जनशक्ति अभावले भेन्टिलेटरसहितको आईसीयू प्रयोगविहीन «

जनशक्ति अभावले भेन्टिलेटरसहितको आईसीयू प्रयोगविहीन

म्याग्दी-जनशक्ति अभावमा म्याग्दीको बेनी अस्पतालमा सञ्चालन गरिएको भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालनमा आउन सकेको छैन । गण्डकी प्रदेश सरकारमार्फत अस्पतालमा दुई वटा भेण्टिलेटरसहित पाँच शैयाको आईसीयू कक्ष स्थापना भए पनि जनशक्ति अभावमा थन्किएको छ ।
गम्भीर बिरामीको उपचारमा प्रयोग गर्ने आईसीयू कक्ष जनशक्ति अभावमा चार महिनासम्म नियमित रूपमा सञ्चालनमा आउन नसकेको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । आईसीयू कक्ष नियमित रूपमा सञ्चालन गर्नका लागि कम्तीमा एक÷एकजना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएसथीसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नरहेकाले नियमित सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर अमृत अधिकारीले बताए । ‘‘आईसीयू कक्ष नियमित सञ्चालन नहुनुमा जनशक्ति अभाव, मेडिसिन, एनएसथिसियासँंगै मेडिकल डाक्टर र स्टाफ नर्सको समेत बन्दोबस्त मिलाउनुपर्छ, तत्कालका लागि मेडिकल डाक्टर र स्टार्फ नर्सको व्यवस्थापन नहुँदा अन्य जनशक्ति थप गर्नुको विकल्प नरहेको बताए ।
आकस्मिक रूपमा छोटो समयका लागि भेण्टिलेटर सहितको आईसीयू कक्षमा बिरामीको उपचार गर्न सकिने भए पनि नियमित सेवा सुचारु गर्न स्वास्थ्यकर्मीको जनशक्तिले सेवा दिन सम्भव नरहेको निमित्त प्रमुख डाक्टर अधिकारीले जानकारी गराए । कोरोनाका बिरामीको आईसोलेसनमा समेत सेवा दिनुपर्ने भएकाले जनशक्ति व्यवस्थापन गर्न जरुरी छ । बेनी अस्पतालमा म्याग्दी जिल्लाका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका र बागलुङको पश्चिम भेगका स्थानीयले समेत सेवा लिँदै आएका छन् ।
भेण्टिलेटर सहितको आईसीयूकक्ष बनाउने प्रदेश सरकारको निर्णयबमोजिम म्याग्दीमा गत असारभित्रै दुई भेण्टिलेटर र ५ बेडको आईसीयू मेसिन तथा उपकरण र सामग्रीक खरिद गरी जडानसमेत भएको थियो । प्रदेश सरकारमार्फत १ करोड ७८ लाख बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत १ करोड २५ लाखमा आईसीयू र भेण्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले भने । ५० बेड क्षमतामा सञ्चालित यस अस्पतालको भवन निर्माणाधीन अवस्थामा रहेकाले तत्काल स्वास्थ्य कार्यालयको भुइँतलाको कोठामा आईसीयू कक्षको सेवा दिने गरी व्यवस्थापन मिलाइएको भए पनि प्रदेश सरकार र विभागले आवश्यक जनशक्ति नपठाएको अध्यक्ष कटुवालले जानकारी दिए । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा भेण्टिलेटर सहितको आईसीयूको आवश्यकता थप बढेको छ, नियमित रूपमा सेवा सुचारु गर्न नसक्दा अस्पताले अहिले जटिल बिरामीलाई हेलिकप्टरमार्फत पोखरा, काठमाडौं पठाउँदै आएको छ ।
दरबन्दी अनुसारको जनशक्ति नहुँदा एउटै व्यक्तिले दोहो-याएर डिउटी गर्नुपर्ने बाध्यता छ । अस्पतालमा १ जना मेडिकल सुपरिटेन्डेन्ट, ८ जना विशेषज्ञ र २ जना मेडिकल डाक्टरको दरबन्दी रित्त छ । अस्पतालमा अहिले लोकसेवाबाट दुईजना मेडिकल अधिकृत, एकजना डेन्टल अधिकृत, एनएसआईएको तर्फबाट एकजना र करारमा पाँचजना गरी ९ जना डाक्टर कार्यरत छन् ।
समुदायस्तरमै कोरोनाको संक्रमण फैलदै गएपछि बेनी अस्पतालमा आईसीयू र भेण्टिलेटर सहितको सेवा सुचारु गर्न थप दबाब बढेको छ । अस्पतालमा आईसीयू र भेण्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका कोरोना संक्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौं पु-याउनुपर्ने बाध्यता सिर्जना भइसकेको छ । आईसीयू सञ्चालन नहुँदा यसै साता मात्रै गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई हेलिकप्टर चार्टर गरेर काठमाडौं पु-याइएको थियो । पछिल्लो समय बेनीमा लक्षणसहितका कोरोना संक्रमित बढ्दै गएकाले भेण्टिलेटर सहितको आईसीयू सेवाको थप आवश्यकता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्