हेल्थपोष्ट बनाउन हङकङ एनआरएनएको सहयोग «

हेल्थपोष्ट बनाउन हङकङ एनआरएनएको सहयोग

नेपाली महिला संघ हङकङको आयोजनामा सम्पन्न प्रथम मिसेस नेपाल हङकङ २०१८ का विजेता टिमले हेल्थपोष्ट निर्माण सहयोगार्थ ७ लाख रुपैयाँ सहयोग गरेको छ । सो सहयोग मिसेस नेपाल हङकङ २०१८ का विजेता टिमले आयोजना गरेको च्यारिटी डिनर कार्यक्रमबाट संकलन गरिएको हो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले २० हजार हङकङ डलर अर्थात् ३ लाख रुपैयाँ सहयोग गरेका छन् । यसैगरी एनआरएनए मकाउ, हङकङ र हङकङमा रहेका नेपालीले समेत रकम सहयोग गरेका छन् । मिस नेपाल शृंखला खतिवडाको पहलमा मकवानपुर जिल्लाको कैलाश नगरपालिका–७ भार्तामा अवस्थित चेपाङ समुदायको विकट क्षेत्रमा हेल्थपोष्ट निर्माण गर्न लागिएको हो ।
सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी नेपाली महिला संघ हङकङ प्रतिनिधि एवं स्वस्तिक गु्रप अफ नेपालकी अध्यक्ष लक्ष्मी गुरुङ र मिसेस नेपाल हङकङ प्रतिनिधि करुणा प्रधानले मिस नेपाल खतिवडा र हिडन ट्रेजर अध्यक्ष गोपालसुन्दर कक्षपतिलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरे । प्रथम मिसेस नेपाल हङकङले गत अगस्ट १९ तारिखका दिन हङकङमा च्यारिटी डिनर आयोजना गरेको थियो ।
सहयोग रकम नेपाली महिला संघ हङकङले पहिलो पटक आयोजना गरेको प्रथम मिसेस नेपाल हङकङ प्रतियोगिताका विजेता ११ जना टिमको आयोजनामा गरिएको च्यारिटी डिनरबाट संकलित रकममध्येबाट सहयोग गरिएको थियो । नेपाली महिला संघ एवं गैरआवासीय नेपाली संघ हङकङ अध्यक्ष राधिका गुरुङ (टिका) को विशेष पहलमा प्रथम मिसेस हङकङ नेपालको आयोजना गरी सामाजिक कार्यमा सहयोग गरेको हो । अध्यक्ष गुरुङले हङकङमा बसोबास गर्नेे नेपाली महिला दिदीबहिनीहरुको क्षमता विकासका साथै सामाजिक कार्यमा सक्रिय गराउन प्रथम मिसेस हङकङ प्रतियोगिता गरेको बताइन् ।
च्यारिटी डिनरमा गैरआवासीय नेपाली संघ आइसिसी अध्यक्ष भवन भट्टदेखि हङकङ एनसीसीका पदाधिकारी, विभिन्न सामाजिक क्षेत्रमा क्रिकाशिल व्यक्ति तथा महिला दिदीबहिनीहरुको सहयोग प्राप्त भएको थियो । सो च्यारिटी डिनर कार्यक्रममा ५८ जना व्यक्तिहरुले सहयोग गरेका थिए । डिनर कार्यक्रमबाट १ लाख ८ हजार ३६ हङकङ डलर उठाइएको थियो । संकलित रकममध्ये च्यारिटीमा ३५ हजार १७ डलर खर्च भएको संयोजक पविता पुमा राईले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्