कोरियाले साना तथा मझौला व्यवसायमा सघाउने «

कोरियाले साना तथा मझौला व्यवसायमा सघाउने

काठमाडौं-नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दक्षिण कोरियाको साना तथा मझौला व्यवसाय निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझादारीपत्रमा महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छा र एसबीसी कोरियाका अध्यक्ष ली साङ जीकले हस्ताक्षर गरेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान–प्रदान र आर्थिक व्यावसायिक सहयोग अभिवृद्धि गर्ने उद्देश्य रहेको कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ । यसबाट समग्रमा साना तथा मझौला व्यवसायलाई युग सुहाउदो रूपमा विकास गरी त्यस मार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
समझदारीपत्रमा यसका उद्देश्य, सहयोगका क्षेत्र, समन्वय गर्ने अधिकारीको व्यवस्था, कार्यान्वयन इकाई, वित्तीय व्यवस्थापन लगायत गरी १५ वटा दफा समेटिएका छन् । साना उद्यमीहरूलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिने, दुवै देशमा अवलम्वन गरिएका नीति तथा कानुन, प्रविधि, ज्ञान, सीपको आदान–प्रदान, बजार प्रवद्र्धन, विद्यमान ऐन कानुनलाई समय सान्दर्भिक रूपमा संशोधन गर्न आ–आफ्ना सरकारलाई अनुरोध गर्ने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी समझदारीपत्रमा दुवै स“स्थाको वेबसाइटमार्फत साना तथा मझौला व्यवसायसम्बन्धी सूचना तथा जानकारी आदान–प्रदान गर्ने, एकअर्का देशमा आयोजना हुने व्यापार मेलामा साना तथा मझौला व्यवसायसम्बन्धी विशेष प्रर्दशनीको प्रवन्ध गर्ने, यस सम्बन्धमा छलफल अन्तरक्रिया आयोजना गर्ने, साना मझौला उद्यमी व्यवसायीहरूको अध्ययन भ्रमणको व्यवस्था समयसमयमा मिलाउने, दुवै देशले अवलम्वन गरेका प्रविधिहरूका विषयमा जानकारीसहित प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने आदि उल्लेख गरिएको छ ।
समझदारीपत्र हस्ताक्षर समारोहमा नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको साना तथा मझौला व्यवसायको विकासका लागि उद्यमशीलता र नविनता महत्वपूर्ण तत्व रहेकोमा जोड रह्यो ।
समझदारीपत्रमा हस्ताक्षरपश्चात साना तथा मझौला व्यवसायका लागि नेपाल कोरिया बीटुबी अन्तरक्रियाको समेत आयोजना गरिएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष गोल्छा, विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष चण्डिराज ढकाल, नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक, नेपाल कोरिया उद्योग वाणिज्य संघका अध्यक्ष किरण साःख, एसबीसीका अध्यक्ष ली साङ जीक र नेपाल कोरिया उवासंघका महासचिव सुनिल खेतानले भनाइ राखेको थिए ।
त्यसैगरी साउतीका अध्यक्ष डा. पोषराज पाण्डेले नेपालमा साना तथा मझौला व्यवसायमा लगानीको अवसर तथा साझेदारीका सम्भावना र एसबीसी कोरियाका जुङ हुवान मुनले कोरियन साना तथा मझौला व्यवसायका विषयमा प्रस्तुती दिए । कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, नेपाल कोरिया उवासंघका सदस्यहरू, दुवै देशका उद्यमी व्यवसायीहरूको महत्वपूर्ण सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्