प्राविधिक शिक्षामा लगानी «

प्राविधिक शिक्षामा लगानी

सरकारले विद्यालय तहमै प्राविधिक शिक्षा विस्तार गर्नका लागि थप लगानी बढाउनु स्वागतयोग्य कुरा हो ।

देशको शिक्षा पद्धति व्यवहारोपयोगी नभएको बारम्बार चर्चा हुने गरेको छ । हालको शिक्षा प्रणालीले देशमा शिक्षित बेरोजगारको संख्या बढाउने काम गरेकोमा सायदै दुईमत होला । शिक्षाक्षेत्र सुधारका लागि दशकौंअघिदेखि विश्व बैंक, एसियाली विकास बैंकलगायतका दातृ संस्थाहरूको सहयोगमा सुधार कार्यक्रम सञ्चालन गरिँदै आएको भए पनि त्यसले अहिलेसम्म लक्षित प्रतिफल भने दिन सकेको देखिँदैन । यसका पछाडि हामीले अवलम्बन गर्दै आएको पाठ्यक्रमदेखि समग्र शिक्षा पद्धतिमा नै बृहत्तर पुनर्संरचनाको खाँचो भएको देखिन्छ । शिक्षालाई हामीले जीवनपद्धति, रोजगार र बजारको मागसँग कहिल्यै जोड्न सकेनौँ । विभिन्न समयकालमा शैक्षिक पाठ्यक्रम बारम्बार परिवर्तन गरिए पनि त्यसले रोजगारी प्रवद्र्धनमा खासै योगदान दिन सकेको देखिएन । सोही कारण पनि हातमा सटिर्फिकेट लिएर रोजगारी बजारमा उत्रने उम्मेदवारहरू कम प्रतिस्पर्धात्मक क्षमता भएका हुने गरेका छन् । लोकसेवा आयोगले माग्ने सरकारी विज्ञापनहरूमा कैयौं गुणा बढी आवेदन परे पनि प्रतिस्पर्धात्मक आधारमा उत्तीर्ण हुनेहरूको संख्या भने निकै कम रहने गरेको छ । यस्ता शैक्षिक बेरोजगारहरू आन्तरिक बजारमा प्रतिस्पर्धा गर्न नसकेकै कारण रोजगारीको खोजीमा बिदेसिन बाध्य छन्, तर विदेशको श्रमबजारमा पनि अदक्ष र अर्धदक्ष कामदारका रूपमा खटिनुपर्दा उनीहरूको औसत आय समान शैक्षिक योग्यता भएका अन्य देशका कामदारभन्दा निकै कम हुने गरेको छ । त्यसैले पनि अब हामीले कुन स्तरका जनशक्ति उत्पादन गर्ने हो भन्ने विषयमा स्पष्ट राष्ट्रिय नीति नै तर्जुमा गरी सोहीअनुसार देशको शैक्षिक प्रणालीलाई पुनर्संरचित गर्नुपर्ने खाँचो बढेको छ ।
वास्तवमा योग्य जनशक्ति उत्पादनको विषयमा हाम्रा राष्ट्रिय नीतिहरू नै अस्पष्ट र दिशाविहीन भएका कारण अहिलेको अवस्था उत्पन्न भएको हो । हाम्रो शिक्षा नीतिले योग्य र स्वरोजगारमूलक शिक्षा प्राप्त गरी बजारमा प्रतिस्पर्धी जनशक्ति उपलब्ध हुने खालको रोजगारीसँग आबद्ध भएको पाठ्यक्रमलाई प्रवद्र्धन गर्न सकेको छैन । २०२८ सालदेखि पटक–पटक पाठ्यक्रम परिवर्तन गरिँदा विगतका व्यवहारोपयोगी, रोजगारीमूलक विषयहरूलाई उल्टै पाठ्यक्रमबाट झिक्ने काम गरियो । अहिले पनि गणितलाई त्यसैगरी पाठ्यक्रमबाट झिक्ने प्रस्ताव अगाडि सारिएको छ, जबकि गणित शिक्षा विद्यार्थीहरूमाथि बोझ नभइ उनीहरूको भविष्यमा योग्यता निर्धारण गर्ने अत्यावश्यक विषयहरूमध्ये हो । हाम्रो परम्परागत घोकन्ते शिक्षा पद्धतिका कारण यस्ता विषयहरूलाई अनावश्यक मानिएको हो भने सिकाइ र शिक्षण पद्धतिलाई आधुनिक र व्यावहारिक बनाउनुपर्छ । कुनै पनि विषय पाठ्यक्रमबाट झिक्नु व्यावहारिक समाधान हुँदै होइन ।
सबैभन्दा गहन सवाल प्राविधिक तथा व्यवसायिक शिक्षाका सन्दर्भमा रहँदै आएको छ । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई अतिरिक्त वा पूरक शिक्षाका रूपमा बुझिएको अवस्था छ, जबकि विकसित मुलुकहरूमा समेत यसलाई विद्यालयको पाठ्यक्रमसँगै आबद्ध गरेर लगेको पाइन्छ, जसले ती मुलुकहरूबाट उत्पादित जनशक्तिको कहिल्यै बेरोजगार नबस्नुपर्ने अवस्था आउँछ । आफ्नै हातमा सीप र पर्याप्त व्यावसायिक ज्ञान बोकेर उच्च माध्यमिक तहदेखि विश्वविद्यालयसम्म अध्ययन गरेर निस्केको जनशक्तिले कतै जागिर पाएन भने पनि आफंै स्वरोजगार भई सम्मानजनक जीवनयापन गर्न सक्छ । यसै सिलसिलामा सरकारले विद्यालय तहमै प्राविधिक शिक्षा विस्तार गर्नका लागि थप लगानी बढाउनु स्वागतयोग्य कुरा हो । यसअन्तर्गत ग्रामीण क्षेत्रका थप २ सय ७७ सामुदायिक विद्यालयमा चालू आर्थिक वर्षबाटै प्राविधिक शिक्षा सुरु हुँदैछ । विद्यालय तहमा प्राविधिक शिक्षा सुरु हुनु मात्र महत्वपूर्ण कुरा होइन, यसलाई अब विश्वविद्यालयको पाठ्यक्रमसँग पनि आबद्ध गराएर मान्यता दिनु अपरिहार्य भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्