वीरगन्जमा कात्तिक २३ देखि विद्यालय खुल्ने «

वीरगन्जमा कात्तिक २३ देखि विद्यालय खुल्ने

वीरगन्ज महानगरपालिकाले नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयहरुका कक्षा ८ देखि १० सम्मको अध्ययन अध्यापन शुरु गर्ने निर्णय गरेको छ । महानगरपालिकाले आइतबार विद्यालय व्यावस्थापन समितिका पदाधिकारी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँगको छलफलपछि कात्तिक २३ गते आइतबारदेखि नगरक्षेत्रका कक्षा ८, ९ र १० को पढाइ सुरु गर्ने निर्णय गरेको हो ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा बसेको प्रधानाध्यापक र विद्यालय व्यावस्थापन समितिका अध्यक्षहरुको बैठकले विद्यालय खोल्ने सम्बन्धमा विभिन्न विषयहरु माथि छलफल गरेर कात्तिक २३ गतेदेखि पठन पाठन सुचारु गर्ने निर्णय भएको हो । कोरोना भाइरस संक्रमणको महामारीले ७ महिना भन्दा लामो समयसम्म विद्यालयहरु बन्द रहेका छन् ।
कतिपय सामुदायिक विद्यालयहरु क्वारेन्टिन र आइसोलेसनका लागि समेत प्रयोग गरिएकोले ती विद्यालयहरुलाई निःसंक्रमण गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पठनपाठन शुरु गर्ने निर्णय भएको महानगर प्रमुख सरावगीले बताए । निजी विद्यालयहरुले भने यसअघि नै कात्तिक १३ गतेदेखि आपूmखुशी विद्यालयहरु संचालन गर्दै आएका छन् ।
नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज १ गतेदेखि वैकल्पिक शिक्षण सिकाई सहजीकरण निर्देशिका अनुसार वैकल्पिक शिक्षण सिकाई गर्न निर्देशन दिएपनि सामुदायिक तथा निजी विद्यालयहरुले निर्देशिकाको प्रभावकारी कार्यान्वयन नगरी अहिले भौतिक रुपमा नै विद्यार्थीहरुको उपस्थिति गराएर पठन पाठन शुरु गर्न लागेको हो । निर्देशिकाले पनि विद्यालय संचालन गर्ने जिम्मेवारी स्थानीय तहको रहने व्यवस्था गरेको छ । तर, स्थानीय तहले निर्णय गर्नुभन्दा पहिले नै निजी विद्यालयहरुले विद्यालय खोलेका हुन् ।

प्रतिक्रिया दिनुहोस्