गरिबलाई आएन दसैं «

गरिबलाई आएन दसैं

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना कहरको बीचमा पनि, मन–मस्तिस्कमा यसप्रतिको त्रास लिएर भए पनि हामी नेपालीहरूको महान् चाड बडा दसैं सुरक्षित तरिकाले मनायौं । सरकारले आमजनतालाई मध्यनजर गरेर दसैंमा तोकेको मापदण्डअनुसार ‘जो जहाँ छौं त्यहीँ बसेर मनाऔं’ भनेर आग्रह गरेअनुसार नै सबै जनताले दसैं मनाएको सामाजिक सञ्जालमार्फत देख्न सकिन्छ । यो वर्ष कोरोना कहरका कारण दसैंको टीका लगाउन घरबाट अन्यन्त्र नगएको सामाजिक सञ्जाल, आफन्तजन तथा साथीभाइमार्फत देख्न तथा सुन्न पाइएको छ । स्वयम् म आफैंले पनि यसपालि घरबाट कतै नगई बुवाआमाको हातबाट टीका थापेर आशीर्वाद ग्रहण गरी घरका आफूभन्दा सानालाई टीका लगाई आशिष दिएर खानपिन गरेर, तास खेलेर, नाचगान गरेर घरमै बसेर दसैं मनाएँ । अझै भन्नुपर्दा त यो कोरोनाका कारण हामीले आफ्नो परिवारलाई अरू बेलाको भन्दा बढी समय दिन तथा परिवारसँग समय बिताउन पाएका छौं । आफ्नो बुवाआमा तथा सन्तानलाई बढी समय दिन पाएका छौं ।
एउटा भनाइ नै छ, ‘धन हुनेलाई दसैं, नहुनेलाई दशा हो’ भनेर । मासिक रूपमा काम गर्ने, सरकारी जागिर खाने, आफ्नो व्यापार–व्यवसाय हुनेलाई त खासै फरक पर्दैन, तर दैनिक ज्याला–मजदुरी गर्ने, भारी बोक्ने, तरकारी तथा फलफूल बेचेर आफ्नो दैनिकी टार्ने मानिसहरूको घरमा दसैं पनि दशाजस्तो हुन जान्छ । उनीहरूका घरमा पनि साना–साना नानीबाबुहरू दसैंमा नयाँ–नयाँ लुगा लगाउने, मीठोमीठो खानेकुराहरू खाने तथा टीका लगाएर नयाँ–नयाँ पैसा लिन पाइन्छ भनेर आस गरेर बसिरहेका हुन्छन् । तर, यो कोरोनाको कहरमा दैनिक रूपमा काम गर्नसमेत नपाएर बिहान–बेलुकाको छाक टार्नसमेत गा¥हो परेको अवस्थामा केको दसैं ? केको सरकारले तोकेको दसैंको मापदण्ड ? कोही मनकारी व्यक्ति, समूह तथा कुनै संस्थाले राहत बाँड्छ कि भनेर मनमा आस बोकेर बसिरहेका गरिब जनतालाई केको दसैं ?
कोरोनाका कारणले विश्व अर्थतन्त्रसमेत डामाडोल पारेको अवस्थामा हामो सानो देशसमेत अछुतो रहन सकेन । यस्ता निम्न वर्गका मानिसहरूलाई ऋण काढेर भए पनि दसैं मनाउँछु भन्ने अवस्थासमेत रहेन । यहीसँग सम्बन्धित एउटा उदाहरण लिऊँ । ललितपुर, टीकाथलीनिवासी एक महिला, जो सदैव साग बेच्न भनेर बिहानदेखि बेलुकासम्म बस्छिन्, दसैंको टीकाको दिनमा समेत उनी बिहान ७ बजे नै हरियो साग लिएर आइपुगिन् । यो देख्दा मेरो मन नै चिसो भयो । पैसा हुनेहरू कतै नगई घरमै बसेर खाने, नाच्ने, गाउने, तास खेल्ने, रमाउने गर्छन्, तर नहुनेले बिचरा टीकाको दिनमा समेत आफ्नो दैनिकी नगरी आफ्नो छाक टार्न धौधौ छ । यस्तो अवस्थामा जहाँ छौं त्यहीँ बसेर मनाऊँ मात्र होइन, सरकारले यस्ता निम्न बर्गका जनतालाई दसंैका लागि भनेर राहत बाँड्नुपथ्र्याे । हुनेले पो घरमै बसेर मनाउँछन्, नहुनेको त बाध्यता छ । रहर होइन बाध्यता हो घरबाट बाहिर निस्कनु ।
त्यस्तै अर्को उदाहरण, गुल्मी घर भएकी एक महिला लक्ष्मी पराजुली (नाम परिवर्तन) जो घामपानी, चाडबाड, दसैं नभनी बिहानदेखि बेलुकासम्म सानो ठेला लिएर थोरै लसुन र अदुवा बिक्री हुन्छ कि भन्ने आसमा सदैव व्यापार गर्न आउँछिन् र दसैंको टीकाको दिनमा समेत आइन् । सबैको दुःखेसो यही छ कि कोरोनाको चपेटाका कारण दैनिकी गुजार्नका लागि यस्तो अवस्था र दिनमा समेत व्यापार गर्न आउनुपर्ने बाध्यता छ । दसैं सबैको घरमा आएको छ । हुनेले खसी काटेर मासुभात खाएका छन् तर नहुनेलाई दालभात खानसमेत धौधौ परेको छ ।
त्यसैले सरकारले सांसदहरूले फिर्ता गरेको दसैं भत्ता कोषमा नभई यस्ता निम्न वर्गका जनता पहिचान गरी उनीहरूका लागि सदुपयोग गर्नुपथ्र्यो । तब मात्र हुनेले मात्र होइन, नहुनेले समेत दसैंका बेलामा आफ्नो परिवारसँग बसेर दालभात, तरकारी हाँसीखुसी खान पाउँथे । कसैको घरमा चुलो नबल्ने तर कसैकोमा भोज गर्नुभन्दा सबै जनताले हातमुख जोड्न पाए राम्रो हुन्थ्यो ।
—रन्जिता गिरी पोख्रेल

प्रतिक्रिया दिनुहोस्