इँटा उद्योगमा भारतीय मजदुरकै भर «

इँटा उद्योगमा भारतीय मजदुरकै भर

कोरोनाका कारण नाका बन्द हुँदा मजदुर अभाव
विराटनगर-
कोरोना नियन्त्रणका लागि नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएपछि नेपालका इँटा उद्योगमा मजदुर अभाव भएको छ । इँटा उत्पादन गर्ने सिजन सुरु भइसके पनि भारतीय मजदुर नेपाल आउने अवस्था नभएपछि मोरङ र सुनसरीका इँटा उद्योग मजदुर अभावकै कारण सञ्चालन गर्न समस्या भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएपछि इँटा उद्योगमा काम गर्ने भारतीय मजदुर नेपाल आउने अवस्था छैन । भारतीय मजदुरमा निर्भर इँटा उद्योग भारतबाट मजदुर आउने अवस्था नभएपछि सञ्चालन गर्न समस्या भएको छ । नेपालका इँटा उद्योगमा काम गर्ने ९० प्रतिशतभन्दा बढी मजदुर भारतबाट आउने गरेका छन् ।
मजदुर अभावका कारण इट्टा उत्पादनमा समस्या भएको कोशी इँटा व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले बताए । भारततर्फ जोगबनी नाका खुले पनि नेपालतर्फ भने अझै खुल्न सकेको छैन । “कोरोना महामारीका कारण भारतीय मजदुर नआउँदा उत्पादनमा निकै समस्या भएको छ,” अध्यक्ष साहले भने, “उत्पादन नहुँदा निर्माणमा समेत असर पर्ने देखिन्छ ।” उनका अनुसार यो क्षेत्रका सबैजसो इँटा उद्योगले भारतीय मजदुरकै भर पर्नुपर्छ ।
इँटा उद्योगले हिउँदको सिजनमा मात्रै इँटा बनाउने गर्दछन् । इँटा उद्योगमा दक्ष र अदक्ष दुवै किसिमका मजदुर भारतको पश्चिम बंगालको कुचबिहार जिल्लाबाट आउने गरेका छन् । इँटा उद्योगीले पहिले नै एक सिजनको रकम भुक्तानी गरेपछि उनीहरू स–परिवार आवासीय रुपमा उद्योगमा काम गर्न आउँछन् । विगत वर्षमा भदौ अन्तिमदेखि असोजभित्रमा उनीहरूले उद्योगमा आई काम गर्ने र वैशाखमा घर फर्कने गर्दथ्ये । तर, यो वर्ष भारतीय मजदुर नेपालका इँटा उद्योगमा काम गर्न आएका छैनन् । संघका अध्यक्ष साहले इँटा उद्योग सहज रुपमा सञ्चालन हुने वातावरण मिलाउन तीनै तहका सरकारलाई आग्रह गरेका छन् ।
इँटाको उत्पादन रोकिँदा विकास निर्माणका काम प्रभावित हुने निर्माण व्यवसायी संघ मोरङका कोषध्यक्ष दाताराम पौडेलले बताए । हालसालै इँटाको मूल्यमा समेत वृद्धि भएकाले अघिल्लो वर्ष सम्झौता भएका कामसमेत प्रभावित भएको उनको भनाइ छ । प्रदेश–१ का ८५ इँटा उद्योगले वार्षिक ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दछन् । इँटा उद्योगमा २२ हजार भारतीय मजदुरले काम गर्ने गरेको इँटा व्यवसायी संघले जनाएको छ । संघले उद्योग मन्त्रीलाई इँटा उद्योग सञ्चालनका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाए पनि भारतबाट सहज रुपमा मजदुर आउने अवस्था अभैm देखिँदैन । “स्वास्थ्य सुरक्षा अपनाएर मजदुर ल्याउने वातावरण सरकारले मिलाइदिनुपर्छ,” इँटा उद्योगीसमेत रहेका उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने, “कोरोनाका नाममा अब सबै क्षेत्र ठप्प पार्न सकिँदैन ।”

प्रतिक्रिया दिनुहोस्