व्यवस्थापिका संसद् भवन व्यवस्थित बनाउन मन्त्रीको निर्देशन «

व्यवस्थापिका संसद् भवन व्यवस्थित बनाउन मन्त्रीको निर्देशन

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले संसद् अधिवेशन सुरु हुनुअघि व्यवस्थापिका संसद् भवनलाई चिटिक्क बनाउन निर्देशन दिएका छन् । उनले संसद् भवनको सरसफाइ र शौन्दर्यता कायम गर्न कुनै कन्जुस्याइँ नगर्न पनि निर्देशन दिए ।
सहरी विकास मन्त्रालयको कार्यभार सम्हालेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हालको व्यवस्थापिका संसद् भवनको निरीक्षण गर्न मंगलबार केन्द्रमा पुगेका मन्त्री श्रेष्ठले भवनको सबै पक्ष चुस्त र दुरुस्त राख्न निर्देशन दिए ।
मन्त्रालयअन्तर्गत रहेको सो भवनमा २०६५ सालदेखि संसद् भवनको रूपमा प्रयोग हुँदै आएको छ । मन्त्री श्रेष्ठले भवनमा रहेको लाइट र साउण्ड सिष्टमलाई व्यवस्थित गर्नसमेत निर्देशन दिए ।
“माननीय सांसदज्यूहरू बस्ने कुर्सीको अवस्था कस्तो छ ? बगैंचामा फूल फुलेका छन् कि छैनन ? हेर्नुस, नभए सिजनअनुसारको फुल फूलाउनुस्, हरियाली देखिएको छैन त्यसलाई तुरुन्त हरियाली बनाउनुस् भवन परिसरमा रहेको अवस्थाबारे निरीक्षण गर्दै उनले भने । उनले संसद् भवनमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षसमेत निरीक्षण गरका थिए ।
सिंहदरबारमा निर्माणाधीन संसद् भवन तयार नभएसम्म सोही भवनमा संसद् अधिवेशन हुनेछ । मन्त्री श्रेष्ठले भवनको निरीक्षण गर्दै बिग्रिएका संरचना तत्काल मर्मत सम्हार गरी भवनलाई साच्चिकै संसद् भवनको रूपमा पहिचान गराउनुपर्ने बताए ।
विकास समितिका अध्यक्ष एवं सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सिंहदरबारमा संसद् भवन निर्माण भएपछि सो केन्द्रलाई कसरी व्यावसायिक रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्