अस्थायी कर्मचारीले सिंहदरबार घेर्ने «

अस्थायी कर्मचारीले सिंहदरबार घेर्ने

सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुले रोजिरोटी खोसिएको भन्दै आन्दोलन सुरु गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा कर्मचारीहरुले आफ्ना माग पूरा नभए सिंहदरबारमा जे पनि गर्न सकिने चेतावनी दिए ।
अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका संयोजक कुमार राउतले आफूहरुको रोजिरोटी नखोस्न सरकारलाई चेतावनी दिए । राउतले २०–२५ वर्षसम्म काम गरेका कर्मचारीलाई सरकारले तीन महिनाको तलब दिएर हटाउन लागेको भन्दै आपत्ति जनाए । ३२ हजार कर्मचारीको रोजिरोटी खोसिएकोमा गुनासो गर्दै राउतले छठसम्म माग पूरा नभए सिंहदरबार पस्ने चेतावनी दिए ।
“छठसम्म माग पूरा नभए सशक्त आन्दोलन गर्छौँ । हामी मर्न पनि तयार छौँ । रोजिरोटी खोसिएका कर्मचारीका परिवारलाई सिंहदरबार छिराउँछौँ,” राउतले भने ।
आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोख्रेलले अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई सरकारले नियम र विगतमा भएका सम्झौताअनुसार व्यवस्थापन गर्नुपर्ने बताए । सर्वोच्च अदालतले यस्ता कर्मचारी नराख्न आदेश दिएपनि सरकारले पालना नगरेको भन्दै उनले अहिले हटाउन खोज्नु गलत भएको तर्क गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेताचन्द्र भण्डारीले नेपालमा कर्मचारी भर्ना गर्ने शैली नै ठीक नभएकाले यस्तो समस्या आएको तर्क गरे ।
त्यसैगरी सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले कर्मचारीतन्त्रभित्र धेरै जटिलता रहेको भन्दै सरकारले समस्याको समाधान गर्नुपर्ने बताए ।
“अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीको सन्दर्भमा जे जस्ता नीति छ, जे सम्झौताअनुसार भर्ना गरिएको हो, सरकारले सोहीअनुसार कार्यान्वयन गर्नुपर्छ,” सुनुवारले भने । सबैखाले कर्मचारीको उचित कदर गर्नुपर्ने उनको भनाइ थियो ।
राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले कर्मचारीतन्त्रमा राजनीतिक प्रभाव भएकाले यस्तो समस्या आएको बताए । उनले ट्रेड युनियनहरु नै खारेज गर्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्