गुणस्तरको कसीमा नेपाली चलचित्र

पछिल्लो समय केही पृथक् धारका चलचित्रहरूको निर्माण हुँदै गएको र केही हदसम्म ती सफल भएका पनि देखिन्छन् ।
वि.सं. २००७ मा नेपाली भाषामा पहिलो पटक ‘सत्यहरिश्चन्द्र’ नामक चलचित्र निर्माण भयो, जुन २००८ मा भारतको कलकत्तामा प्रदर्शन भएको थियो । २०२१ सालमा बनेको चलचित्र आमा नेपालमा बनेको पहिलो नेपाली चलचित्र थियो जुन सरकार आफंैले निर्माण गरेको थियो । निजी क्षेत्रबाट त्यसको एक वर्षपछि ‘माइतीघर’ नामक चलचित्र बनेको इतिहास छ । समीक्षकहरू यी चलचित्रलाई त्यस हिसाबले पहिला चलचित्रका रूपमा मात्र सम्झिँदैनन, बरु तत्कालीन अवस्थाका सफल चलचित्रकै रूपमा लिने गरेको पाइन्छ । नेपाली चलचित्रको करिब सात दशक लामो इतिहासमा कति संख्यामा चलचित्रहरू बने अनि के–कति चलचित्र सफल भए वा के–कति चलचित्र असफल भए, के–कति चलचित्र मनोरञ्जनात्मक थिए वा के–कति चलचित्र सन्देशमूलक थिए भन्ने अलग–अलग तथ्यांक न त सरकारसँग छ, न त चलचित्रकर्मीहरूसँग नै ।
नेपालमा अहिले वार्षिक २ सयभन्दा बढी नेपाली चलचित्र निर्माण भैरहेका छन् । चलचित्रकर्मीहरूका अनुसार तीमध्ये ५ प्रतिशत मात्र चलचित्र मात्र व्यावसायिक रूपमा सफल हुन्छन् भने १० प्रतिशतजति चलचित्रहरूले आफ्नो लगानी उठाउन सफल छन् । बाँकी चलचित्रहरू व्यावसायिक रूपमा लगानी उठाउन असफल हुन्छन् । पछिल्लो समय केही पृथक् धारका चलचित्रहरूको निर्माण हुँदै गएको र केही हदसम्म ती सफल भएका पनि देखिन्छन् । केही चलचित्र आर्थिक हिसाबमा असफल भएका भए पनि चलचित्रका अन्य प्राविधिक पक्षहरूमा भने केही हदसम्म सफल भएको देखिन्छ । केही चलचित्र सामाजिक–सांस्कृतिक हिसाबले राम्रो मानिएका छन् भने केही चलचित्र घटनाविशेषका हिसाबले स्मरणीय पनि देखिन्छन् । आखिर यतिका चलचित्र बन्ने तर सफल नहुनुको कारण के हो ? यसको लेखाजोखा वा समीक्षा गर्न न चलचित्र विकास बोर्डले आवश्यक ठानेको देखिन्छ, न स्वयं चलचित्रकर्मीहरू नै यसमा संवेदनशील भएको देखिन्छ । यस लेखमा एउटा सफल चलचित्रका लागि आवश्यक पर्ने विभिन्न पक्षमा नेपाली चलचित्रको अवस्थाका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
कथा : एउटा चलचित्र सफल बन्नका लागि चलचित्रको कथा वा विषयवस्तु राम्रो हुनुपर्छ । चलचित्रमा समाज प्रतिविम्वित हुन सक्यो भने मात्र त्यस्तो चलचित्र दर्शकका लागि रोजाइमा पर्न सक्छ । उठान गर्न खोजिएको विषय विश्वसनीय छ कि छैन दर्शकलाई मनोरन्जन दिन वा कुनै विशेष सन्देश दिन सक्छ वा सक्दैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । चलचित्र हेरेपछि त्यसको कथावस्तुले दर्शकको जीवनमा सकारात्मक प्रभाव पार्न सक्यो भने नै त्यो चलचित्र सफल बन्न सक्छ ।
निर्देशक : निर्देशकले चलचित्रमार्फत नयाँ सिर्जना दिन सक्नुपर्छ । कथाको केन्द्रीय भाव, पात्रको उचित छनोट, संलग्न पक्षहरूको क्षमताको भरपुर उपयोग गर्न सकेन भने जस्तोसुकै कथा, कलाकार भए पनि चलचित्र सफल हुन सक्दैन । कथालाई आवश्यकताभन्दा छिटो वा ढिलो निष्कर्षमा पुराइयो भने न कथामाथिको न्याय हुन्छ, न त दर्शकको मन छुन नै सकिन्छ । कथाको उठान जति महत्वपूर्ण हुन्छ त्यति नै कथालाई निष्कर्षमा पुराउनु पनि । निर्देशक सबै प्राविधिक पक्षमा दक्खल राख्ने हुनुपर्छ भन्ने हुँदैन, तर उसले अरूको दक्षताको उपयोग गर्नचाहिँ चनाखो हुनैपर्छ ।
पात्र छनोट : कथाको मर्म र भावनालाई न्याय दिन सक्ने पात्र वा कलाकारको छनोट गर्न सक्नुपर्छ । यसमा निर्माता निर्देशकको अहम भूमिका रहन्छ । पात्र त उचित छानियो तर निर्देशकले कलाकारको कलाकारिता क्षमताको उचित प्रयोग गर्न सकेन भने चलचित्र सफल बन्न सक्दैन ।
छायांकन : चलचित्रमा छायांकन पक्षको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । छायांकनमा प्रयोग हुने साधनहरूको गुणस्तर, संलग्न प्राविधिकहरूको दक्षता र क्षमता जति महत्वपूर्ण हुन्छ त्यति नै कथाअनुसारको छायांकन स्थान छनोटको । एउटा गरिब किसानको कथामा आधारित चलचित्र मुख्य सहरको भित्री भागमा छायांकन गरियो भने त्यसले वास्तविकता आत्मसाथ गर्न नसक्ने मात्र होइन कथा तथा दर्शकलाई समेत न्याय दिन सक्दैन ।
संगीत : संगीत चलचित्रको आधारभूत पक्ष हो । संगीतलाई कथाको लयअनुसार प्रयोग गर्न सकियो भने मात्रै राम्रो चलचित्रका लागि सुनमा सुगन्ध बन्न सक्छ । गीत–संगीतलाई कथाको मागमा आधारित बनाउन सक्नुपर्छ । यसलाई कथाको स्क्रिप्टसँग तालमेल गराउने तर्फ संवेदनशील हुनुपर्छ ।
कलाकार : कथालाई जीवन्तता दिने मुख्य भूमिका कलाकारको हो । कलाकारले कथालाई न्याय दिन सक्नुपर्छ । कथाले कलाकार माग गर्नुपर्छ न कि कलाकारले कथाको माग । चलचित्रका प्राविधिक पक्षमा ज्ञान भएको कलाकारले नै दर्शकको मन छुन सक्छ, न कि लगानीमा छनोट हुने पात्रले । कथावस्तुको लयअनुसारको हाउभाउ, लवज, संवाद प्रस्तुत गर्न सक्नुपर्छ । एउटा कलाकारको प्रस्तुति दर्शकका लागि विश्वसनीय पनि हुन सक्नुपर्छ । दर्शकले कलाकारबाट चलचित्रलाई सम्झिन सक्यो भने मात्रै कलाकार सफल बन्न सक्छ ।
संवाद : संवादहरू आवश्यकतामा आधारित छन्/छैनन्, संवाद गर्ने कलाकारमा कलाकारिताको गुण छ/छैन, कथावस्तुअनुसार संवाद मिलाइएको छ/छैन, घटना विशेषलाई संवादले सम्बोधन गर्न सकेको छ/छैन भन्ने कुराले चलचित्रको सफलता असफलता निर्धारण गर्छ ।
प्रविधि : चलचित्रमा कस्तो प्रविधिको प्रयोग भएको छ भन्ने कुरामा यसको गुणस्तर निर्धारण हुन्छ । क्यामरा, रेकडिङ, आवश्यकताअनुसार ड्रोनहरूको प्रयोग, सम्पादन, साउन्ड तथा लाइट सिस्टमजस्ता प्रविधिको गुणस्तरले चलचित्रको गुणस्तर निर्धारण गर्ने भएकाले प्रविधिको प्रयोगमा विशेष चनाखो हुन जरुरी देखिन्छ ।
मार्केटिङ : चलचित्र निर्माणपश्चात् चलचित्र दर्शकमाझ पुराउन वा दर्शकलाई चलचित्र घरसम्म जाऊँ–जाऊँ बनाउन सक्ने गरी चलचित्रको मार्केटिङ पनि गर्न सक्नुपर्छ । दर्शक यसै हलसम्म जाँदैन, उसले चलचित्रका लागि खर्च गर्नुअगाडि त्यसका बारेमा जानकारी लिएर उपयुक्त देखे मात्र हलसम्म पुग्छ । मार्केटिङका नाममा दर्शकलाई भ्रम छर्नु पनि हुँदैन । यसले भविष्यमा नकारात्मक प्रभाव अवश्य पार्छ ।
नेपाली चलचित्र कहाँ : चलचित्रकर्मीहरूकै भनाइलाई मान्ने हो भने ८५ प्रतिशत चलचित्रले आफ्नो लगानी उठाउन सकेका छैनन् । फेरि पनि चलचित्र निर्माण गर्ने होडबाजी किन चलिरहेको छ त ? जुन लगानीले प्रतिफल दिँदैन, त्यो लगानीलाई अर्थशास्त्रको भाषामा के लगानी मान्नु । कुनै अमुक चलचित्रले पाएको सफलताको पछि लागेर चलचित्र बनाउनेहरूको पनि कमी छैन नेपालमा । चलचित्र बनाएर निर्माता, निर्देशक, कलाकार बन्ने होड पनि देखिन्छ; अर्थात् पैसाले निर्माता, निर्देशक, कलाकार बन्ने बनाउने प्रवृत्ति उत्तिकै हाबी देखिन्छ । अझ भन्ने हो भने चलचित्र पैसा हुनेका लागि सोखको विषय बनेझैं लाग्छ । नेपाली चलचित्रलाई कुनै बखत आरोप लाग्ने गथ्र्याे कि भारतीय चलचित्रको नेपाली रूपान्तरण मात्र हुन । थियो पनि उस्तै । दुई–चारवटा हिन्दी चलचित्रका कथा, दृश्य तथा संवाद एउटा चलचित्रको छायांकन गरियो भन्ने आरोपबाट अहिलेका चलचित्रहरू टाढै देखिन्छन् जुन आफैंमा राम्रो हो । पछिल्लो समय निर्माण भएका चलचित्रहरूमा भारतीय चलचित्रहरूको प्रभावभन्दा नेपाली मौलिकता पाइन्छ । १५ प्रतिशतको हाराहारीमा रहेका भनिएका ती चलचित्र छाडेर अन्य नेपाली चलचित्र हेर्दा एकाधबाहेकका चलचित्रहरू मौलिक विषयवस्तु छनोटमै चुकेको देखिन्छ अर्थात् कथावस्तुको चयनमा दर्शकको चाहना, समाजको यथार्थता वा वास्तविकतालाई चटक्कै छाडिएको पाइन्छ ।
चलचित्रलाई सोखको विषय बनाएपछि भनौं या चलचित्र बनाएर चलचित्रकर्मी बन्ने उत्कट चाहनाबाट माथि उठ्न नसकेपछि कथालाई जीवन्तता दिन न त निर्देशकले नै सक्छ, न त कलाकारले कथावस्तुलाई न्याय दिन नै सक्छ । केही चलचित्र त यतिसम्म पनि सोचेको देखिँदैन कि तराईको दाइजो प्रथाको वरिपरि कथालाई घुमाउँदा क्यामरालाई भने पोखराको मनोरम दृश्यतिर घुमाइरहेका हुन्छन् । आक्रोशपूर्ण प्रस्तुति देखाउन खोजिएको हुन्छ, आँखा चिम्लेर संवाद मात्र सुनियो भने लाग्छ सामान्य विषयमा छलफल भैरहेको छ ।
चलचित्रकर्मीहरूबीच एकता पनि देखिंदैन, गुणस्तरमा भन्दा अन्य पक्षहरूमा अस्वस्थ प्रतिस्पर्धाजस्तै प्रदर्शन मिति, चलचित्र घर, मिडियामा प्रचार प्रसार तथा एक–अर्काबीच आरोप–प्रत्यारोप लगाउने प्रवृत्ति एवं केही चलचित्रकर्मीहरूमा व्यावसायिक नैतिकताको खडेरीले पनि केही चलचित्र मारमा परेका देखिन्छन् । पछिल्लो समय केही निर्माता–निर्देशकलाई विदेशी भूमिमा छायांकन गरियो भने सफलता पाइन्छ भन्ने भूतले पनि सताएको भान पर्छ । प्रविधिका हिसाबले नेपाली चलचित्र मात्र होइन, समग्र नेपाल नै अलि पछाडि नै छ । चलचित्रमा भएकै प्रविधिको पनि भरपुर प्रयोग गर्ने दिशामा पछाडि नै देखिन्छ ।
(लेखक केन्द्रीय चलचित्र जाँच समितिका सदस्य हुन् ।)