खजुरामा औद्योगिक ग्राम निर्माण प्रकृया सुरु «

खजुरामा औद्योगिक ग्राम निर्माण प्रकृया सुरु

नेपालगन्ज-बाँकेको खजुरामा औद्योगिक ग्रामको निर्माण प्रकृया सुरु भएको छ । सरकारको एक स्थानीय तह एक औद्योगिक ग्राम बनाउने नीति अनुसार केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा औद्योगिक ग्राम निर्माणको काम सुरु भएको हो । गाउँपालिका वडा नं. ६ मा ३१ करोड ३० लाख २१ हजार ४७३ को लागत अनुमानमा निर्माण थालिएको औद्योगिक ग्राम अन्र्तगत पहिलो चरणमा प्राप्त ९२ लाख रुपैयाँको लागत अनुमानमा तारबार तथा चौकीदार भवन निर्माण कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतीले जानकारी दिए । ३ वर्षभित्र सम्पन्न हुनेगरी निर्माण भइरहेको औद्योगिक ग्रामको डीपीआरपछि निर्माण प्रक्रिया सुरु भइसकेकाले निकट भविष्यमै लगानी सम्मेलन गर्ने तयारी भएको उनको भनाइ छ ।
यसैबीच खजुरामा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक ग्रामको मंगलबार उद्योग मन्त्रालयको एक टोलीले अवलोकन गरेको छ । करीब २१ बिगाहा क्षेत्रफलमा निर्माण हुने उक्त औद्योगिक ग्रामको प्रदेश सांसद आइपी खरेल, लगानी बोर्डका कार्यकारी प्रमुख सुशील भट्ट, उद्योग मन्त्रालयका सचिव चन्द्र घिमिरे, सहसचिव बलराम रिजाल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पुनलगायतको टोलीले अवलोकन गरेको हो । अवलोकनमा पुगेको टोलीलाई खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले हालसम्म भएको कार्यप्रगतिबारे जानकारी दिएका थिए । उनले ठूला, मझौला र साना उद्योग रहने गरी निर्माण गर्न गइरहेको औद्योगिक ग्राममा विभिन्न किसिमका उद्योगहरुले आउने इच्छा व्यक्त गरेको बताए ।
लगानी बोर्ड तथा मन्त्रालयको टोलीले खजुरामा निर्माण हुने औद्योगिक ग्रामको काम अगाडि बढाउँदै स्थानीय सरकारले पनि उद्योग नीति बनाएर अगाडि बढ्नु पर्ने सुझाव दिए । हालसम्मको कामको प्रसंसा गर्दै टोलीले आर्थिक, प्राविधिक तथा भइपरी आउने सबै किसिमका सहयोग गर्ने विश्वास दिलाउँदै पछि आउन सक्ने विभिन्न किसिमका चुनौतीको सामना गर्न अहिलेदेखि नै योजना बनाउन सुझाव समेत दिए ।

प्रतिक्रिया दिनुहोस्