ह्वाइट हाउसको हकदार को हुने ?

पहिलो पटक महामारीबीच हुन लागेको अमेरिकी निर्वाचनमा ट्रम्स वा वाइडेन कसले बाजी मार्ने हुन् भन्न सक्ने स्थिति अहिले रहेको छैन ।
अमेरिकामा सन् १७८९ देखि राष्ट्रपतीय चुनाव सुरु भयो । पहिलो निर्वाचन हुँदा १३ राज्यमा इलेक्ट्रोरल मतदाता चयन गरिएको थियो । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार हुन ३५ वर्ष उमेर पुगेको, जन्मजात अमेरिकी वा कम्तीमा १४ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएको हुनुपर्नेछ । एक व्यक्ति लगातार दुई पटकभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था छ । उक्त अमेरिकाली मतदातासामु राष्ट्रपति पदका लागि सत्तारूढ रिपब्लिकन पार्टीका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रमुख विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार जोए वाइडेन मुख्य प्रतिस्पर्धी छन् । जुन चार÷चार वर्षको अन्तरालमा आउने संयुक्त राज्य अमेरिकाको यस पटकको चुनावले ५८ औं राष्ट्रपति चुन्नेछ । अबको तीन दिनभित्रमा अर्थात् आउँदो मंगलबार नोभेम्बर ३ तारिखमा अमेरिकी राष्ट्रपतिको चुनाव हुँदैछ । यस चुनावका लागि अमेरिकामा मतदाताहरूको संख्या भने २२ करोड ४० लाख रहेको अनुमान गरिएको छ । यस देशको संविधानमा व्यवस्था भएअनुसार दुई हप्ता अगाडिदेखि नै राष्ट्रपतिको अग्रिम मतदान कार्य सुरु भइसकेको छ । हालसम्म झन्डै ७ करोड मतदाताहरूले हुलाकमार्फत अग्रिम मतदान कार्यमा सहभागी भइसकेका छन् । यसका साथसाथै निर्वाचन आयोगले नोभेम्बर ३ को निर्धारित समयसम्ममा टाउन हलमा गएर वा हुलाकमार्फत गरिएको अग्रिम मतदानका झन्डै १० करोड मतदाताहरूले सहभागी हुने अनुमान छ । यो अहिलेसम्मकै अमेरिकी इतिहास मतदानको दिनअघि नै मतदान गरिएको पहिलो पटक हो । चार वर्षअघि सन् २०१६ मा झन्डै १४ करोड मतदाताले मतदान गरेका थिए भने यस पटक भने बढेर १५ करोड मतदाताहरूको संख्या पुग्ने अनुमान गरिएको छ । यहाँ विगतका वर्षहरूलाई अवलोकन गर्ने हो भने सालाखाला ५० प्रतिशतकै हाराहारीमा मतदान हुने गरेको पाइन्छ । तर, यसपटक भने केही वृद्धि भई ६६ प्रतिशतसम्म मतदान पुग्ने अनुमान सम्बन्धित क्षेत्रले आकलन गरेको छ । यहाँको चुनावमा तीन प्रकारले मतदान गर्ने प्रचलन रहेको छ । पहिलो, मतदानको दिन सीधै मतदानस्थलमा लाइनमा उभिएर गरिने मतदान रहेको छ । दोस्रोमा, चुनाव आयोगले हुलाकमार्फत घर ठेगानामा पठाएको मतपत्रमा आफूले चाहेको उम्मेदवारको नाममा चिह्न लगाएर हस्ताक्षर गरी टाउनहलमा पुगी बुझाइने मतदान हो । तेस्रो, टाउनले पठाएको मतपत्रमा आफूलाई मन परेको उम्मेदवारको नाममा चिह्न लगाएर हस्ताक्षर गरी टाउनले विभिन्न स्थानमा राखेको मतपेटिकामा खसालेर गरिने मतदान हो । कोरोना भाइरस नियन्त्रण र रोकथाम अहिले विश्वकै प्रमुख विषय र चुनौती बनेको छ । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशको सूचीमा अमेरिका पहिलो छ । यस्तो अवस्थामा यी तीन किसिमका मतदानहरूमध्ये दोस्रा र तेस्रा मतदानहरू भने आमजनताका लागि राम्रो भएको छ । अमेरिकाको संवैधानिक व्यवस्थाअनुसार, इलेक्ट्रोरल कलेज एक प्रक्रिया हो, ठाउँ भने होइन । इलेक्ट्रोरल मत प्रत्येक राज्यका नागरिकको बसोबासको घनत्व अर्थात् जनसंख्याका आधारमा निर्धारण गरिएको हुन्छ । यसका साथसाथै विश्व शक्ति अमेरिकाका राष्ट्रपतिको निर्वाचनले विश्व आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिलाई नै असर गर्छ । यस वर्ष हुने यो चुनावप्रति पनि अमेरिका र विश्वले नियालिरहेका छन् । यसमा अर्थतन्त्र, स्वास्थ्य सुरक्षा, सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति, कोरोना भाइरस, हिंसात्मक अपराध, विदेश नीति, बन्दुक नीति, जाति र वर्ण विभेद, आप्रवासन, आर्थिक विभेद, जलवायु परिवर्तन, गर्भपतनजस्ता विषय यस पटकका चुनावी विषय रहेका छन् । पहिलो पटक महामारीबीच हुन लागेको अमेरिकी निर्वाचनमा ट्रम्स वा वाइडेन कसले बाजी मार्ने हुन् भन्न सक्ने स्थिति अहिले रहेको छैन । तर, विगतको अर्थात् सन् २०१६ को चुनावी माहोललाई अवलोकन गर्ने हो भने दुई दलहरूबीच चुनाव हारजितमा ५ प्रतिशतको अन्तराल रहेको थियो भने यसपटक भने १२ प्रतिशतको अन्तर रहेको सम्बन्धित क्षेत्रका विश्लेषकहरूले औंल्याएका छन् ।
तल उल्लिखित तालिकाअनुसार क्यालिफोर्निया राज्यबाट सबैभन्दा बढी ५५, टेक्सास ३८, फ्लोरिडा २९, न्युयोर्क २९, पेन्सिलभेनिया २०, इलिनोइस २०, ओहियो १८, जर्जिया १६, नर्थ क्यारोलिना १५, मिसौरी १०, मिसिगन १६, न्यू जर्सी १४, भर्जिनिया १३, वासिङ्टन १२, एरिजोना ११, म्यासाचुसेट्स ११, टेनेसी ११, इन्डियाना ११, मिसौरी १०, मेरील्यान्ड १०, विस्काँन्सिन १०, कोलोराडो ९, मिनेसोटा १०, साउथ कैरोलिनो ९, अलाबामा ९, लुइसियाना ८, केन्टकी ८, ओरेगन ७, ओक्लाहोमा ७, कनेक्टिकट ७, युटा ६, आयोवा ६, नेभाडा ६, आर्कान्सा ६, मिसिसिपी ६, कन्सास ६, न्यू मेक्सिको ५, नेब्रास्का ५, इडाहो ४, वेस्ट भर्जिनिया ५, हवाई ४, न्यू ह्याम्पसायर ४, मेन ४, मोन्टाना ३, रोड आइल्यान्ड ४, डेलावेयर ३, साउथ डकोटा ३, नर्थ डकोटा ३, अलास्का ३, भर्मन्ट ३ र वायोमिङ ३ गरी जम्मा जम्मी ५० वटा राज्यको ५ सय ३५ इलेक्ट्रोरल कलेजको संख्या हुन्छ । यी इलेक्ट्ररहरूको संख्या हरेक राज्यबाट अमेरिकी संसद् हाउस अफ रिप्रिजेन्टेटिभ (प्रतिनिधि सभा) र सिनेटका सदस्यहरूको कुल संख्याको बराबर हुन्छ । यसर्थ हाउस अफ रिप्रिजेन्टेटिभमा ४ सय ३५ सदस्य र सिनेटमा १ सय सदस्य हुन्छन् । यी दुवै संसद्का सदस्य मिलाएर ५ सय ३५ संख्या हुन्छ । यसबाहेक अमेरिकाको ५१ औं राज्य कोलम्बियाबाट तीन सदस्य आउँछन् । यो मिलाएर ५ सय ३८ इलेक्ट्रर्सले अमेरिकी राष्ट्रपति निर्वाचित गर्छन्, जुन राज्यलाई जति भार दिइएको छ सोहीअनुसार इलेक्ट्रोर मनोनीत हुन्छन् । एक राज्यमा जसको बढी मत आउँछ, सोही दलका उम्मदेवारले सो राज्यको पूरै इलेक्ट्रोरल मत पाउँछ । यसर्थ प्रत्येक राज्यले चयन गर्ने निर्वाचकको संख्या जनसंख्याका आधारमा निश्चित गरिन्छ । यसरी संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको चुनावका लागि जनसंख्याका आधार विभिन्न राज्यबाट निर्धारण भएको इलेक्ट्रोरल कलेजहरूको संख्या भने तलको तालिकामा उल्लेख गरिएको छ ।
समग्रमा भन्नुपर्दा विगतका वर्षहरूमा डेमोक्रेटिकबाट जिम्मी कार्टर, बिल क्लिन्टन, बाराक ओबामा आदि तथा रिपब्लिकन पार्टीबाट रिचार्ड निक्सन, रोनाल्ड रेगन, जर्ज बुस, डोनाल्ड ट्रम्प आदि विजयी भएका थिए । मूलतः अमेरिकी राष्ट्रपतिको चुनाव विश्वमै भिन्न प्रकृतिको रहेको छ । अमेरिकी मतदाताहरूले राष्ट्रपतिका लागि प्रत्यक्ष मतदान गरे पनि राष्ट्रपतिको चयन भने अपत्यक्ष अर्थात् गठित ५ सय ३८ सदस्यीय इलेक्ट्रोरल कलेज (निर्वाचन क्षेत्र) ले गर्ने गर्छ । अमेरिकाका प्रत्येक राज्यबाट दुई–दुई जना गरी १ सय सिनेटर, तल्लो सदनका ४ सय ३५ र डिस्ट्रिक अफ कोलम्बियाका ३ समेत गरी जम्माजम्मी ५ सय ३८ जनाको कलेज डेलिगेट्स अर्थात् इलेक्ट्रोरल कलेज रहन्छ । यसमध्ये जुन उम्मेदवारले आधाभन्दा बढी अर्थात् २ सय ७० मत ल्याउँछ, त्यही व्यक्ति राष्ट्रपति निर्वाचित हुन्छ । यस किसिमको व्यवस्था अरू देशमा छैन । इलेक्ट्रोरल कलेज नै वास्तवमा राष्ट्रपतिका उम्मेदवारको निर्णायक हो । अमेरिकी मतदाताले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्दा अप्रत्यक्ष रूपमा इलेक्ट्रोरललाई नै मतदान गरिरहेका हुन्छन् । लोकप्रिय मत पाएर विजयी हुने उम्मेदवारले त्यहाँको सबै इलेक्ट्रोरल मत पाउँछ । मूलतः अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रत्यक्ष निर्वाचन होइन, परोक्ष हो । मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई गरेको मतदानले राष्ट्रपति चुनिँदैनन् । इलेक्ट्रोरल कलेजले निर्धारण गरेको व्यक्ति मात्र राष्ट्रपतिमा चुनिने व्यवस्था त्यहाँको संविधानले गरेको छ ।