लिखु–४ को १० प्रतिशत पूरा «

लिखु–४ को १० प्रतिशत पूरा

ओखलढुंगा-ओखलढुंगा र रामेछापको सीमानामा पर्ने लिखु नदीमा निर्माण थालिएको लिखु–४ जलविद्युत् आयोजनाको काम तीब्र गतिमा अगाडि बढेको छ । काम थालेको ७ महिना अवधिमा १० प्रतिशत् काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
ओखलढुंगातर्फको खिजिदेम्बा गाउँपालिका वडा नं. १ र ३ मा मुख्य संरचना रहेको आयोजनाको विद्युत् गृहको स्काभेसनको काम ८० प्रतिशत सकिएको छ । आयोजनाले जग्गा खरिद प्रक्रिया सम्पन्न गरेर हाल सहायक सुरुङ (अजिट) निर्माणको काम सुरु गरेको छ । खिजिदेम्बा गाउँपालिकाको होल्पु, विमिरे र जिलीमा निर्माण थालिएका सहायक सुरुङको काम सकिएपछि मुख्य सुरुङ निर्माणको काम थालिने आयोजनाका जनसम्पर्क तथा प्रशासकीय प्रबन्धक कृष्णदास श्रेष्ठले बताए ।
सहाय सुरुङ निर्माणका लागि गत साउनबाट नेपाली सेनाले सुरुङभित्र विष्फोटक पदार्थ विष्फोट गराउन थालेको छ । ३०० मिटर भित्रसम्म ३ वटै सहायक सुरुङ निर्माण गरिसकेपछि मुख्य सुरुङ निर्माणको काम थालनी हुने बताइएको छ । होल्पुमा निर्माण सुरु गरिएको सहायक सुरुङको काम १३० मिटर पूरा भएको छ भने विमिरेको काम १५ मिटर सकिएको छ । जिलीको भूभागबाट निर्माण थालिएको सहायक सुरुङको काम ८५ मिटर निर्माण पूरा भएको छ । सहायक सुरुङको काम पूरा भएपछि ४ दशमलब २५ किलोमिटर लामो मुख्य सुरुङ निर्माण सुरु गरिने आयोजनाले जनाएको छ ।
प्रबद्र्धक कम्पनी ग्रीन भेन्चर्स प्रालिले निर्माण गरिरहको जलविद्युत् आयोजनाको काम दुईवटा ठेकेदार कम्पनीले गरिरहेका छन् । जसअन्तर्गत् सिभिलतर्फको काम इन्डियन कम्पनी एसएसएनआरलाई दिइएको छ । उक्त कम्पनीले ड्याम साइट र डिसेल्टिङ च्याम्बरलगायतका संरचना निर्माण गर्नु पर्नेछ । यस्तै पावरहाउस, भल्भ साउथ र सर्ज साफ्टलगायतका संरचना निर्माण गर्ने जिम्मा नेपाली कम्पनी साउथ एसियन इन्फास्ट्रक्चरको रहेको छ ।
हाल यी दुवै कम्पनीले दु्रत गतिमा काम अगाडि बढाएको आयोजनाले जनाएको छ । आयोजना निर्माणका लागि फिल्डमा इन्जिनियर, फोरम्यान, ब्लाष्टर, ड्राइभर, अपरेटर, मजदूरलगायतका ४५० जनशक्ति खटाइएका छन् । छठपछि थप जनशक्ति बढाएर काम अगाडि बढाइने तयारी भइरहेको जनसम्पर्क तथा प्रशासकीय प्रबन्धक श्रेष्ठले बताए । “हामीले ओखलढुंगा र रामेछाप दुवैतर्फका स्थानीय तह, स्थानीय वासिन्दा, राजनीतिक दल, सरोकारवालालगायत सबैको सहयोगबाट काम अगाडि बढाइरहेका छौं,” श्रेष्ठले भने, “अहिले तीव्र गतिमा काम भइरहेको छ ।”
खिजिदेम्बा गाउँपालिकाका वडा नं. ३ स्थित विमिरेमा ड्याम निर्माण गरेर भूमिगत सुरुङबाट लिम्तीमा निर्माण हुने विद्युत् उत्पादन गृहमा पानी खसालिने छ । सुरुमा यो आयोजनाको उत्पादन क्षमता १२० मेघावाटको रहनेगरी डिजाइन गरिएको थियो । पछि प्रबद्र्धक कम्पनीले उत्पादन क्षमता घटाएर काम अगाडि बढाएको हो ।
मुख्य संरचना ओखलढुंगातर्फ रहेपनि आयोजनाको प्रभावित क्षेत्र ओखलढुंगा र रामेछाप दुवै जिल्लामा रहेको छ । ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको १ र ३ र लिखु गाउँपालिकाको ९ नं. वडा र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको १, २ र ७ नं. वडा आयोजनाको मुख्य प्रभावित क्षेत्र हुन् । ३० महिनामा अवधिमा निर्माण पूरा गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजनाका साथ निर्माण सुरु भएको यो आयोजना ५२ दशमलब ४ मेगावाट क्षमताको रहेको छ ।
१० अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, सनराइज बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक र प्रभु बैंकको ७५ प्रतिशत् लगानी गर्ने र आयोजनामा २५ प्रतिशत् लगानी त्रिवेणी ग्रुप र विशाल ग्रुपले गर्ने सम्झौता रहेको आयोजनाका प्रोजेक्ट डेभ्लप्मेन्ट मेनेजर बद्री रिजालले कारोबारलाई बताए । २०७३ साल असार २५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेर काम अगाडि बढाएको आयोजना सन् २०२० को अगष्ट भित्रमा समापन गर्ने लक्ष्य राखिएको रिजालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्