अलैंचीको मूल्यमा गिरावटपछि किसान चिन्तित «

अलैंचीको मूल्यमा गिरावटपछि किसान चिन्तित

लमजुङ-मुलुकभर बडादसैंको चहलपहल भइरहँदा लमजुङका किसानलाई अलैंची टिप्ने चटारो भयो । तर पछिल्ला वर्षमा अलैंची मूल्य घट्दै गएपछि भने अलैंची किसानको उत्साह मर्दै गएको छ । चारवर्ष अघि लमजुङमा अलैंचीको मूल्य प्रतिकेजी २५ सय थियो । सोही अलैंची अहिले प्रतिकेजी ७ सयको हाराहारीमा झरेको छ । प्रत्येक वर्ष अलैंची उत्पादन बढ्दो तर मूल्यमा भने घट्दो भएपछि वर्षौंदेखि व्यावसायिक अलैंची खेती गर्दै आएका किसान चिन्तित बनेका छन् ।
विदेश त्यागेर व्यावसायिक अलैंची खेती गर्दै आएका किसान प्रत्येक वर्ष मूल्य घट्दै जाँदा मर्कामा पर्ने गरेको र उत्साह पनि मर्दै गएको अलैंची किसान आशीष तामाङले बताए । “७ वर्ष भयो अलैंची खेती गर्न थालेको, पहिला मूल्य राम्रो थियो,” तामाङले भने, “अहिले उत्पादन बढेको छ, तर मूल्य घट्दै गएको छ, यस्तो हुँदा हामी किसानलाई मर्का परेको छ ।”
अलैंचीको उचित मूल्य निर्धारणका लागि सरकार वा सरोकारवालाले विशेष चासो दिनुपर्ने किसानको माग छ । किसान चिन्तित भएका बेला राज्यका तर्फबाट सहयोग भएमा उत्साह थपिने अलैंची किसान ईश्वर गुरुङ बताउँछन् । “कृषकलाई समस्या छ, यस्तो बेलामा राज्यले हेर्नुपर्छ,” उनले भने, “उचित मूल्य निर्धारण भएमा किसान निराश हुने थिएनन् ।”
अलैंची खेतीको प्रवद्र्धनका लागि अलैंची व्यवसायी महासंघले जिल्लाका विभिन्न सरोकारवालासँग अन्तक्र्रिया गर्दै आएको छ । कृषकलाई उत्पे्ररणा दिन यस्ता कार्यक्रम गर्नुका साथै सरोकारवाला निकायको ध्यानाकर्षणका लागि पहल भइरहेको अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए ।
लमजुङको भुलभुले, बाँझाखेत, घनपोखरा, खुदी, गांैडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायतका गाउँपाखामा व्यावसायिक अलैंची खेती हुँदै आएको छ । पछिल्लो समय जिल्लाका अलैंची कृषकले अलैंची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैंची जोन कार्यक्षेत्र प्रस्ताव गरेका छन् ।
भुटानका अलैंची किसान लमजुङमा
व्यावसायिक अलैंची खेती अवलोकनका लागि भुटानका किसान लमजुङ आएका छन् । लमजुङको अलैंची गुणस्तरीय भएको सुनेर यहाँको बगैंचा र प्रशोधन विधि अवलोकन गर्न कृषि प्राविधिकसहितको टोली आएको हो ।
भुटानको कृषि तथा वन मन्त्रालयकी अधिकृत पेमा युडेनको नेतृत्वमा आएको १४ सदस्यीय टोलीले सोमबार लमजुङको छिनखोेलामा अलैंची वगान अवलोकन गरेको हो । टोलीलाई मंगलबार सदरमुकाम बेसीशहरमा अलैंची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङले तालिम दिएको छ ।
राम्रो आम्दानी हुने भएपछि अलैंची खेतीमा चासो राखेको भुटान सरकारले नेपालको शीप र प्रविधिलाई भुटानमा लगेर अलैंची खेतीलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । “नेपालको अलैंची गुणस्तरीय छ भन्ने सुनेर स्थलगत अवलोकनका लागि लमजुङ आएका हौं” युडेनले भनिन्, “अलैंची बगान र प्रशोधन विधि उत्कृष्ट लागेको छ ।” पाँच दिनका लागि लमजुङ आएको भुटानी टोलीले जिल्लाका अन्य भागमा रहेका अलैंची वगानको पनि स्थलगत अवलोकन गर्ने अलैची व्यवसायी महासंघ लमजुङले जनाएको छ ।
सोमबार नै ताप्लेजुङ उद्योग वाणिज्य संघको नेतृत्वमा त्यहाँका अलैंची कृषकहरूले पनि लमजुङको अलैंची वगान अवलोकन गरेका छन् । अध्यक्ष तारानाथ घिमिरेको नेतृत्वमा आएको २४ जनाको टोलीले मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाको अलैंची बगानको अवलोकन गरेको हो ।
लमजुङमा ६ सय ५० हेक्टरमा लगाइएको अलैंचीले उत्पादन दिएको छ । पछिल्ला वर्षमा ९ सय ५० हेक्टरमा अलैंची खेती विस्तार गरिएको छ । जिल्लामा पहिलोपटक खाँचेका कालुबहादुर तामाङले ३१ वर्षअघि अलैंची खेती सुरु गरेका थिए ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्