प्रतिकिलो १० लाख पर्ने केशरको व्यावसायिक उत्पादन «

प्रतिकिलो १० लाख पर्ने केशरको व्यावसायिक उत्पादन

इलाम-विश्वकै महँगो फूलका रूपमा परिचित केशरको इलाममा व्यावसायिक उत्पादन सुरु भएको छ । औषधीय गुण भएको केशरको इलामस्थित माइजोगमाई गाउँपालिकाको जौबारीमा व्यावसायिक उत्पादन सुरु गरिएको हो ।
दश लाख रुपैयाँ प्रतिकिलो पर्ने केशरको विगत वर्षमा परीक्षण उत्पादन भएको थियो । यस वर्षसमेत यसको उत्पादन सुरु भएको छ । व्यावसायिक उत्पादन गर्ने गरी इलाममा यसको सामूहिक खेती थालिएको छ । इलामको माइजोगमाईमा गएको वर्षदेखि परीक्षणका रूपमा उत्पादन सुरु भएको केशर यस वर्ष भने व्यावसायिक उत्पादन भएको छ । उत्पादन भएको केशर टिप्न सुरु गरिएको किसान टुण्डु शेर्पाले जानकारी दिए । औषधीय गुण भएको केशरबाट सुगन्धित तेल समेत बनाउन सकिने बताइएको छ । विगत वर्ष उत्पादन भएको केशर स्थानीय स्तरमा नै बिक्री भइसकेको उनले बताए ।
उच्च मूल्यको जडिबुटी केशरको परीक्षण उत्पादनपश्चात दोस्रो वर्ष इलाममा यसको टिप्ने सुरु भइसकेको छ । किसानहरू केशर टिप्न व्यस्त छन् । जौवारी मल्टीपर्पाेज एग्रीकल्चर एण्ड इन्भायोरमेन्ट सेन्टरले माइजोगमाई गाउँपालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिक रूपमा केशरको खेती सुरु गरी विस्तार गरेको थियो । प्रदेश १ को भूमीव्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले उच्च पहाडी क्षेत्रमा केशरको विस्तार गर्न जरुरी भएको बताए । उनले खेती हुने जिल्लाका अन्य स्थानहरूमा समेत यसको खेती विस्तार गर्नु पर्नेमा जोड दिए ।
दुर्लभ वनस्पतिका रूपमा परिचित केशर नेपालको इलाममा मात्र व्यावसायिक खेती हुने गरेको बताइएको छ । उच्च मूल्यको जडिबुटी केशर फुल्न थालेपछि इलाममा किसान उत्साहित भएका छन् । लगातारको वर्षापछि गत सालभन्दा केही कम केशर फुलेको भए पनि माइजोगमाईको थुम्केडाँडामा केशर फूलेको हेर्न सर्वसाधारणदेखि मन्त्रीसम्मको बाक्लो उपस्थिति हुने गरेको छ । तर विगतभन्दा बढी क्षेत्रफलमा लगाइएकाले उत्पादन र आम्दानी बढ्नेमा किसानहरू ढुक्क छन् ।
थोरै मात्रामा हिउँ पर्ने र तुषारो पर्ने एक हजार पाँच सयदेखि दुई हजार पाँच सय मिटरको उचाई केशर खेतीका लागि उपयुक्त मानिन्छ । परीक्षणका रूपमा लगाइएको केशर विस्तारमा प्रदेश र स्थानीय सरकारले अनुसन्धान अगाडि बढाउनु पर्ने प्रदेशसभा सांसद खिनु लङ्वाले बताइन् । उनले यसको सम्भावना र फाइदाका विषयमा अझ जनचेतना जगाउन आवश्यक रहेको बताइन् ।
केशर उत्पादनका लागि धेरै फूलको आवश्यकता पर्दछ । फूलभित्रको रातो लुर्का संकलन गरी सुकाएर बिक्री गर्ने गरिन्छ । करिब डेढ लाख सुगन्धित फूलबाट मात्र एक किलो केशर प्राप्त हुने गर्दछ । गत वर्षदेखि तयारी केशरलाई जौबारी मल्टीपर्पाेज एग्रीकल्चर सेन्टरले प्याकेजिङ गरी बिक्री गरेको संस्थाका प्रवद्र्धक बीरबहादुर कटवालले बताए । उनले अझ खेती बिस्तार गर्ने बताउँदै यस क्षेत्रलाई केशर हेर्नकै लागि पर्यटक भिœयाउन आफूहरू लागिपरेको बताए ।
औषधीय गुण भएको केशर मसलाको रूपमा समेत प्रयोग गरिन्छ । यसको चिया, जुस र अन्य पेय पदार्थमा प्रयोग गर्न सकिने भएकाले बजारमा बिक्री गर्न समस्या छैन । केशरको व्यावसायिक विस्तारका लागि तालिम र अनुषन्धानमूलक कार्यक्रम किसानसम्म पुग्न जरुरी देखिएको छ । यसको बीउबिजन नै महँगो हुने भएपछि धेरै किसानहरूले खेती गर्न समेत सक्दैनन् । देशमा रहेका तीन तहका सरकारले केशर खेती हुने क्षेत्रका किसानहरूलाई बिउ र खेतीसम्बन्धी जानकारी दिन सके नेपालमा यसको उत्पादनमा वृद्धि हुने थियो । सम्भावना बोकेको केशरको उत्पादन थोरै भएपनि धेरै आम्दानी हुने गर्दछ ।
लेकाली क्षेत्रमा मात्र फस्टाउने केशर इलामकै अन्य क्षेत्रमा समेत उत्पादन गर्न सकिने यस खेतीमा आवद्ध भएकाहरूको भनाई छ । जिल्लामा हिउँ पर्ने र बाक्लो तुसारो पर्ने धेरै क्षेत्रहरू छन् । ति क्षेत्रहरूमा समेत यसको विस्तार गर्न स्थानीय सरकारहरू समेत लागि गर्न जरुरी देखिन्छ । महँगो भए पनि अत्यधिक माग रहेको केशर यहाँ उत्पादन भएको सबै जिल्लामा नै खपत भएको छ । गर्भवती महिलाका लागि निकै नै फलदायी केशरको फूल पानीमा भिजाएर समेत खाने गरेको गरिन्छ । निकै धनाढ्य परिवारमा भारतबाट झिकाएर यसको प्रयोग गर्ने गरिन्छ । तर नेपालमा नै केशरको उत्पादन हुन थालेपछि बिदेशबाट आयात गर्नुनपर्ने केशर उत्पादक किसानहरूको भनाइ छ । नेपालका बिभिन्न हिमाली तथा पहाडी स्थानमा यसको उत्पादन गर्न सकिन्छ । ठाउँ पहिचान गरेर सरकारी क्षेत्रबाट यसको उत्पादनमा विशेष कार्यक्रम ल्याउन स्थानीयले मागसमेत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्