रुकुम पश्चिम : न्यायिक समितिमा ७४८ मुद्दा «

रुकुम पश्चिम : न्यायिक समितिमा ७४८ मुद्दा

रुकुम-संविधानको धारा २१७ मा स्थानीय तहमा न्यायिक समिति गठन गरेर केही विवादहरू निरूपण गर्ने प्रावधान छ । यसको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कार्यान्वयनमा छ ।
स्थानीय तहका उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँसभा वा नगरसभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दामामिला, जग्गाजमिन, अंशबण्डा, साँध विवादजस्ता मुद्दाको टुङ्गो लगाउँछन् । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समितिका संयोजक र सदस्यले सामूहिक रूपमा गर्छन् । रुकुम पश्चिममा ६ वटा स्थानीय तहमा पनि न्यायिक समिति गठन भएर क्रियाशिल छन् ।
मुसीकोटको न्यायिक समिति संयोजकमा प्रेमकुमार सुनार, चौरजहारीका राधा रोका र आठबीसकोट नगरपालिकाको न्यायिक समितिको संयोजकमा गीता नेपाली छिन् । त्रिवेणि गाउँपालिकाको संयोजकमा निर्मला विष्ट, बाँफिकोटको मनकला पुन र सानीभेरी गाउँपालिका न्यायिक समितिमा इन्दिरा ओली संयोजक छिन् ।
वितेका तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षका हालसम्म ५ सय ९६ मुद्दा फस्र्योट भएका छन् । ६ वटै स्थानीय तहमा रहेका न्यायिक समितिमा हालसम्म ७ सय ४८ मुद्दा दर्ता भएका थिए । जसमध्ये मुसीकोट नगरपालिकाले ८५ मुद्दा किनारा लाएको छ । आर्थिक वर्ष २०७४÷०७५ देखि चालु आर्थिक वर्षको हालसम्म मुसीकोट नगरको न्यायिक समितिमा १ सय १३ मुद्दा दर्ता भएका छन् । २ सय ४६ मुद्दा दर्ता भएको चौरजहारी नगरपालिका न्यायिक समितिले २ सय १४ मुद्दा टुंग्याएको छ । यही अवधिमा ९२ मुद्दा किनारा लाएको आठबीसकोट नगरको न्यायिक समितिमा १ सय ५५ मुद्दा परेका छन् । त्यहाँबाट १० मुद्दा जिल्ला अदालतमा सिफारिस गरि पठाइएको छ । तीन वितेका आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्म त्रिवेणि गाउँपालिकाको न्यायिक समितिमा ९९ मुद्दा दर्ता भएकामा ७४ मुद्दा फस्र्योट भएका छन् भने त्रिवेणि न्यायिक समितिले यस अवधिमा २० मुद्दा जिल्ला अदालत सिफारिस गरेको छ । ८६ मुद्दा दर्ता भएको सानीभेरी गाउँपालिकाको न्यायिक समितिले ७६ मुद्दा फस्र्योट गरेको छ । सानीभेरी गाउँपालिकामा हालसम्म परेका ८६ मध्य ७६ मुद्दा फस्र्योट भएका छन् भने १० मुद्दा चालु हालतमा छन् ।पालिका स्तरमा न्यायिक समिति गठन भएर क्रियासिल भएपछि सानोतिनो मुद्धा तथा बिबादको लागि त्यहाँका स्थानीयलाई अहिले सदरमुकाम धाउनु परेको छैन । न्यायिक समिति बनेपछि न्यायको पहुँच गाउँसम्मै पुगेको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको न्यायिक समितिमा हालसम्म १ सय १३ मुद्दा हालसम्म दर्ता भएका छन् । जसमा ९५ वटा मुद्धा मेलमिलाप मार्फत समाधान भैसकेका छन् । यस आर्थिक बर्षमा १४ वटा मुद्दा दर्ता भएका छन् ।
मुसिकोट नगरपालिकाले नगर स्तरमा मात्र नभएर वडा स्तरहरुमा पनि सानातिना मुद्दा तथा बिबाद समाधान गर्ने संयन्त्र बनाएको छ । नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक प्रेमकुमारी सुनार केसीका अनुसार वडाका मुद्दा तथा बिबादहरु वडा तहमै समाधान गर्न वडा स्तरमा समेत मेलमिलाप व्यवस्थापन केन्द्र स्थापना गरेर काम भैरहेको छ ।
‘वडा तहमा मिलाउन सकिने मुद्दा तथा बिबाद त्यहि मिलोस् भनेर नागरिकलाई सहजता दिन हामी वडा स्तरीय मेलमिलाप व्यवस्थापन केन्द्र पनि गठन गरेका छौं,’ उनले भनिन्, ‘प्रत्येक वडाबाट २÷२ जनालाई मेलमिलाप तालिम दिएर पठाइएको छ, जसका कारण सबै मुद्दा तथा बिबादहरु नगरपालिकामा नआएर वडामा पनि मिल्छन् ।’ वडा स्तरको मेलमिलाप व्यवस्थापन केन्द्रमा समाधान हुन नसकेका मुद्दा तथा बिबादहरु भने नगरपालिकाको न्यायिक समितिमा जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्