पूर्वाधार निर्माणले पर्यटकीय गन्तव्य बन्दै झाँक्रीपानी «

पूर्वाधार निर्माणले पर्यटकीय गन्तव्य बन्दै झाँक्रीपानी

म्याग्दी-पूर्वाधार विकासले मंगला गाउँपालिका–४ मा रहेको झाँक्रीपानी पर्यटकको गन्तव्य बनेको छ । डाँडााथिको अग्लो टावरबाट वरिपरि घेरिएको हिमालको दृष्यले जो कसैको मन लोभ्याउने गर्छ । धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुछ्रे चुरेन, मानापाथी, गुर्जालगायतका दर्जनबढी हिमालका चुचुरालाई एकै ठाउँबाट अवलोकन गर्न सकिने पर्यटकीय सम्भावनायुक्त झाँक्रीपानीमा पर्यटन पूर्वाधार थपिएसंँगै पर्यटकको आगमन बढ्न थालेको छ ।
गाउँपालिकाले प्रदेश र संघीय सरकारसँंग साझेदारी गरी, होमस्टे, पदमार्ग, सडक स्तरोन्नति, सामुदायिक भवनसँंगै दुष्यावलोकनका लागि भ्यू–टावरसमेत निर्माण गरेको छ । पर्यटकको सुविधाका लागि यहाँ रहेका २२ घरधुरीमा दैनिक ४० जना बास बस्न सक्ने क्षमताको घरवास (होमस्टे) समेत सञ्चालन गरिएको छ ।
समुद्री सतहदेखि २ हजार ५०० मिटर उचाइमा रहेको झाँक्रीपानीमा आकर्षक भ्यू–टावर निर्माण भएपछि आन्तरिक पर्यटकको आगमन बढ्न थालेको स्थानीय कोमल थापा मगरले बताए । होमस्टे व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका थापाका अनुसार, आन्तरिक पर्यटक बढदो क्रममा छन् । ‘‘अब यहाँ आएर बास बस्ने समस्या छैन, खानामा स्थानीय उत्पादनकै स्वाद दिलाउँछौँ, कोरोना कहर हटेपछि आन्तरिकसँंगै बाह्य पर्यटक पनि भित्रने अपेक्षा गरेका छौँ,” थापाले भने ।
भ्यू–टावरसहित घेराबार निर्माणमा ३६ लाख खर्च भएको मंगला गाउँपालिकाका प्राविधिक विपिन आचार्यले जानकारी दिए । भ्युटावर निर्माणमा गाउँपालिकाको २२ लाख र जनश्रमदान ५ लाखसहित २६ लाख र घेराबार निर्माणमा १० लाख खर्च भएको छ । तीन तले १४ मिटर अग्लो भ्युटावरमा दृष्यावलोकनका लागि रेलिङ बनाइएको छ भने टावर परिसरमा प्रतीक्षालय, खानेपानी, शौचालयलगायतका पूर्वाधार निर्माण भएका छन् । आगन्तुक पाहुनालाई स्वागत तथा कला संस्कृति प्रस्तुति तथा सभा, समारोह र तालिम सञ्चालनका लागि भ्यू टावरनजिकै सभाहलसहितको सामुदायिक भवनसमेत निर्माण गरिएको छ ।
झाँक्रीपानी र ऐतिहासिक चिनाकोट दरबार क्षेत्रलाई एकीकृत रूपमा पर्यटन विकास गर्ने उद्देश्यले पदमार्ग निर्माण गर्न थालिएको छ । झाँक्रीपानीलाई लक्षित गरी गाउँपालिकाको केन्द्र बावियाचौरदेखि नेटासम्म पदमार्ग निर्माणसमेत गरिएको छ । त्यसलाई विस्तार गरी झाँक्रिपानीसम्म पु¥याउने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताइन् । “गाउँपालिकामा झाँक्रिपानी, टोड्केलगायतका पर्यटकीय गन्तव्य छन्, यिनको पूर्वाधार निर्माण र समुदायस्तरमा पर्यटकीय सचेतना अभिवृद्धिलाई हामीले प्राथमिकतामा राखेर काम गरेका छौँ,” उपाध्यक्ष केसीले भनिन् ।
प्रदेश र संघ सरकारसँंग समन्वय गरेर गाउँपालिकाले पर्यटन पूर्वाधार विकासमा जोड दिएको छ । यस क्षेत्रमा भित्रने बजेट र जनश्रमदानबाट पर्यटन पूर्वाधार निर्माणले फड्को मारेको स्थानीय युवा दर्पण रोकाले जानकारी दिए । “समुदायस्तरबाट झाँक्रीपानीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न धेरै पहल भए, महोत्सव लगाउनेदेखि प्रचार प्रसारमा जुटेका छौँ, संघीयता कार्यान्वयनमा आएसंँगै स्थानीय, प्रदेश र संघिय सरकारमार्फत बजेट भित्रिने क्रम बढेको छ,” उनले भने ।
झाँक्रीपानीबाट देखिने दन्तेलहरजस्तै हिमालको मनमोहक दृष्यसँंगै अग्ला डाँडाकाँडा, हरियाली जंगल, दर्जनौँ गाउँबस्तीलाई एकै ठाउँबाट अवलोकन गर्न पाउँदा प्रभावित बनेको बेनीबाट झाँक्रिपानी पुग्नुभएका कृष्ण जिसीले बताए । “२० वर्षअघि महेन्द्ररत्न मावि बंरजामा शिक्षण गरेको थिएँ, त्यतिबेला नै यहाँको प्राकृतिक सुन्दरताबारे जानकार थिएँ, तर त्यतिबेला केही पूर्वाधार थिएन, अहिले पर्यटन पूर्वाधार निर्माणले फड्को मारेको रहेछ,” जिसीले भने । झाँक्रीपानीमा स्थानीय मगर, छन्त्याललगायतका समुदायको मौलिक कला संस्कृति पर्यटकका लागि थप आकर्षणको रूपमा रहेको छ । पर्यटकहरूले स्थानीयस्तरमा उत्पादित बदाम, आलु, च्याउलगायतका अर्गानिक उत्पादनलाई कोसेलीको रूपमा लैजाने गर्छन् ।
प्राकृतिक दृष्य, गाउँले जीवनशैली, अगार्निक खानासँंगै होटल तथा लजको सुविधा पर्यटकको रोजाइमा देखिन्छ । बिहानीमा देखिने मनमोहक सूर्योदय, सेताम्मे देखिने हिमालको लस्कर, ग्रामीण जीवनशैली र एकान्त बस्ती भएकाले यस क्षेत्रलाई कृषि र ग्रामीण पर्यटनको रूपमा विकास गर्नुपर्ने झाँक्रिपानी पुगेका बेनीका व्यवसायी राजेश शाक्यले बताए । सदरमुकाम बेनीदेखि बगरफाँट, बास्कुना, थामडाडा, बरंजा गाउँ गर्दै दुई घण्टाको यातायात सुविधाबाट झाँक्रीपानी पुग्न सकिन्छ भने बाबियाचौर र तातोपानीबाट समेत झाँक्रिपानी जान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्