३६ लाख घरधुरीमा वैकल्पिक विद्युत्को पहुँच «

३६ लाख घरधुरीमा वैकल्पिक विद्युत्को पहुँच


मुलुकभरका ३६ लाख घरधुरीमा वैकल्पिक ऊर्जाको प्रविधिबाट विद्युत्को पहुँच पुगेको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २४ औ वार्षिक उत्सवको अवसरमा बिहीबार दिइएको जानकारी अनुसार लघु जलविद्युत्, सौर्य (सोलार), बायोमास लगायतका वैकल्पिक ऊर्जाका प्रविधिबाट ६८.७५ मेगावाट विद्युत् उत्पादन भएर यति धेरै घरधुरीमा विद्युत्ीकरण भई पहुँच पुगेको हो । केन्द्रका अनुसार, वैकल्पिक ऊर्जाबाट २ हजारभन्दा बढी लघु, साना तथा मझौला उद्योगको माध्यमबाट ४० हजारलाई रोजगारी पाएका छन् । केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीका अनुसार, वैकल्पिक ऊर्जाबाट १० प्रतिशत जनतालाई बिजुलीको पहुँच पुगेको छ ।
स्वच्छ ऊर्जा संयन्त्रअन्र्तगत ८ वटा आयोजनाहरुबाट कार्वन व्यापारबापत करिब १ अर्ब ८० करोड आम्दानी भएको केन्द्रले जनाएको छ । हरित जलवायु कोषमा नेपालको प्रत्यक्ष पहुँच र आवद्ध भई ५ अर्बसम्म अनुदान प्राप्त गर्न सक्ने निकाय केन्द्र बनेको छ ।
वार्षिक उत्सवका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आधुनिक ऊर्जाको पहुँच पु¥याउन नवीकरणीय ऊर्जाका स्रोतलाई उच्च प्राथमिकतामा राखिएको बताउँदै ऊर्जा सम्मिश्रण, ठूला क्षमताका नवीकरणीय ऊर्जा प्रविधिहरु, मिनी ग्रिड जस्ता क्षेत्रका कामलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताए ।
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नवीकरणीय ऊर्जा स्थानीयस्तरमा सर्वसुलभ उपलब्ध ऊर्जाको स्रोतको रूपमा रहेकाले यसले वन विनाश कम गर्न, कार्वन उत्सर्जन न्यूनीकरण गर्न, भरपर्दो ऊर्जा आपूर्तिको सुनिश्चितता गर्न, ऊर्जा सुरक्षा तथा आयातित इन्धनको परनिर्भरता कम गर्न सहयोग पु-याउने बताए ।

प्रतिक्रिया दिनुहोस्