विश्वकै अग्लो बन्जी र स्विङ सञ्चालनमा «

विश्वकै अग्लो बन्जी र स्विङ सञ्चालनमा

पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने कालिगण्डकीको खोंचमा बनेको आधा किलोमिटरभन्दा लामो पुलमा सञ्चालित विश्वकै अग्लो बन्जी र स्विङ व्यावसायिक रूपमा सञ्चालनमा आएको छ ।
द क्लिफ प्रालिले निर्माण गरेको बन्जी, स्विङ र नेपालकै एकमात्र स्काई साइक्लिङ तथा गुलेली शैलीको पिङ व्यावसायिक रूपमा सञ्चालनमा आएका हुन । झण्डै २८ करोड रुपैयाँको लगानीमा सहासिक खेलका परियोजना तयार भएका हुन् । प्रालिले गत सोमबारदेखि औपचारिक रूपमा सबै सहासिक पर्यटकीय खेल सञ्चालनमा ल्याएपछि दैनिक सयौं आन्तरिक पर्यटकको घुइँचो लाग्न थालको कम्पनीले जनाएको छ ।
कालिगण्डकीको गहिरो खोँचमा ५ सय २५ मिटर लामो लठ्ठामा झुण्डिएको आकर्षक पुल २०७३ सालदेखि निर्माण थालिएको थियो । पुल, बञ्जी, स्काई साइक्लिसँंगै रिसोर्टको निर्माणकार्य ०७६ अन्तिममा सकिए पनि विश्वव्यापी फैलिएको कोरोना भाइरसको त्रासका कारण गरिएको लकडाउनले गर्दा सन्चालनमा आउन सकेका थिएनन् ।
“हामीले नयाँ वर्षमा नै सबै सहासिक पर्यटकीय गन्तब्य पर्यटकका लागि खुल्ला गर्ने सोचमा थियौं ।” कम्पनीका अध्यक्ष राजु कार्कीले भने, “लक डाउनले रोकिए पनि अहिले सबै स्वास्थ्य मापदण्ड पूरा गरेर सेवा सुरु गरेका हौं ।” प्रालिले कात्तिक १५ गतेदेखि औपचारिक रूपमा सबै सहासिक पर्यटकीय खेल सञ्चालनमा ल्याएपछि दैनिक सयौ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
५२५ मिटर लामो झोलुंगे पुलको बीचमा कालिगण्डकी नदीको ठीकमाथि बन्जी र स्विङका लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाइ २२८ मिटर अर्थात् ७४८ फिट छ । हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोस्रो अग्लो स्विट्जरल्याण्डको भरजस्का बाँधमाथि ७२० फिट उचाइमा छ ।
द क्लिफ प्रालिको यो परियोजना पछि स्विटरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो र पुलमा बनेको विश्वकै अग्लो बन्जिका रूपमा स्थापित भएको अध्यक्ष कार्कीको दाबी छ । बन्जी र स्विङ दुवैको मूल्य ७ हजार तोकिएको छ । पोखरादेखि कुश्माको दुईतर्फी गाडीको सुविधासहित बन्जी वा स्विङको ८ हजार ४ सय ५० छ । टेण्डम (जोडि) स्विङको १२ हजार मूल्य निर्धारण गरिएको अध्यक्ष कार्कीले बताए ।
बन्जीमा नेपालकै एकमात्र गुलेली शैलीको पिङ पनि निर्माण गरिएको छ । बन्जीका लागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सोभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ । जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङभन्दा फरक छ । यो गुलेलीको शैलीमा निर्माण गरिएको छ ।

सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ । पिङ खेल्न प्रतिब्यक्ति २ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी स्टिल कोर केबल प्रयोग गरी स्काई साइक्लिङ तयार गरिएको हो ।
विश्वकै सबैभन्दा ऊचाइमा सञ्चालित कालिगण्डकी खोंचको स्काई साइक्लिङ २ सय २८ मिटर अग्लो छ भने लम्बाई तीन सय मिटर छ । दुईतर्फी ३ सय मिटर लम्बाइ रहेको रुटमा एक पटकमा दुईजनाले साइक्लिङ गर्न मिल्ने अध्यक्ष कार्कीले बताए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्काइ साइक्लिङ तयार गरिएको र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने कम्पनीले जनाएको छ ।
बन्जीका लागि निर्माण भएको पुलको बाग्लुङको बलेवामा २५ रोपनी क्षेत्रफलमा ‘द क्लिफ रिसोर्ट’ बनेको छ । २१ वटा सफारी टेण्ट रहेको रिसोर्टमा ७० जना अट्ने छ्न ।
अध्यक्ष कार्कीसँगै कुश्माबजारका व्यवसायी युवराज जोशी, नेत्रप्रसाद पराजुली, फ्लोरेन्स कार्की, राजन जोशी र नवराज शर्मालगायतको लगानी रहेको परियोजनामा प्रभु बैंकको समेत ऋण सहयोग रहेको छ । बन्जी र स्विङका लागि बनाइएको पुलको मात्र लगानी ८ करोड बढी रहेको बताइएको छ । १ सय २० रुपैयाँ तिरेर उक्त पुल वारपार गर्न सकिने सञ्चालकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्