योजना कार्यान्वयनको तयारीमा स्थानीय तह «

योजना कार्यान्वयनको तयारीमा स्थानीय तह

दाङ-जिल्लाका स्थानीय तहहरु आफ्नो क्षेत्रमा रहेका योजनाहरु कार्यान्वयनका लागि जुटन थालेका छन् । चालु आर्थिक वर्ष २०७७-०७८ मा आफनो स्थानीय तहले बनाएका विकासे योजनाहरु कार्यान्वयनमा जुटेको स्थानीय तहहरुले जनाएका छन् । समयमा नै योजना सम्पन्न गर्ने उद्देश्य अनुसार आफूहरु लागि परेको जनप्रतिनिधिहरुको भनाइ छ । स्थानीय तहहरुले तिहारअघि नै उपभोक्ता समिति गठन तथा योजना सम्झौता गरिसक्ने र तिहार लगतै योजना कार्यान्वयनमा जाने गरी काम गरिरहेको बताएका छन् । अघिल्लो वर्षको अन्त्यमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण विकास निर्माणका काममा प्रभाव परेकाले यस वर्ष समयमा नै सुरु गरेर सम्पन्न गर्ने तयारीमा स्थानीय तहहरु रहेका छन् । तर, आर्थिक वर्षको अन्त्यमा योजना सम्भौता गर्ने विगतदेखिको समस्या रहँदै आएको छ । जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि यस प्रकारको समस्या केही कम हुने अपेक्षा गरे पनि त्यसो हुन नसकेको यसका जानकारहरु बताउँछन् । आर्थिक वर्षको अन्त्यमा आएर विकास निर्माणका कार्य सुरु गर्दा छिटो सक्नु पर्ने भएकाले हटारमा काम गर्दा काम गुणस्तरीय नहुने र टिकाउ समेत नहुने विज्ञहरुको भनाइ छ । असारे विकास हटाउन सरकारले प्रयास थालेपनि प्रयास सार्थकता पाउन भने सकेको छैन । अझै पनि विकास निर्माणको धेरै काम आर्थिक वर्षको अन्त्यमा भएको पाइन्छ ।
घोराही उप–महानगरपालिको योजना कार्यान्वयन गराउनका लागि उपभोक्ता समिति गठन गराउने र योजना सम्झौता गर्ने काम भइरहेको घोराही उप– महानगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले जानकारी दिए । उपभोक्ता समिति गठन गरेर योजना सम्झौताका लागि उप–महानगरपालिकाले आसयपत्रसमेत आह्वान गरेको चौधरी बताउँछन् ।
योजनाको प्रकृति हेरेर सम्झौता भएका कामहरु सुरु भइसकेको उनको भनाइ छ । “हामी समयमा नै काम सम्पन्न गर्ने तयारीका साथ अगाडि बढेका छांै ।” सूचना अधिकारी चौधरीले भने ।
लमही नगरपालिकाले पनि योजनाको कामलाई अगाडि बढाएको जनाएको छ । हालसम्म २–३ वटा योजना मात्र सम्झौता भएको लमही नगरपालिका योजना शाखा प्रमुख तेजा गैरेले बताइन् । केही फाइलहरु योजना सम्झौताका लागि प्रक्रियामा रहेको उनको भनाइ छ । समयमा नै काम सम्पन्न गर्नका लागि आफूहरु लागि परेको गैरेले बताइन् । वडाहरुमा उपभोक्ता समिति गठन गर्ने काम भइ रहेको नगरपालिकाले जनाएको छ ।
बबइ गाउँपालिकाले पनि योजना समयमै सम्पन्न गर्ने गरी काम गरिरहेको जनाएको छ । गाउँपालिकाले यही कात्तिक ३० गतेसम्म योजना सम्झौता गरिसक्ने गाउँपालिकाका सूचना अधिकारी भुवन चन्दले जानकारी दिए । गाउँपालिकाले तोकेको समय भित्रमा योजना सम्झौता गरिसक्न आग्रह गदै वडाहरुलाई पत्र पठाइ सकिएको उनको भनाइ छ । अहिले योजना सम्झौता गर्ने काम भइरहेको चन्दले बताए । “गाउँपालिकाले कात्तिक समान्तसम्म योजना सम्झौता सकेर तिहार पछि कार्यान्वयमा जाने गरी काम गरेका छौं ।” उनले भने ।
उता राजपुर गाउँपालिकाले पनि कात्तिक मसान्तसम्म योजनाहरुको सम्झौता गरिसक्न आग्रह गरेको जनाएको छ । अहिले वडा वडामा पुगेर उपभोक्ता समिति गठन गरिरहेको गाउँपालिकाका सूचना अधिकारी महेश थापा ठेडीले जानकारी दिए । “वडा तथा गाउँपालिकाका प्रतिनिधिहरु समेत सहभागी भएर उपभोक्ता समिति गठन गर्ने काम भइ रहेको छ ।” सूचना अधिकारी थापाले भने । कात्तिक समान्तसम्म उपभोक्ता समिति गठन तथा योजना सम्झौता सकेर मंसिरदेखि योजना कार्यान्वयनमा लैजाने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्