के १९२९ को महामन्दी दोहोरिएला ? «

के १९२९ को महामन्दी दोहोरिएला ?

केही देशबाहेक धेरै देशहरूले यो संक्रमणलाई नियन्त्रित आर्थिक क्रियाकलापहरू सञ्चालन गर्न थालेकाले अहिले मन्दीको अवस्था महामन्दीमा परिणत नहुने आशा गरिएको छ ।

हावापानी परिवर्तन, बूढो हुँदै गएको जनसंख्या, युद्धग्रस्त अफ्रिकी र मध्यपूर्वका देशहरूबाट युरोपतिर बसाइँसराइ, इन्धनको स्रोतमा -हास, विकसित देशहरूको बढ्दो ऋणभार र अविकसित देशहरूमा भएको गरिबीको समस्याले ग्रस्त विश्वले विगत दुई दशकभित्र दुईवटा संकट भोग्नुप-यो, जसमा पहिलो मानवनिर्मित संकट थियो भने दोस्रो मानवीय नियन्त्रणभन्दा बाहिर रहेको स्वास्थ्य संकट हो । यो वर्षको सुरुदेखि फैलिएको कोभिड संक्रमणले विश्वलाई थप आक्रान्त बनाएको छ । पहिलो संकट २००८ मा संसारकै सबभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा देखा प-यो र त्यसको असर बिस्तारै अरू देशहरूमा देखा पर्न थाल्यो । पहिलो संकटले विश्व त्यति आक्रान्त भएको थिएन, जति दोस्रो संकटले । दोस्रो संकटलाई राजनीतिक हिसाबले द्वितीय विश्वयुद्धपछिको सबभन्दा ठूलो संकट र आर्थिक हिसाबले सन् १९२९ देखि १९३३ सम्मको महामन्दीपछिकै ठूलो आर्थिक संकटका रूपमा लिइएको छ । वृहद अर्थशास्त्रमा लगातार कुनै पनि देशको कुल गार्हस्थ्य उत्पादन दुई त्रैमासिकसम्म घट्दै गएपछि त्यहाँ मन्दीको अवस्था आएको बुझ्नुपर्ने हुन्छ, मन्दी धेरै लामो समयसम्म गहिरियो भने त्यसलाई महामन्दी वा डिप्रे्रसन भन्ने गरिन्छ । यस्तो मन्दीको अवस्थामा अर्थव्यवस्था आफ्नो क्षमताभन्दा कम क्षमतामा सञ्चालन भइरहेको हुन्छ ।
अहिले विश्वका प्रायः सबै देशहरूले आआफ्ना अर्थव्यवस्थाहरू मन्दीको अवस्थामा पुगेका तथ्यांकहरू सार्वजनिक हुन थालेको छ । कोभिडसँग जुध्न संसारका अधिकांश देशले चीनले वुहानमा लागू गरेको लकडाउनको मोडालिटी अपनाएपछि आर्थिक क्रियाकलापहरूमा संकुचन आयो, जसले गर्दा सबै देशको अर्थव्यवस्था मन्दीतर्फ उन्मुख भएर विश्व अर्थव्यवस्था नै मन्दीतर्फ अग्रसर भएको छ । चीनको अर्थव्यवस्था मात्र सन् २०२० र २०२१ मा धनात्मक वृद्धि हासिल गर्ने अर्थव्यवस्थाका रूपमा रहेको छ । चिनियाँ अर्थव्यवस्था पुनरुत्थानतिर लागेको छ भने अन्य अर्थव्यवस्थाहरू मन्दीतर्फ उन्मुख छन् । विश्वको सबभन्दा ठूलो अर्थव्यवस्था भएको संयुक्त राज्य अमेरिकाको अर्थव्यवस्था ९ प्रतिशतले संकुचन भएको छ । अमेरिकाले आर्थिक कारण देखाई अरू देशहरूले जस्तो पूर्ण रूपमा लकडाउन नगरी संक्रमणको अवस्था हेरी गभर्नरहरूलाई आंशिक लकडाउन गर्ने अधिकार दिइएको थियो । विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान पनि अप्रिलदेखि जुनसम्म ७.८ प्रतिशतले संकुचन भएको छ । भारतको अर्थव्यवस्था यो अवधिका २३.९ प्रतिशतले संकुचन भई अर्को चौमासिकमा १० प्रतिशतसम्म संकुचन आउने अनुमान गरिएको छ । अस्ट्रेलियाको अर्थव्यवस्था ७ प्रतिशतले संकुचन भएको छ, जुन १९९२ पछिको सबभन्दा ठूलो संकुचन हो । बेलायती अर्थव्यवस्था २१.७ प्रतिशतले, स्पेनको २१.१, इटालीको १७.७ र जर्मनीको अर्थव्यवस्था ११.७ प्रतिशतले संकुचन भएको छ । दक्षिण एसियाका देशहरू २.७ प्रतिशतले खुम्चिने अनुमान अन्तर्राष्ट्रिय मुद्राकोषले गरेको छ । नेपालको अर्थव्यवस्था १ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ ।
विश्व बैंक, मोर्गान स्तानले र डन एन्ड ब्राड स्ट्रिटजस्ता संस्थाहरूले हालसालै प्रकाशित गरेका प्रतिवेदनहरूमा यो साल विश्वको अर्थव्यवस्था ५.२ प्रतिशतले खुम्चिने भविष्यवाणी गरेका छन् । यो द्वितीय विश्वयुद्धपछिको नै सबैभन्दा बढी दरमा विश्व अर्थतन्त्र खुम्चिएको मानिएको छ । संख्यात्मक रूपमा हेर्दा करिब सय ट्रिलियन डलरको विश्व अर्थव्यवस्थामा यो महामारीले ५ ट्रिलियन डलरभन्दा बढीको नोक्सानी हुने अनुमान गरिएको छ । सन् २००८ को वित्तीय संकटको बेलामा पनि विश्व अर्थव्यवस्था १.७ प्रतिशतले मात्र खुम्चिएको थियो । मोर्गान स्तानलेले विश्व अर्थव्यवस्थाले यसभन्दा अगाडि गरेको पूर्वानुमानभन्दा तीन महिनापहिले नै विश्व अर्थव्यवस्था संक्रमणअगाडिको अवस्थामा पुग्ने अनुमान गरेको छ । उक्त संस्थाले अमेरिकी अर्थव्यवस्था सन् २०२१ को दोस्रो त्रैमासिकमा र अरू विकसित देशहरू तेस्रो त्रैमासिकमा आएर मात्र संक्रमणपूर्वको स्थितिमा पुग्ने अनुमान गरेको छ र विश्वका सबै देशले मौद्रिक र वित्तीय नीतिहरू विस्तारकारी नीति अपनाएकाले मुद्रास्फीतिचाहिँ बढ्ने प्रक्षेपण पनि गरेको छ । विश्व बैंकले भने अहिले विश्व अर्थव्यवस्था गम्भीर मन्दीमा फसेको र सन् २०२२ भन्दा अगाडि पुरानो स्थितिमा फर्कन नसक्ने पे्रक्षपण गरेको छ । यो मन्दीलाई विश्व बैंकले सन् १८७० पछिको ठूलो मन्दीकै रूपमा लिएको पाइन्छ । विकसित देशहरूमा यो वर्षको आर्थिक क्रियाकलापहरू माग र पूर्तिमा आएको बाधा, व्यापारमा भएको अवरोध र वित्त व्यवस्थामा आएको अवरोधका कारणले ७ प्रतिशतले संकुचन आउने अनुमान गरेको छ । विश्व बैंकले विगत ६० वर्षको दौरानमा उदाउँदो र विकासोन्मुख देशहरू भने २.५ प्रतिशतले संकुचन हुने अनुमान गरेको छ । दोस्रो त्रैमासिकमा विश्व व्याापार २७ प्रतिशतले घटने प्रक्षेपण अंकटाडले गरेको छ र यो वर्ष २० प्रतिशतले घट्ने अनुमान गरिएको छ । विकासोन्मुख देशहरूको आयात १९ प्रतिशतले घट्ने र निर्यातचाहिँ १८ प्रतिशतले संकुचन हुने अनुमान गरिएको छ । यसैबीच चीन र अमेरिकाको बीचमा विगतदेखि चल्दै आएको व्यापार द्वन्द्वले पनि यो वर्षको दोस्रो त्रैमासिक अवधिको आर्थिक वृद्धिलाई ठूलो असर पु-याएको देखिन्छ ।
विश्व बैंकका पूर्व मुख्य अर्थशास्त्री जिम ओ निलले विश्वका अर्थव्यवस्थाको भी आकारमा पुनरुत्थान हुने आशा व्यक्त गरेका छन् । चीन तथा दक्षिण कोरियाहरूको अर्थव्यवस्थाले गरेको प्रगतिका आधारमा उसले यस्तो आशावादी विचार व्यक्त गरेका हुन् । सन १९२९ देखि १९३३ सम्म देखा परेको महामन्दी अब दोहोरिने सम्भावना छैन, किनभने धेरै देशले एकातिर लकडाउनलाई स्थानीयकरण गर्दै आर्थिक क्रियाकलापहरू सञ्चालन गर्न थालेका छन् र धेरै देशहरूले २०२२ मा नै संक्रमणअगाडिको अवस्थामा फर्किन सक्ने प्रक्षेपणहरू गर्न थालेका छन् । तर, यसका लागि दुईवटा सर्त रहेका छन् । पहिलो हो, भ्याक्सिनको सफल प्रयोग र कोभिड–१९ को दोस्रो चरणको संक्रमण (युरोपमा अहिले देखा परेको) को सघनताको रोकथाम । अर्को सकारात्मक पक्ष भनेको अहिले सन् २००९ मा जस्तो वित्तीय बजार ध्वस्त भएको छैन । स्मरण रहोस् कि १९३३ मा रुजवेल्टले राष्ट्रपतिको पद सम्हाल्नासाथ अमेरिकामा बैंकहरू बन्द भइरहेको अवस्थालाई ध्यानमा राखी बैंक होलिडे सप्ताह घोषणा गर्नुपरेको थियो । सन् २००९ को वित्तीय संकटले विश्वका बचतकर्ताहरूलाई नराम्रोसँग प्रभावित गरेको थियो । सन् १९२९ को महामन्दी र २००८ को वित्तीय संकटमा धितोपत्र बजार ध्वस्त भएको थियो । केही देशबाहेक धेरै देशहरूले यो संक्रमणलाई नियन्त्रित आर्थिक क्रियाकलापहरू सञ्चालन गर्न थालेकाले अहिले मन्दीको अवस्था महामन्दीमा परिणत नहुने आशा गरिएको छ ।
राजनीतिक क्षेत्रबाट दह्रो निर्णय गरेर यस्तो अवस्थाबाट अर्थव्यवस्थालाई मुक्त गरेको विगतको इतिहास साक्षी रहेको देखिन्छ । सन् १९२९ मा पनि अमेरिकी राष्ट्रपतिले ठूलो आधारभूत संरचनामा लगानी गरेको गोल्ड स्ट्यान्डर्डबाट अमेरिकालाई मुक्त गरेको र अमेरिकी डलरको अवमूल्यन गरेर मन्दीबाट अर्थव्यवस्थालाई मुक्त गरे । सन् २००८ मा पनि बाराक ओबामाले ७ सय अर्ब डलर वित्तीय बजारको पुनस्र्थापनाका लागि र सरकारी खर्चमा ७ सय ८७ अर्ब अमेरिकी डलर खर्च गरेर मन्दीबाट अर्थव्यवस्थालाई बाहिर निकालेका थिए । विश्वका यो संक्रमणबाट प्रभावित देशका सरकारहरूले आधारभूत संरचनामै बढी लगानी गर्नुपर्ने हुन्छ । सरकारहरूले आफ्नो वित्तीय घाटा सीमाभित्र रहेर लगानी बढाएमा यो संक्रमणबाट छिट्टै मुक्ति पाउन सक्नेछन्, किनभने सरकारी लगानी बढेपछि त्यसबाट निजी क्षेत्रमा पनि विश्वास बढेर उनीहरूले पनि लगानी बढाउने काम गर्छ ।
सन् १९२९ को महामन्दी र अहिलेको स्थितिमा पूरा रूपमा नभए पनि एउटा कुराचाहिँ मिल्ने देखिन्छ । त्यतिबेला अमेरिकाले हले स्मुट ट्यारिफ एक्ट पारित गरी संरक्षणवादमा लागेको थियो र अरू देशहरूले पनि यस्तै नीति अवलम्बन गर्दा अमेरिकालगायत युरोपका धेरै देशमा उत्पादन घटी आय घटेको देखिन्छ । अहिले पनि करिब ७३ वटा देशले औषधिजन्य सामान र उपकरणको निर्यातमा प्रतिबन्ध लगाएको, अमेरिकाको अमेरिका फस्ट र बेलायतको बे्रक्जिट र भारतलगायत धेरै देशहरूले आत्मनिर्भरको अभियान चलाएर संरक्षणवादतर्फ उन्मुख भएको छ, जसले अहिलेको संकुचनले विश्वको कुल उत्पादन वृद्धिमा प्रतिकूल प्रभाव पर्ने आकलन गर्न सकिन्छ । संरक्षणवाद बढी हाबी भएमा यो मन्दी १९२९ को महामन्दीभन्दा अरू खतरनाक हुने कुराको चेतावनी अर्थशास्त्रीहरूले दिइरहेका छन् । यसको साथमा सरकारहरूले घोषणा गरेको विस्तारकारी मौद्रिक र वित्तीय नीतिहरूले गर्दा धेरै देशहरूमा बेरोजगारी दर र मुद्रास्फीति दुवै बढी स्टाग्फलेसनको अवस्था आउने आकलन गर्न थालिएको छ ।
विगतमा एड्स महामारीदेखि लिएर इबोलासम्मको संक्रमणको समयमा विश्वमा देशहरूको संयुक्त प्रयासबाट त्यस्ता संक्रमणहरूलाई रोक्न सफल भएको थियो । अहिले पनि विश्वका सबभन्दा ठूलो अर्थतन्त्र र शक्तिशाली देशका रूपमा रहेको अमेरिकाले यसको रोकथामको नेतृत्व लिनैपर्छ र यसका लागि अहिले मल्टिल्याटरिज्मको प्रक्रिया, संस्थाहरू र कामकारबाहीमा जुन सुस्तता आएको छ त्यसलाई ब्युझाउनैपर्छ । यसले मात्र कोभिड १९ को संक्रमणबाट विश्वलाई बचाई सन् १९२९ को जस्तो महामन्दीको अवस्थाबाट विश्वलाई जोगाउन सकिन्छ ।
(यस लेखमा उल्लिखित तथ्यांकहरू ‘इकोनामिक टाइम्स’ र ‘प्रोजेक्ट सिन्डिकेट’को वेबसाइटमा प्रकाशित लेखहरूबाट लिइएका हुन् ।)

प्रतिक्रिया दिनुहोस्