सांसद केसीको शोकमा पोखरा महानगरपालिका कार्यालय मंगलबार बन्द «

सांसद केसीको शोकमा पोखरा महानगरपालिका कार्यालय मंगलबार बन्द

पोखरा- उद्योगपति सूर्यबहादुर केसीको निधन भएको छ । नेपालको पहिलो तयारी चाउचाउ उद्योग रारा तयारी चाउचाउ उद्योगका संचालक, प्रतिनिधिसभा सदस्य एवं प्रतिष्ठित उद्योगपति केसी केही समयदेखि मधुमेह र प्रेसरबाट ग्रसित उनको ६३ वर्षको उमेरमा सोमबार राति आफ्नै निवास पोखरा ७ एयरपोर्टमा निधन भएको हो ।
नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य समेत रहेका केसी प्रधानपन्च समेत भएका थिए । उनको अन्तिम दाहसंस्कार नेपाली परम्परा अनुसार रामघाटमा गरिएकोे नेपाली कांगे्रस कास्कीका सभापति कृष्ण केसीले बताए । केसी निवासबाट शव यात्रा गरिएको थियो ।
नेपालकै पहिलो रारा तयारी चाउचाउ उद्योग संचालन गरेका केसीले पछिल्लो समयमा जलबिद्युत क्षेत्रमा लगानी गर्दै आएका थिए । १४ बर्ष देखि व्यावसायीक यात्रामा होमिएका केसी सामाजिक, राजनीतिक, उर्जा, खाद्य, बैंकिङ, उद्योग लगायतका क्षेत्रमा लाग्दै आएका थिए । उनका श्रीमती प्रेम कुमारी केसी, छोराहरु प्रकाश, किरण र रोशन तीन छोराहरु रहेका छन्।
यसैबीच पोखरा महानगरले केसी पूर्व पोखरा नगर पञ्चायतका निर्वाचित प्रमुख भएको हुँदा उनको असामयिक निधनले स्तब्ध बनाएको जनाएको छ । उनको सम्मानमा महानगरले मंगलबार पोखरा महानगरपालिका कार्यालय र वडा कार्यालयहरु समेत बन्द गरिएको महानगरले जारी गरेकोे प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कांग्रेसले पार्टीको झण्डा आधा झुकाउने
नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर केसीको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केसीको निधनप्रति दुःख व्यक्त गर्दै शोकका विभिन्न कार्यक्रम मनाउने निर्णय गरेको हो ।
कांग्रेसले केन्द्रीय कार्यालयसहित देशैभरका सबै कांग्रेस पार्टी कार्यालयमा रहेको पार्टीको झण्डा मंगलबारदेखि बिहीबारसम्म आधा झुकाउने भएको हो ।
त्यस्तै बुधबार केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र निधनको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय पनि कांग्रेसले गरेको छ । प्रतिष्ठित उद्योगपति समेत रहेका केसीको सोमबार राति १० बजे पोखरा महानगरपालिका–७ मुस्ताङचोकस्थित आफ्नै निवासमा निधन भएको थियो । केसी समानुपातिक तर्फबाट सांसद भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्