पूर्वीय दर्शनमा नेपाली संस्कार र अर्थतन्त्र «

पूर्वीय दर्शनमा नेपाली संस्कार र अर्थतन्त्र

देशको अर्थतन्त्रको विकासमा सामाजिक संस्कार, खानपिन तथा आहार–विहारले पनि त्यत्तिकै प्रभाव पार्ने गरेको छ ।

जीवन र जगत्सम्बन्धी सत्य तथा सामाजिक चेतनाको रूप वा सामाजिक उपयोगितामा आधारित मूल्यको खोज नै दर्शन हो । कौटिल्यद्वारा आन्विक्षिकीलाई विद्याका बलाबल पक्षलाई युक्तिपूर्वक विवेचना गरी लोकको उपकार गर्ने, बुद्धिलाई सुख र दुःखबाट माथि उठाई स्थिर बनाउने र प्रज्ञालाई चिन्तन मननका निम्ति सक्षम बनाउने विद्या भनी चिनाएको छ । त्यसैगरी ग्रिसेली दार्शनिक पाइथागोरसद्वारा फिलोस (प्रेम) र सोफिया (विवेक) शब्दको योग गरी दर्शनलाई विद्याप्रतिको अनुरागका अर्थमा परिभाषा गरिएको छ । सुकरातले पनि दर्शनलाई सत्य र ज्ञानका रूपमा परिभाषित गरेको र दर्शनलाई जीवनमा आइपर्ने जटिलता र समस्याहरूको समाधान निकाल्ने बाटोका रूपमा मानेका छन् । प्लेटोले दर्शनलाई वस्तुहरूको प्रकृतिका बारेमा ज्ञान प्राप्त गर्ने प्रक्रिया भनी अथ्र्याएकोे छ । यसमा पनि पूर्वीय दर्शनले आत्मिक सुख, आशीर्वचन, अरूको भलो गर, आत्मानुशासन, आफैंभित्र संसार खोज्ने अभ्यास गर्नु र न्याय र समानता जस्ता आधारभूत पक्षलाई समेटेको छ । पूर्वीय दर्शनमा पनि साङ्ख्य दर्शन, योग दर्शन न्याय दर्शन, वैश्यसिक दर्शन, मीमांस दर्शन, वेदान्त दर्शन, जैन दर्शनजस्ता दर्शनहरू रहेका छन् । पूर्वीय दर्शन नेपाली संस्कार र संस्कृतिको द्योतकका रूपमा रहिआएको छ ।
नेपालको संस्कृतिको विकासमा गोपालवंश, महिषपाल, किराँतकाल, लिच्छवि, मल्लकालदेखि आधुनिककालसम्म आइपुग्दा विभिन्न उतारचढाव हुदै आएको छ । इसाको पहिलो इतिहासदेखि नवौँ इतिहासमा लिच्छविकालीन शासनको उपज नै नेपाली समाजको संरचना हो । त्यसबेला नेपालमा जातीय व्यवस्थाको ऐतिहासिक जग बसेको थियो । लिच्छविकालमा केन्द्रदेखि ग्रामसम्मको प्रशासनिक व्यवस्था गरेको र हिन्दू तथा बौद्ध धर्म तथा दर्शनमा आधारित सांस्कृतिक एवम् सामाजिक संरचना, लिच्छवि लिपि र संस्कृत भाषा, धार्मिक सहिष्णुतासाथै विभिन्न प्रथा, चाडपर्वजस्ता प्रमुख सांस्कृतिक मूल्य र मान्यता हुन् । नवौँ शताब्दीदेखि अठारौँ शताब्दीसम्म मल्लले शासन गरेका थिए । राजा जयस्थिति मल्लले कामअनुसार जातमा विभाजन गरी सामाजिक सुधार गरेका थिए । जातीय विविधता, मुसलमानहरूको आक्रमण र अन्य विभिन्न कारणले गर्दा त्यसबेलाको सामाजिक संरचना एवं सांस्कृतिक मूल्य–मान्यतामा केही जटिलता थियो । परम्परादेखि स्थापित सांस्कृतिक मूल्य–मान्यतालाई जीवन्त राख्न तत्कालीन राजाहरूले सामाजिक सुधार गरेका थिए ।
एकीकरणको समयमा सामाजिक, सांस्कृतिक क्षेत्रमा त्यति सुधार हुन नसके पनि खस र संस्कृत भाषा, देवानगरी लिपिको प्रयोग, दास प्रथा, सती प्रथाजस्ता सांस्कृतिक विकृति तथा परम्पराहरूको अन्त्य भयो । त्यतिबेला वर्ण तथा जाति व्यवस्थालाई प्राथमिकता दिइन्थ्यो । मुलुक सबैको साझा बगैचा हो भन्ने कुरामा जोड दिएका थिए । वि.सं. १९१० मा राणा प्रधानमन्त्री जंगबहादुर राणाले पहिलो मुलुकी ऐन जारी गरे । त्यसमा जातजातिलाई तागाधारी, मतवाली र छोइछिटो हाल्नुपर्ने गरी वर्गीकरण भएको थियो र राणाकालमा सती प्रथाको पूर्ण रूपमा अन्त्य भएको थियो । तत्पश्चात वि.सं. २००७ मा प्रजातान्त्रिक शासन व्यवस्थाको स्थापना भयो । यस परिवर्तनले देशमा सामाजिक, सांस्कृतिक, धार्मिक क्षेत्रमा नयाँ परिवर्तन आयो भने वि.सं. २०२० मा नयाँ मुलुकी ऐन जारी भयो । त्यसैगरी वि.सं. २०४७ सालको प्रजातन्त्रको पुनःस्थापना र संविधान, २०६३ सालको राजनीतिक परिवर्तनले देशमा शान्ति–सम्झौता भई अन्तरिम संविधान आयो भने २०७२ मा आएर नेपालको नयाँ संविधानमा जारी भएको छ, जसले संघीय शासन व्यवस्थाको जग बसाएको छ । यही संंविधानलाई टेकेर हालै भदौ १ बाट भएको मुलुकी संहिताले नेपालको सामाजिक रूपान्तरणका लागि ठोस कार्य गर्ने आशा गर्न सकिन्छ ।
नेपालमा जातजाति, जनजातिहरूले आफ्नो मौलिक एवम् विशिष्ट संस्कृतिलाई जीवन्त बनाएका छन् । हिन्दू धर्म तथा दर्शनबाट निर्देशित सामाजिक, सांस्कृतिक बहुलताभित्र पाइने सद्भाव, प्राचीनकालदेखि सांस्कृतिक तादम्यता, जाति तथा वर्ण व्यवस्थामा आधारित सांस्कृतिक परम्परा, विविध जातजातिका आ–आफ्नै संस्कार, कला तथा वास्तुकलाको भण्डार, पितृ सत्तात्मक सामाजिक, सांस्कृतिक स्वरूप आदि जस्ता पक्षलाई नेपाली संस्कृतिको प्रमुख विशेषता मानिन्छ । नेपालको संस्कृतिमा पूर्वीय दर्शनले स्थापित गरेका मूल्य–मान्यताहरूको प्रभाव उल्लेखनीय छ । परमात्मा, जीवात्मा तथा जगत् तत्व पूर्वीय दर्शनको महत्वपूर्ण पक्ष हो, जसलाई नेपाली संस्कार र संस्कृतिको समेत आधार मान्ने गरिन्छ । नेपाली संस्कृतिमा स्वर्ग तथा नरक सम्बन्धित धारणा व्यापक रूपमा छ । जुनसुकै जातजाति, जनजाति समुदायले आफूले यस जन्ममा गरेको कर्मले भोलिको स्थान तय गर्छन् भन्ने जनविश्वास छ । जीवनले मोक्ष प्राप्त नगरुन्जेल निरन्तर कुनै न कुनै रूपमा आत्माले जन्म लिइरहन्छ भन्ने विश्वास छ । धर्म, अर्थ र काम कुशलतापूर्वक सम्पादन गरेमा मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास नेपाली संस्कृतिमा छ । नेपाली संस्कृति लोकजीवनमा पनि आधारित छ । त्यसैले साहित्य, संगीत, कला लोकसंस्कृतिको मूल स्रोतका रूपमा नेपाली संस्कृतिलाई लिइन्छ । नेपाली संस्कृतिका मूल स्रोत हिन्दू धर्म र दर्शन हो । नेपाली जनजातिका मौलिक संस्कृति र परम्परा यस मुलुकका सांस्कृतिक सम्पदा हुन् । वैदिक सनातनका मूल्य–मान्यता र परम्परा नेपालमा मार्गदर्शक सिद्धान्त बन्दै आएका छन् । नेपालमा बसोबास गर्ने प्रत्येक जातजाति समुदायमा कुनै न कुनै रूपमा पूर्वीय दर्शनको प्रभाव परेको छ । नेपाली संस्कृतिमा हिन्दू धर्म र दर्शनअनुसार स्थापित धारणा स्वीकार गरिएको छ । देव ऋण, ऋषि ऋण र पितृ ऋणबाट जन्मनासाथ ऋणी हुन्छ । यी ऋण मोचनपछि मात्र मोक्ष प्राप्ति हुन्छ भन्ने मान्यता नेपाली संस्कृतिले अद्यपि स्वीकार गरेको छ ।
हिन्दू धर्म र दर्शनमा स्थापित मान्यताअनुसार ब्रह्मयज्ञ, देवयज्ञ, पितृयज्ञ र भूतयज्ञ यी पाँच यज्ञ सम्पन्न गरेपछि मात्र मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । संस्कारगत कार्य नगरी परिवार, कुल कुटुम्ब शुद्ध नहुने, व्यक्तिको शारीरिक, बौद्धिक एवम् मानसिक विकास नहुने उल्लेख छ । धर्मप्रति विश्वास गर्नु र सबै धार्मिक सम्प्रदायलाई समान रूपमा महत्व दिनु हिन्दू धर्म र दर्शनले स्वीकार गरेको छ । हिन्दू धर्म एवं दर्शनले स्थापित गरेको महत्वपूर्ण पक्ष पञ्चभौतिक तत्वसम्बन्धी अवधारणा हो । अग्नि, जल, वायु, पृथ्वी र आकाशलाई पञ्चभौतिक तत्व मानिन्छ । यी पञ्च तत्वलाई नेपाली समुदायमा कुनै न कुनै रूपमा स्वीकार गरी श्राद्ध, भक्ति, अर्पण गर्ने परम्परा रहेको पाइन्छ । सृष्टि तथा प्रलयसम्बन्धी अवधारणा नेपाली संस्कृतिमा परम्परादेखि स्थापित मान्यता हो । ज्योतिष विज्ञान, पञ्चांग विज्ञान, नीति विज्ञान, कालगणना हिन्दू धर्म र दर्शनले स्थापित गरेका सांस्कृतिक मूल्य मान्यता हुन् । बुद्ध दर्शनले पनि मानव कर्मलाई स्पष्ट उल्लेख गरेको छ । धार्मिक सहिष्णुता नेपाली संस्कृतिको महत्वपूर्ण विशेषता हो । कर्म मार्ग, ज्ञान मार्ग, भक्ति मार्ग र योग मार्ग ईश्वरसमक्ष पुग्ने वा मोक्ष प्राप्तिको महत्वपूर्ण पक्षका रूपमा हिन्दू धर्मशास्त्रहरूले अगाडि सारेको मान्यता हो ।
पूर्वीय दर्शनकै कारण नेपालमा चिन्तन सांस्कृतिक परम्परा र समुच्च जीवन प्रणाली, धार्मिक आस्था, विश्वास र निष्ठाजस्ता कार्यहरू प्रभावित रहँदै आएको छ । पूर्वीय परम्परामा धर्म, दर्शन र संस्कृतिबीच अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । संस्कृतिले हाम्रा मौलिक, धार्मिक परम्परा, चाडपर्व, सामाजिक, सांस्कृतिक संघ, संगठन, भाषा, नृत्य, संगीत, वाद्यवादन, कला, वास्तुकला, धामीझाँक्री परम्परा, भूतप्रेत, चिकित्सा प्रणाली, आस्था, व्यवहार, प्रचलित जनश्रुति, किंवदन्ती, काव्य, नाट्य, कथा र इतिहासजस्ता सन्दर्भलाई बुझाउँछ । हाम्रो रहनसहन, खानपान, गरगहना, वाद्यवादन, मठमन्दिर, पाटीपौवा, गुम्बा, स्तूप, दरबारजस्ता मूर्त सांस्कृतिक सम्पदाका साथै भाषा, साहित्य, संगीत, कला र सामाजिक व्यवहार हाम्रा सांस्कृतिक धरोहर हुन् । यी सम्पदाका आधारमा हाम्रो जातजातिको पहिचान स्थापित भएको छ । पूर्वीय दर्शनकै कारणले नेपाली समाज र सस्कृतिको संरक्षण र संवद्र्धन गर्ने कार्यमा सहयोग पुगेकाले यसको महत्व र सान्दर्भिकता अझै कायमै छ । तर, नेपालमा पश्चिमी संस्कृतिको नाममा मौलाउँदै आएका विकृतिहरू हटाउँदै राम्रा र अनुसरणयोग्य संस्कार र संस्कृतिलाई निरन्तरता दिने कार्यमा सबैको ध्यान जानु आवश्यक छ । यसका साथै देशको अर्थतन्त्रको विकासमा सामाजिक संस्कार, खानपिन तथा आहार–विहारले पनि त्यत्तिकै प्रभाव पार्ने गरेको छ ।
(लेखक रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन् ।)

प्रतिक्रिया दिनुहोस्