रोगले भन्दा भोकको सुर्ताले पिरोलिएका नेपाली «

रोगले भन्दा भोकको सुर्ताले पिरोलिएका नेपाली

एक सानी छोरी, जसले भन्दै थिइन्— दशैं आयो, खाउँला–पिउँला, चोरी ल्याउँला । यस्तै–यस्तै कथा भन्दै उनी दसैंलाई स्वागत गरिरहेकी थिइन् । विचरा ती अबोध छोरीलाई के थाहा बाबुआमाको पीडा ? आफ्नो पीडालाई भुलाउँदै भए पनि ती बाबुआमाले छोरीले दसैंलाई स्वागत गरिरहँदा बाहिरी मुस्कुराहट देख्न भने सकिन्थ्यो । बूढाबूढीले एकआपसमा हेरेर कानीखुसी गर्न लागे— “जन्मथलो छोडेर कार्यथलोमा गई बर्सेनि दसैं मनाउने पैसा जोहो गरिन्थ्यो । यस वर्ष बाध्यताले दसैंअगावै जन्मघर आउनुप-यो । यस वर्ष त खै कसरी ऋण काढेर चाडपर्व मनाउने हो ? बरु अब दसैं पनि सकियो । यस रोगको प्रकोप जन्मथलोमा पनि यथावत् नै छ । त्यसैले आफ्नो र परिवारको भोक मेटाउनकै लागि र परिवारको खुसीका लागि आजै कर्मथलो जाऔं ।”
यो भनाइ डोटी जिल्लाका एक परिवारको हो, जसले भारतका विभिन्न स्थानमा रोजगारी गरी आफ्नो र परिवारको दैनिकी चलाउँदै आएका थिए । यो परिवार त एक प्रतिनिधि परिवार मात्र हो । यसरी भारतका विभिन्न स्थानमा गई आफ्नो रोजगारी गुमाएर भोकले भौंतारिरहेका कैयांै नेपाली परिवारको पीडा पनि यस्तै छ । पीडामा मल्हम लगाउने कोही–कसैको तागत छैन । सरकार तथा सम्बन्धित निकाय दलीय स्वार्थमा लिप्त छ । दसैं सकिन नपाउँदै गौरीफन्टा नाका, बेलहरिया, गड्डा चौकी नाका र अन्य भन्सार नाकाबाट आजभोलि हजारौं नेपाली कोरोना महामारीको यस विषम अवस्थामा परिवारको जिम्मेवारी बोध गर्दै कर्मथलो फर्कन विवश छन् । खोइ कहाँ छ तीन तहको सरकार ?
पहिला नेपाल सुरक्षित छ भनी स्वदेश फर्कंदा सरकारले हस्तक्षेप ग¥यो र आफ्नो देशका निर्दाेष जनताले कष्टपूर्ण यात्रा तय गरे । त्यति बेला पनि साह्रै दुःखका साथ नेपाल आइपुगेका ती परिवारहरू पुनः रोगले भन्दा भोकले मर्ने डरले आज कर्मथलो जान विवश बनेका छन् । नेपाली एक कर्मठ, इमानदारी बोध गर्ने गोरर्खालीका छोराहरू हुन । उनीहरू जति नै दुःखकष्ट आइपरे पनि कम्मरमा पटुकी कसेर देश र जनताका लागि ज्यानको बाजी राखेर हिँड्ने गरेको इतिहास साक्षी छ । नेपालीको मान, मर्यादा र प्रतिष्ठा विश्वमा कहलिन्छ । तर, तिनै गोरखालीका सन्तानको जीवनस्तर कमजोर बन्दा आज एक पेट र दुई छाक टार्नका लागि बिदेसिएका ती ऊर्जाशील जनशक्तिलाई समेत सरकारले नेपालमा दुई महिना पनि टिकाउन सकेन ।
सरकारले पीडामा परेका जनतालाई मल्हम लगाउनुको सट्टा लागेको घाउमा नुनचुक मात्र छरेको छ । ती ऊर्जाशील र कर्मठ युवाहरू बिदेसिनुमा सरकार नै दोषी देखिन्छ । किनकि स्वदेशका जग्गा जमिन बाँझो छोडेर विदेशमा पसिना बगाउनु नेपालीको रहर नभएर बाध्यता हो । प्रकोपको नाममा सरकारले युवा लक्षित विकासका ठोस कार्यक्रम सञ्चालन गर्नु आजको आवश्यकता हो ।
नेपाल फर्किएका ती युवा जनशक्तिलाई नेपालमा नै काम गर्ने वातावरण सिर्जना गरी सबै परिवार एकसाथ घरमा बसेर महामारीको युद्ध जित्न प्रोत्साहन गर्नु आजको आवश्यकता हो, किनकि परिवार छोडी परदेशमा रोजगारी गर्न जाँदा न त परिवारलाई सन्तोष हुन्छ, न त ती परिश्रमी युवाहरूलाई नै सन्तोष मिल्छ । त्यसैले रोग र भोकसँग लड्ने वातावरण मिलाइदिन सम्बन्धित निकायलाई हामी विनम्र अपिल गर्छाैं ।

प्रतिक्रिया दिनुहोस्