यो वर्ष तिहार नमानी भारत फर्किए लाखौ श्रमिक «

यो वर्ष तिहार नमानी भारत फर्किए लाखौ श्रमिक


नेपालमा रोजगारी ग्यारेन्टी नभएपछि तिहारै नमानी लाखौ नेपाली रोजगारीका लागि भारत फर्किएका छन् । कोरोना भाइरसको त्रासका कारण ७ महिनाअघि नेपाल फर्किएका नेपाली दैनिकी कठिन भएपछि भारत फर्नन थालेका हुन् । सरकारले स्वदेशमा रोजगारीका लागि कुनै पहल गर्न नसक्दा कोरोनाको जोखिम मोलेर नेपाली भारत जान बाध्य भएका हुन् ।
खाडी राष्ट्रको तुलनामा भारतामा रोजगारी गर्ने नेपालीको संख्या बढी भएपनि उनीहरुको सुरक्षमा सरकारले ध्यान दिन नसकेपछि नाकाबाट दैनिक हजारौं श्रमिक भारत गइरहेका छन् । सरकारले स्वदेशमा नै रोजगारी गुमाएका नेपालीका लागि रोजगारीका कार्यक्रम ल्याउन नसकिरहेका बेला उनीहरु कर्मभूमि फर्किएका हुन् ।
भारतमा १५ लाख नेपालीले रोजगारी गरिहेको अनौपचारिक तथ्यांक भएपनि उनीहरुको सामाजिक सुरक्षामा सरकार ध्यान दिन सकेको छैन । सरकारले भारतमा कार्यरत श्रमिकलाई सरकारी तथ्यांकमा समावेश गर्न नसक्दा कति नेपाली कारोना संकटमा भारत गए भन्नेसमेत जानकारी छैन । दसैं सकिए तगत्तै ठूलो संख्यामा नेपाली पुनः भारतको श्रम बजारमा फर्किए पनि सरकारले उनीहरुको सुरक्षाका बारेमा कुनै चासो नदिएको प्रवासी नेपाली संघ भारतका केन्द्रीय सदस्य प्रमोदसिंह साउद क्षेत्रीले बताए । अन्य श्रम गन्तव्यको तुलनामा ठूलो रोजगारी र व्यवसायका लागि नेपाली भारत जाने भएपनि उनीहरूको सुरक्षाका लागि कुनै निकाय सरकारी समयन्त्र बन्न नसकेको उनले बताए ।
“भारतमा धेरै नेपाली सुरक्षा गार्ड र औद्योगिक क्षेत्रमा धेरै नेपाली कार्यरत छन्” उनले भने, “अब सरकारीस्तरमा सम्झौता गरेर मात्र रोजगारीमा पठाउने व्यवस्था गर्नु पर्छ ।”
आवतजावतका लागि दुवै देशका नागरिकलाई रोकतोक नगरिएको र श्रम स्वीकृतिको समेत व्यवस्था नगरिएका कारण अनुगमन गर्न नसकिएको हो । भारतमा सबै भन्दा बढी कर्णाली र सुदूपश्चिम प्रदेशका नेपाली रोजगारीमा गएको श्रम विज्ञ डा. गणेश गुरुङ बताउँछन् । उनले प्रदेश १, २, कर्णाली र सुदूरपश्चिमबाट धेरै नेपाली रोजगारीका लागि भारत जाने गरेका बताए । भारत नेपालीका लागि अन्तिम श्रम गन्तव्य भएका कारण कोरोना कालमा भारत र नेपाल नाकाबाहेर ओहोरदोहोर गर्ने नेपालीको संख्या अझ धेरै रहेको छ ।
भारतमा रोजगारीमा जाने नेपाली श्रमिक अनौपचारिक क्षेत्रमा धेरै कार्यरत रहेको कारण कानुनी रुपमा श्रम अधिकारबाट बञ्चित हुने गरेको देखिन्छ । भारत जाने नेपाली श्रमिकको संख्या धेरै भएका कारण त्यहाँबाट आउने पैसा पनि धेरै हुने गरेको छ । विश्व बैंकले सार्वजानिक गरेको तथ्यांकमा भारतबाट आउने पैसा अन्य श्रम गन्तव्यको तुलनामा धेरै हुने गरेको छ । भारतबाट अनौपचारिक र तथ्यांक बिना नै पैसा आउने गरेको कारण रकम धेरै हुने श्रम विज्ञ गुरुङको भनाइ छ ।
हाल कोरोना भाइरसका कारण भारतबाट स्वदेश फर्किएका नेपाली कामदार देश सबै नाकाबाट तिहार नै नमानी फर्किरहेका छन् । हाल दैनिक ३ हजार श्रमिक भारत फर्किरहेको अध्यागमन विभागकले जनाएको छ । श्रमिक भारत फर्किरहेको अध्यागमन विभागले जनाएको छ । भारतमा रोजगारीका कति नेपाली जान्छन् भन्ने तथ्यांक वैदेशिक रोजगार विभाग र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागसँग छैन ।

प्रतिक्रिया दिनुहोस्