नर्वेका नागरिकले विद्युत खपत गरे बापत पैसा पाउने

ओश्लो-नर्वेका केही भू–भागमा विद्युतको मूल्य इतिहासमै दोस्रो पटक झन्डै शून्य भन्दा तल झरेको छ । मूल्य ऋणात्मक भएकाले दक्षिणी नर्वेमा विद्युत प्रयोग गरे बापत उल्टै पैसा पाउने भएका छन् ।
ओश्लो र क्रिश्टिन्सान्डभित्र र वरपर सोमबारको सुरु ४ घन्टाको अवधिमा ऋणात्मक भएको थियो ।
नर्वेमा विद्युतको मूल्य शून्य तल झरेको यो इतिहासक दोस्रो पटक हो । जुलाईको सुरुमा नर्वेमा विद्युतको मूल्य १ घन्टाका लागि ऋणात्मक भएको थियो ।
त्यतीेबेला हिमाली क्षेत्रमा भारी मात्राम हिउ परेको, सीमित मात्रामा निर्यात र गृष्मकालिन समय सुरु भएकाले अहिलेसम्मकै पहिलो पटक ऋणात्मक मूल्य कायम भएको हो ।
सोमबारदेखिको पछिल्लो ऋणात्मक मूल्यका पछाडि भारी वर्षा र हुरी बतासका साथै स्वीडेनबाट उच्च मात्रामा परमाणु उर्जाको आयातले भएको ई–२४ का विश्लेषकहरुले बताएका छन् । सामान्य भन्दा उच्च तापक्रम भएकाले पनि दक्षिणी नर्वेमा न्यून उर्जाको माग भएको हो ।
नर्डिक मुलुकहरुमा हिउदको समय आएसँगै विद्युतको माग पनि बढ्ने अपेक्षा गरिएको विज्ञहरुले बताएका छन् ।
पश्चिमी युरोपकै ठूलो तेल र ग्यास उत्पादक नर्वेले धेरैजसो विद्युत जलविद्युतबाट उत्पादन गर्ने गर्छ ।
नर्वेजियन कम्पनी स्टाटक्राफ्टका अनुसार नर्वेको समग्र उर्जाको ९९ प्रतिशत जलविद्युतले ओगटेको छ ।
विश्वव्यापी कुल विद्युत उत्पादनको ६ भागको १ भाग जलविद्युतको रहेको स्टाटक्राफ्टले जनाएको छ ।
स्ट्याटिक्स नर्वेका अनुसार यो मुलुकमा २०२० को सेप्टेम्बरमा विद्युत उत्पादनको ९१.२ प्रतिशत जलविद्युतको रहेको थियो । त्यसपछि ७.१ प्रतिशत वायु उर्जा र १.६ प्रतिशत थर्मल उर्जाको थियो ।