फर्म हो । त्यही फर्मको नाममा कम्पनीबाट उठाएको चामल इन्टरप्राइजेजमार्फत भक्तपुरको अजय खाद्यान्न सप्लायर्सलाई पठाउन लागेको बाटोमा फेला परेपछि चामल बेकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कम्पनीको सुर्खेतस्थित शाखा कार्यालयका अनुसार शर्मा निर्माण सेवाले चालू आर्थिक वर्षमा मुगुको कालैमा ३ हजार क्विन्टल, सोरुकोट, पुलु र कालीकोटको थिर्पुमा एकरएक हजार क्विन्टल तथा दैलेखको चामुण्डा र ठाँटीकाँधमा ५÷५ सय क्विन्टल चामल ढुवानी गर्ने सम्झौता गरेको थियो । कम्पनीसँग असोज १६ गते भएको सम्झौताअनुसार शर्माले जापानी चामल १ हजार क्विन्टल र अरुवा मोटा चामल १ सय क्विन्टल उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्